+

नेपाल टी–२० : फारवेस्टले पोखरालाई हराउँदा काठमाडौं प्ले अफमा

२०७९ पुष  २३ गते १७:१६ २०७९ पुष २३ गते १७:१६

२३ पुस, काठमाडौं । काठमाडौं नाइट्स नेपाल टी–२० को प्ले अफमा पुग्ने अन्तिम टोली बनेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा फारवेस्ट युनाइटेडले पोखरा एभेन्जर्सलाई ४१ रनले हराउँदा काठमाडौंलाई फाइदा भएको हो ।

शनिबार भएको आफ्नो खेलमा काठमाडौं, विराटनगर सुपर किङ्ससँग ७ विकेटले पराजित भएको थियो । जितसँगै विराटनगरले प्ले अफमा स्थान बनाउँदा काठमाडौंले भने फारवेस्ट र पोखराको खेलको नजिता कुर्नुपर्ने भयो ।

६ अंकमा रहेको पोखराले राम्रो रनरेटका आधारमा फारवेस्टलाई हराएको भए मात्र प्लेअफ खेल्ने सम्भावना रहेको थियो । तर पोखरा पराजित भएसँगै काठमाडौं ८ अंकको साथमा प्लेअफ पुगेको छ र विराटनगरसँग फेरि खेल पक्का गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १८७ रनको लक्ष्य पछ्याएको पोखरा १८.१ ओभरमा १४६ रनमा अलआउट भयो । उसका लागि कप्तान उपुल थरङ्गाले सर्वाधिक ३६ रन बनाए ।

प्रतिश जिसीले ११ बलमा ५ छक्का प्रहार गर्दै ३४ रन जोडे । सिद्धान्त लोहनीले २५ बलमा १ चौका र ३ छक्का सहित २८ रन जोडे भने सुमित महर्जन १४ रनमा क्याच आउट भए । विशाल विक्रम केसी १३ रनमा स्टम्पिङ भए ।

पोखरालाई सस्तैमा समेट्ने क्रममा फारवेस्टका दुर्गेश गुप्ताले सर्वाधिक ३ विकेट लिए भने हस्मतुल्लाह शहिदी र प्रकाश जैशीले समान २–२ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि टस जितेर ब्याटिङ थालेको फारवेस्टले कप्तान हर्शमतुल्लाह शाहिदी र विनोद भण्डारीको शतकीय साझेदारीको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रन बनाएको थियो ।

उसका ओपनरद्वयले पहिलो विकेटका लागि १३४ रनको साझेदारी गरेका हुन् । ५१ बलमा ६ चौका र २ छक्कासहित ६७ रन बनाएका शाहिदी १४औं ओभरको अन्तिम बलमा रनआउट भए ।

विनोद भण्डारी भने १८.४ ओभरमा प्रतिश जिसीको बलमा क्याचआउट भएका थिए । ४७ बलको सामना गरेका उनले ६ चौका र २ छक्कासहित ५९ रन योगदान गरे ।

रासिद खानले १४ र मिलान्दा सिरिवारर्दानाले १२ रन बनाउँदा करण केसी ११ रनमा अविजित रहे ।

पोखराको बलिङमा अभिमन्यू मिथुनले ४ ओभरमा ३२ रन खर्चिएर दुई विकेट लिए । प्रतिस जिसीले तीन ओभरमा ३१ रन खर्चिएर एक विकेट लिए ।

जितका बाबजुद फारवेस्टले प्ले अफमा स्थान बनाउन सकेन, तर पोखरालाई पनि रोक्यो । ६ अंक जोडेको फारवेस्ट पाँचौं स्थानमा रह्यो भने समान खेल जितेको पोखरा रन रेटका आधारमा पछाडि पर्दै पुछारमा रहँदै प्रतियोगिता सकायो ।

प्रतियोगितामा आइतबार समूह चरणमा शीर्ष स्थानमा रहन सफल लुम्बिनी अलस्टार्सले दोस्रो स्थानको जनकपुर रोयल्सले क्वालिफायर्स खेल्ने छ भने विराटनगर काठमाडौंको एलिमिनेटर खेल सोमबार हुनेछ ।

यस्तो छ खेलको अंक तालिका

टिमको नाम जम्मा खेल जित हार अंक
लुम्बिनी अलस्टार्स १० ८ २ १६
जनकपुर रोयल्स १० ७ ३ १४
विराटनगर सुपर किङ्स १० ५ ५ १०
काठमाडौं नाइट्स १० ४ ६ ८
फारवेष्ट युनाइटेड १० ३ ७ ६
पोखरा एभेन्जर्स १० ३ ७ ६
नेपाल टी-२० क्रिकेट
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय