+
+

दिलिप महतोलाई वातावरण शहीद घोषणा गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते ९:३१

२७ पुस, काठमाडौं । धनुषाको मिथिला नगरपालिकामा अवैधरुपमा हुने गरेको ढुंगागिट्टी उत्खननको विरोध गर्दा क्रसर व्यवसायीबाट हत्या गरिएका ओमप्रकाश महतो (दिलिप)लाई ‘वातावरण शहीद’ घोषणा गर्नुपर्ने माग अखिल क्रान्तिकारीले गरेको छ ।

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले उनको सम्झनामा काठमाडौं श्रद्धाञ्जली कार्यक्रम गरी महतोलाई वातावरण शहीद घोषणा गर्नुपर्ने माग गरेको हो ।

२०७६ साल पुस २२ गते दिन औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न गएका महतोलाई खोलामै कुटपिट गरी टिपरले कुल्चाएर हत्या गरिएको प्रत्यक्षदर्शी बताउँछन् ।

अखिल क्रान्तिकारी नेपाल ल क्याम्पस कमिटीले सोमबार महतोको सम्झनामा दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका नेता उपदेश यादवले भने, ‘आफ्नो पर्यावरण र बासस्थानको सुरक्षाका लागि बोल्दा दिलिप महतोको हत्या गरियो । प्रचण्ड नेतृत्वको यो सरकारले हत्यामा संलग्नलाई कारबाही गर्नुपर्छ, महतोलाई वातावरण शहीद घोषणा गर्नुपर्छ र सबैखाले नीतिगत अपराध र भ्रष्टाचार अन्त्य गर्नुपर्छ ।’

कार्यक्रममा सहभागीहरुले देशभरका अवैध क्रसर उद्योगहरु बन्द गर्नुपर्ने, दोषीलाई हदैसम्म कारबाही गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

महतोको हत्या सम्बन्धी मुद्दामा धनुषा जिल्ला अदालतमा गत बुधबारदेखि बल्ल सुनुवाइ शुरू भएको छ । यसअघि यो मुद्दामा ११ पटक सुनुवाइ स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?