
२४ पुस, काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिका आधारमा प्रदेशको नामकरण गर्ने बताएका छन् ।
आइतबार साँझ मुख्यमन्त्री नियुक्त भएपछि अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘आम सहमतिको आधारमा नाम राखेर अगाडि बढ्छौं । यो हाम्रो बाँकी रहेको महत्वपूर्ण काम हो ।’
प्रदेशको नामकरण प्रदेशसभाको दुई तिहाइ बहुमतले गर्ने संवैधानिक व्यवस्था छ । २०७४ सालमा गठन भएको प्रदेशसभाको कार्यकाल नामकरण नगरी सकिएको थियो ।
मुख्यमन्त्री कार्कीले सुशासनको प्रत्याभूति हुने गरी प्रदेश संरचना स्थापित गर्नु आफ्नो मुख्य एजेण्डा हुने पनि बताए । सुशासनको अनुभूति गराउँदा नै प्रदेश संरचना बलियो हुने उनको भनाइ छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य कार्की माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री भएका हुन् । कार्कीले प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्री भएर काम गरिसकेका छन् ।
प्रतिक्रिया 4