+
+

सिर्सिया नदीमा फोहोर पानी फाल्ने ३ उद्योगसँग स्पष्टीकरण माग

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते २१:३०

२४ पुस, वीरगञ्ज । सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले उद्योगबाट निस्केको प्रदुषित पानी प्रशोधन नगरी नदीमा मिसाउने ३ वटा उद्योगलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

जितपुर सिमरा उपमहानगरपालिकाको सभाकक्षमा आइतबार बसेको समितिको बैठकले ३ वटा उद्योगलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

समितिले तीन पटकमा ९ वटा उद्योगको अनुगमन गरेको थियो । उद्योगमा पानी प्रशोधन केन्द्र नबनाई प्रदूषित पानी सोझै नदीमा खसाल्ने मरियम लेदर, मारुती पेपर र दुर्गा पल्प एण्ड पेपरलाई स्पष्टीकरण सोध्ने निर्णय भएको अनुगमन समितिका संयोजक एवं वीरगञ्जका उपमेयर इम्तियाज आलमले जानकारी दिए ।

पानी प्रशोधन केन्द्र बनाएर पनि सञ्चालन नगर्ने उद्योगलाई पनि कारबाही गर्ने तयारी समितिले थालेको छ । कात्तिक २३ गते गठन भएको सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिमा जितपुर सिमरा उपमहानगरपालिका, उद्योगी व्यवसायी, स्थानीय प्रशासनका प्रतिनधि सदस्य छन् । नदीको क्षेत्रमा पर्ने परवानीपुर गाउँपालिकालाई पनि समितिमा समेटने आजको बैठकले निर्णय गरेको छ ।

नदीको क्षेत्र छुट्याउन नापी गरिने

बैठकले सिर्सिया नदीको आधार क्षेत्र (राइट अफ वे) छुट्याउन नापी कार्यालयको नेतृत्वमा तत्काल काम सुरु गर्ने निर्णय समेत गरेको छ । सिर्सिया नदी जितपुरसिमरा उपमहानगरपालिका, वीरगञ्ज महानगर हुँदै भारततर्फ बग्ने गरेको छ । वीरगञ्ज र जीतपुर सिमरा दुवै पालिकाको सहकार्यमा नदीको क्षेत्र छुट्याउने र प्रदुषण नियन्त्रण गर्ने समितिका संयोजक उपमेयर इम्तियाजले जानकारी दिए ।

उद्योगीकै लापरबाहीले सिर्सिया नदी प्रदुषण भइरहेकाले उद्योगी सच्चिनुको विकल्प नभएको वीरगञ्जका मेयर राजेशमान सिंह बताउँछन् । ‘जसरी पनि सिर्सियालाई प्रदुषणमुक्त बनाउनु छ’, उनले भने ‘त्यसका लागि उद्योगीहरु सच्चिन जरुरी छ, होइन भने अब कारबाहीको प्रकृया अघि बढाउनुको विकल्प छैन ।’

जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले प्रदुषण नियन्त्रणका लागि कार्यविधि नै बनाएर अघि बढ्नुपर्ने बताए । उनले सबैको साथ र सहयोगले मात्रै सिर्सिया नदी प्रदुषण मुक्त हुने भएकाले अनुगमन, कारबाहीसँगसँगै सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताए ।

बैठकमा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले ट्रिटमेन्ट प्लान्ट निर्माणका लागि उद्योगीलाई केही समय दिन माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?