
२५ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टीले निर्णय लिन ढिलाइ गर्दा अन्योल सिर्जना भएको छ ।
नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारमा सहभागी हुने विषयमा निर्णय लिन नसक्दा अहिलेको सत्तारुढ गठबन्धनको नेतृत्वमा सरकार गठनमा ढिलाइ भएको हो ।
आइतबार वालुवाटारमा बसेको गठबन्धनको बैठकले सुदूरपश्चिम प्रदेश सरकारमा एमाले र माओवादीले आलोपालो गर्ने तथा नागरिक उन्मुक्ति पार्टीलाई उपसभामुख दिन प्रस्ताव गरेको थियो ।
पहिलो चरणमा एमाले र दोस्रो चरणमा माओवादीले नेतृत्व गर्ने सहमतिअनुसार यहाँ एमाले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्री बन्नेछन् । मुख्यमन्त्रीमा दाबी गर्न रावल सोमबार काठमाडौंबाट धनगढी फर्किएका छन् ।
तर नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेको अवस्थामा भने सरकार बन्ने अवस्था छैन । सोही कारण दुवै दलका नेताहरु उन्मुक्ति पार्टीलाई जसरी पनि सरकारमा लैजाने रणनीतिमा छन् । नागरिक उन्मुक्ति पार्टीले भने सत्तारुढ गठबन्धनसँग सरकारमा सहभागी हुने, नहुने विषयमा निर्णय लिन २४ घण्टाको समय मागेको छ ।
उक्त पार्टीका प्रवक्ता दामोदर पण्डितले सरकारका सम्बन्धमा संस्थापक रेशम चौधरीले निर्णय लिने भएकाले अहिलेसम्म कुनै पनि निर्णय नभएको जानकारी दिए । मंगलबार बिहानसम्म पार्टीले निर्णय गर्ने उनको भनाइ छ ।
नागरिक उन्मुक्ति पार्टीले यसअघि प्रदेश सरकारमा सहभागी नहुने तर अहिलेकै गठबन्धनलाई बाहिर बसेर समर्थन गर्ने निर्णय गरेको थियो । तर यो बीचमा उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा समेत दाबी गरेको छ । मुख्यमन्त्री पाउने अवस्थामा अहिलेको गठबन्धन वा नयाँ समीकरण बनाएर भए पनि अघि बढ्नुपर्ने मत पनि उन्मुक्ति पार्टीभित्र छ ।
प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री लिन र अन्य पदमा भागबण्डा मिलाउन प्रस्ताव गरेको छ । यद्यपी अहिले रेशम चौधरीको रिहाइ प्रमुख मुद्दा भएको भन्दै नेताहरुले कांग्रेसलाई जवाफ फर्काएका छैनन ।
प्रदेश सरकारको नेतृत्व गर्ने तयारीमा रहेका एमाले संसदीय दलका नेता राजेन्द्र रावलले अहिलेका सत्ता गठबन्धनमा रहेका सबै दलहरुबीच साझा सहमतिको वातावरण बनाउन छलफल चलिरहेको बताए । ‘हामी सबै दलहरुबीच सहमति गरेर प्रदेश सरकार गठनका लागि निर्धारित समय भित्रै दाबी पेश गछौँ,’ रावलले भने, ‘नागरिक उन्मुक्ति पार्टी पनि सहमतिमा आउँछ र हामी सुदूरपश्चिमको समृद्धिको यात्रामा अघि बढ्छौँ ।’
गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य अक्कल रावलले पनि एमालेको नेतृत्वमा सरकार गठन हुने बताए । विभिन्न कोणबाट छलफल चलिरहेको बताउँदै रावलले पुस २७ गते मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी भइरहेको बताए ।
सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले दुई वा दुई भन्दा बढि दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई २७ गते बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुखले दिएको समय नजिकिँदै जाँदा दलहरु पनि घनिभूत छलफलमा जुटेका छन् ।
५३ सदस्यीय प्रदेशसभामा सरकार गठन गर्न २७ जनाको समर्थन चाहिन्छ । नागरिक उन्मुक्ति पार्टी समेत सहभागी भएको अवस्थामा अहिलेको सत्तारुढ गठबन्धनको पक्षमा स्पष्ट बहुमत छ । यहाँ नेकपा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसद गरेर गठबन्धनको पक्षमा २९ जना छन् । सबैभन्दा ठूलो नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का ४ र एक जना स्वतन्त्र सांसद छन् ।
प्रतिक्रिया 4