+
+

लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशले आज मुख्यमन्त्री पाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते ७:५८

२७ पुस, काठमाडौं । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेमा मुख्यमन्त्री चयन हुँदै छन् ।

प्रदेश प्रमुखहरूले सरकार गठन गर्न दिएको म्याद सकिने भएकोले यी तीनवटै प्रदेशले आज मुख्यमन्त्री पाउने भएका हुन् ।

केन्द्रमा शीर्ष नेताहरूबीच भएको सहमति अनुसार दलहरूले मुख्यमन्त्री दाबी गर्नेछन् । कर्णाली र लुम्बिनीमा केही असन्तुष्टि भए पनि सहमति नै मुख्यमन्त्री चयन हुने नेताहरूले बताएका छन् ।

केन्द्रको सहमति अनुसार लुम्बिनीमा एमालेले सरकार बनाउँदै छ । एमालेबाट आज संसदीय दलका नेता लिला गिरीले पाँच वर्षका लागि मुख्यमन्त्रीका लागि दाबी पेस गर्नेछन् ।

लुम्बिनीमा आज अपराह्न ४ बजेसम्मको समयमा दाबी पेस गर्न समय छ । यो प्रदेशमा ८७ जना प्रदेश सांसद छन् । जसमा सरकार गठनका लागि ४४ जनाको आवश्यक्ता पर्छ ।

सत्तारुढ दलसँग एमालेका २९, माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिको ४४, जसपाका ३, जनमत पार्टीका ३ जना गरी ५३ सांसद छन् ।

सत्तासाझेदार दलसँग ५२ प्रदेश सभा सदस्य छन्। स्वतन्त्रबाट जितेका एक जना भने पुनः माओवादी केन्द्रमा फर्किएका छन् ।

माओवादी केन्द्रको भागमा परेको कर्णालीमा पनि आजै मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने अन्तिम समय रहेको छ ।

कर्णालीमा आज बेलुकी ५ बजेसम्म माओवादीका संसदीय दलका नेता राजकुमार शर्माले पाँच वर्षका लागि मुख्यमन्त्रीका लागि दाबी पेस गर्नेछन् ।

४० सदस्य रहेको कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक/ एकजना छन् ।

कर्णालीमा एमालेले मुख्मन्त्री आलोपालो हुनुपर्ने माग गरेको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेल पक्षका सांसदहरू असन्तुष्ट छन् ।

यस्तै, एमाले-माओवादीले आलोपालो सरकार बनाउने सहमति भएको सुदूरपश्चिम प्रदेशले पनि आजै मुख्यमन्त्री पाउनेछ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । यहाँ ठूलो दल नेपाली कंग्रेसको १९, नेकपा माओवादी केन्द्रको ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, नेकपा एकीकृत समाजवादीको ४, राप्रपाको १ र एक जना स्वतन्त्र सांसद छन् ।

सहमति अनुसार पहिलो कार्यकाल एमालेले नेतृत्व गर्नेछ । एमालेबाट आज संसदीय दलका नेता राजेन्द्र रावलले गठबन्धनबाट मुख्यमन्त्रीको दाबी पेस गर्दैछन् ।

अर्को कार्यकाल भने यो प्रदेशमा माओवादीले नेतृत्व गर्ने सहमति भएको छ ।अर्को कार्यकाल माओवादीबाट खगराज भट्ट मुख्यमन्त्री बन्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?