+
+

बाबुरामका ४ प्रयोग असफल, समाजवादी केन्द्र होला त सफल ?

अब उनी उभिएका छन् अर्को घुम्तीमा, जहाँ समाजवादी केन्द्रको एजेन्डा अघि सारिएको छ । यसअघिका सबैजसो प्रयोगमा असफल भएका भट्टराईले आगामी एजेन्डाको स्थापित गर्न र के गर्लान् भन्ने जिज्ञासा छ ।

रामकुमार डिसी रामकुमार डिसी
२०७९ पुष २७ गते २०:२०

२७ पुस, काठमाडौं । एउटा राजनीतिक पार्टीका लागि चाहिने आधारभूत सांगठनिक संरचना पूरा गरिनसक्दै डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी नयाँ निर्णयका लागि अघि सरेको छ ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समितिको प्रथम बैठकको एजेन्डा छ, नेकपा माओवादी केन्द्रसँग एकता ।

राजनीतिक समितिबाट छलफल सुरु भएको यो एजेन्डामाथि निर्णय भने कार्यकारी समितिबाट हुने छ । भट्टराई आफैंले यसबारे निर्णय लिने र कार्यान्वयन गर्ने जिम्मेवारी केन्द्रीय कार्यकारिणी समितिलाई दिनुपर्ने प्रस्ताव गरेका थिए ।

देशमा बलियो समाजवादी केन्द्र आवश्यक भएको भन्दै त्यो आफूहरु एक्लैको शक्तिले सम्भव नहुने भएकाले अन्य पार्टीहरुसँग एकतामा जानुपर्ने भट्टराईको तर्क छ । पछिल्लो समय उनले यसलाई निकै जोडतोडका साथ उठाउने समेत गरेका छन् ।

‘हामीले भने जस्तो अग्रगामी, प्रगतिशील, लोकतान्त्रिक तथा समावेशी चरित्रको समाजवादी पार्टी निर्माणका लागि थुप्रै चुनौतीहरु छन्,’ भट्टराईले राजनीतिक समितिमा पेस गरेको दस्तावेजमा भनिएको छ, ‘हामी एक्लैले ती चुनौतीहरु सामना गर्न सम्भव हुँदैन ।’

उनले अगाडि भनेका छन्, ‘त्यसका लागि हामी मुद्दा मिल्ने पक्ष, समूह, व्यक्ति र व्यक्तित्वहरुसँग सहकार्य गर्दै जानुपर्छ भने विचार र मुद्दा मिल्नेहरुसँग पार्टी एकीकरण गर्नु पर्छ ।’

माओवादी छाडेयता भट्टराईको यो पाँचौं प्रयोग हो । यसअघिका चार असफल प्रयोगमा माओवादी जोडिएको थिएन, यसपल्ट माओवादी छ ।

यद्यपि भट्टराईले माओवादीसँग एकता भएर बन्ने नयाँ पार्टीको नाम माओवादी नजोडिने बताएका छन् । समाजवादी कार्यदिशालाई आधार मान्ने अन्य दलहरु समेतसँग एकता गरेर ‘समाजवादी केन्द्र’ पार्टी बनाउनुपर्ने मत भट्टराईको छ ।

समाजवादी केन्द्रका लागि माओवादी केन्द्र समेत सकारात्मक छ । यसमा समेटिन सक्ने भनिएको एकीकृत समाजवादी समेत यसका लागि तयार छ । तर, त्यसका लागि कम्युनिष्ट विचार त्याग्न भने दुवै पार्टी तयार छैनन् ।

कम्युनिष्ट विचारधारासमेत त्यागिसकेको बताएका भट्टराई पनि फेरि कम्युनिष्ट बन्न तयार छैनन् । भट्टराईले राजनीतिक प्रतिवेदनमा समेत त्यस्तो संकेत गरेका छन् । ‘पुँजीवादी लोकतान्त्रिक पार्टी’हरु समाजवाद तर्फ ढल्किएको र परम्परागत ‘साम्यवादी पार्टी’ले समेत आफ्नो पुरानो विचार त्यागेको विश्लेषण भट्टराईको छ ।

‘…राजनीतिक रुपमा वर्गीय अधिकार/स्वतन्त्रता र आर्थिक रुपमा राज्यको स्वामित्व/नियन्त्रणलाई प्रधानता दिने कम्युनिष्ट पार्टीहरु राजनीतिमा वर्गीय अधिकार/स्वतन्त्रता र अर्थतन्त्रमा बजारको समेत भूमिका स्वीकार गर्दै परम्परागत साम्यवादी ढाँचालाई परित्याग गर्दैछन । नेपालमा पनि पुराना कांग्रेस र कम्युनिष्ट पार्टीहरुमा यो प्रवृत्ति बढ्दैछ’, भट्टराईंले प्रतिवेदनमा भनेका छन् ।

आफ्नो यो बुझाइ र विश्लेषणमा अन्य पार्टी र नेताहरुलाई सहमत गराउन सक्छन् या सक्दैनन् भन्नेमा नै भट्टराईले अघि सारेको ‘समाजवादी केन्द्र’ रुपी नयाँ प्रयोगको सफलता/असफलता निर्धारण हुने छ ।

अर्कोतिर माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेको नेपाल समाजवादी पार्टीको संसदमा अहिले कुनै स्वतन्त्र हैसियत समेत छैन । उनी आफू भन्दा तुलनात्मक रुपमा बढी शक्ति भएका दलहरुसँग मिल्न जाँदै छन् । त्यस्तो समाजवादी केन्द्रमा भट्टराई सांगठनिक रुपमा निकै कमजोर रुपमा रहने छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई । साथमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव ।

निर्णायक शक्ति नभएका भट्टराईले आफूले चाहे अनुसारको नयाँ पार्टी बनाउन चुनौती छ । ‘चुनौती त छन्, त्यतिकै सम्भावना पनि देखिन्छन्,’ नेपाल समाजवादीका सहअध्यक्ष गंगा श्रेष्ठ भन्छन्, ‘नयाँ पुस्ताले नयाँ विकल्प खोजेको छ । यो विकल्प दिनका लागि यी सबै प्रयत्न खोजेका हौं ।’

राजनीति शास्त्री लोकराज बराल नयाँ शक्तिदेखि नेपाल समाजवादी पार्टीसम्मको प्रयोगमा भट्टराई सफल नदेखिएको बताउँछन् । ‘बाबुरामले कहिले राम्रो कुरा गर्नुहुन्छ तर, कहिले भौतारिनुहुन्छ’, उनको भनाइ छ, ‘उहाँमा स्थायित्व देखिदैन । त्यसो समस्याले यसमा पनि काम गर्न सक्छ ।’

आफ्ना सहयात्रीहरुलाई विश्वासमा लिन सकेको खण्डमा समाजवादी केन्द्रबारे भट्टराईको दर्शन भने ठीक रहेको बरालको भनाइ छ । ‘यद्यपि परम्परागत पुँजीवाद र परम्परागत साम्यवादतिर नगई प्रगतिशील समाजवादतर्फ जानुपर्छ भन्ने उहाँको कुरा ठीकै हो,’ उनको भनाइ छ ।

विश्लेषक हरि रोका भने भट्टराईले माक्र्सवाद त्यागेकामा असन्तुष्ट छन् । भट्टराईले अघि सारेको अवधारणा टिप्पणी गर्न लायक नै नरहेको उनको भनाइ छ । ‘बाबुरामको इतिहास र अहिलेको सैद्धान्तिक अवधारणामाथि टिप्पणी गर्न लायक नै छैन’, रोकाको भनाइ छ ।

चार असफल प्रयोग

माओवादीलाई ‘भत्किएको घर’को संज्ञा दिँदै भट्टराइले ७ वर्षअघि तत्कालीन एकीकृत माओवादी त्यागेका थिए ।

९ असोज २०७२ मा माओवादी त्यागेको घोषणा गर्दै गर्दा उनले पुरानो घर फर्किने सम्भावनालाई नकारेर एक्लै अघि बढ्ने दृढता व्यक्त गरेका थिए ।

माओवादीबाट अलग भएको करिब एक वर्षपछि भट्टराईले ठूलो तामझामसहित ३१ जेठ २०७३ मा नयाँ शक्ति पार्टी गठन गरे । माओवादीमा कहिल्यै ‘फर्स्ट म्यान’ नरहेका भट्टराईका लागि नयाँ शक्ति आफूले एक्लै गरेको पहिलो प्रयोग थियो ।

तर, राजनीतिका पुराना र नयाँ अनुहार मिलाएर गठन गरेको नयाँ शक्ति पार्टीलाई भट्टराईले लामो समय अघि लैजान सकेनन् । नयाँ पार्टी गठनको ११ महिनामै उनको पार्टीले स्थानीय तहको निर्वाचन सामना गर्नुपर्‍यो ।

स्थानीय चुनावमा सोचेजस्तो परिणाम नआएपछि आत्तिएको मनोविज्ञानबीच भट्टराईले एमाले–माओवादी गठबन्धनबाट संघीय चुनाव लड्ने प्रत्यत्न गरे । यद्यपि भट्टराईं पार्टी एकतासहित एमाले र माओवादीको गठबन्धनमा अटाउन सकेनन् ।

त्यसपछि नेपाली कांग्रेससँग तालमेल गरेर उनले संघीय चुनावको सामना गरे । आफूबाहेक कसैलाई पनि बिजय गराउन सकेनन् । नेताहरुले नयाँ शक्ति छाड्ने क्रम झन् बढ्यो ।

‘विधानमा लेखिएका कुराहरुलाई संगठनात्मक जीवनमा लागु गर्दै जान नसक्दा पार्टीभित्र अवसरको खोजीमा आएका केही व्यक्तिहरुले संगठनको जीवन नै तहसनहस बनाए’, उक्त असफलताबारे भट्टराईंले आइतबार पेस गरेको राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘राजनीतिक पृष्ठभूमि र गैरराजनीतिक पृष्ठभूमिबाट आएकाहरुबीच खासमा अन्तरघुलन नै हुनसकेन ।’

नयाँ शक्ति पार्टी छिन्नभिन्न हुन थालेपछि भट्टराईले मधेशबाट उदाएको उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमसँग २३ वैशाख २०७६ मा एकता गराए । त्यसबाट बनेको समाजवादी पार्टी (सपा) भट्टराईको दोस्रो प्रयोग थियो । यसलाई भट्टराईले मधेश र पहाडलाई मिलाएर नयाँ शक्ति निर्माण आफ्नो प्रयोगका रुपमा अथ्र्याएका थिए ।

२०७६ वैशाख २३ गते तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता गरी समाजवादी पार्टी (सपा) बनाइएको थियो । त्यसको एक वर्ष नपुग्दै सपा तत्कालीन राष्ट्रिय जनता पार्टीसँंग एकता गर्न पुग्यो ।

१० बैशाख २०७७ मा जनता समाजवादी पार्टी गठन भयो । तर, जसपामा समेत विवाद सुरु भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन लगायतका राजनीतिक मुद्धाबाट सुरु भएको विवाद अन्ततः विभाजनमा पुग्यो ।

महन्थ ठाकुर, राजेन्द्र महतो लगायत तत्कालीन राष्ट्रिय जनता पार्टी पक्षधरले ९ भदौं २०७८ मा जसपा छाडे । लोकतान्त्रिक समाजवादी पार्टी गठन गरे । ठाकुरपछि भट्टराईले पनि जसपा छाडे । २९ साउन २०७९ पार्टी पुनर्गठन गर्ने निर्णय गरे । यससँगै भट्टराईको तेस्रो प्रयास पनि सफल हुन सकेन । तर, उनले यसको आरोप भने यादवमाथि लगाएका थिए ।

‘पार्टी निर्माणको तरिका भने क्षेत्रीय दलतिरै सीमित हुनतिर अभिमुख र अभिप्रेरित देखियो, देशका अन्य भाग र प्रदेशमा पार्टी निर्माणका लागि संगठित तथा संस्थागत प्रयत्न गर्ने हुटहुटी मूल नेतृत्वमा नै देखिएन,’ उनको अरोप थियो ।

चौथो प्रयोगका रुपमा गठन गरिएको नेपाल समाजवादी पार्टीलाई भने उनी आफैंले भने धेरै अगाडि बढाउन चाहेनन् ।

अब उनी उभिएका छन् अर्को घुम्तीमा, जहाँ समाजवादी केन्द्रको एजेन्डा अघि सारिएको छ । यसअघिका सबैजसो प्रयोगमा असफल भएका भट्टराईले आगामी एजेन्डाको स्थापनाका लागि के गर्लान् भन्ने जिज्ञासा छ ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?