+
+

विकल त्यागीको गीतसङ्ग्रह ‘आमआलाप’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते १३:०७

काठमाडौँ । कवि तथा गीतकार विकल त्यागी (प्रकाश गुरुङ)द्वारा रचित गीतहरूको सङ्ग्रह ‘आमआलाप’ सार्वजनिक भएको छ । गत साता बागबजारस्थित सिटीम्याक्सको सभाहलमा नेपाली वाङ्मय परिषद्द्वारा आयोजित समारोहमा वरिष्ठ गीतकार प्रा. डा. कृष्णहरि बराल तथा सङ्गीतकार बसन्त मुकारुङले संयुक्तरूपमा ‘आमआलाप’को विमोचन गरे ।

विमोचन समारोहमा बोल्दै समारोहका प्रमुख अतिथि प्रा.डा. बरालले कवि तथा गीतकार त्यागीका गीतहरूले भावकका मन र मस्तिष्कलाई झङ्कृत गराउने बताए । उनले भने, ‘यस सङ्ग्रहमा समाविष्ट गीतहरूमा राष्ट्र, राष्ट्रियता, माया–प्रेमका साथै समाज र संस्कृति सजीवरूपमा चित्रित भएका छन् ।’

विमोचन समारोहका सभापतिसमेत रहेका वरिष्ठ सङ्गीतकार बसन्त मुकारुङले त्यागीका हरेक गीतमा सङ्गीत पाइने बताए । ‘सङ्ग्रहभित्र सङ्गीतकारले धेरै सोचिरहनु नपर्ने सरल र सम्प्रेषणीय गीतहरू छन्’, उनले भने, ‘यो गीतकारको सफलता हो ।’

कवि ध्रुव मधिकर्मीले ‘आमआलाप’भित्रका सबै गीतहरू मिठासपूर्ण रहेको बताए । त्यस्तै, गीतकार टीका चाम्लिङले आफू सुरुदेखि नै त्यागीकोे कविता तथा गीत लेखनको साक्षी रहेको उल्लेख गर्दै उनले लय र स्वरलाई ध्यानमा राखेर रचना गर्ने बताए ।

कवि तथा अन्तर्बोध साहित्यिक त्रैमासिक पत्रिकाका सम्पादक होमशंकर बास्तोलाले त्यागीका गीतहरू अब्बल रहेको बताए ।

त्यागीले गीतरचना गर्दाको अनुभूति सुनाउँदै एकान्तमा गुनगुनाउँदा गुनगुनुनाउँदै गीत सङ्ग्रह तयार भएको सुनाए । उनले गीतहरू आफ्ना भावना मात्रै नभएर समाजकै तस्बिर भएको विचार व्यक्त गरे ।

यसअघि एक कवितासङ्ग्रह निकालेका त्यागीको यो पहिलो गीत सङ्ग्रहमा ८४ वटा रचना समाविष्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?