+
+

माधव नेपालको प्रश्न : विश्वासको मत दिंदैमा सत्ताधारी भन्ने कहाँको व्याख्या हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते १५:११

२७ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिंदैमा सत्तापक्षको नहुने जिकिर गरेका छन् ।

पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले गरेको कार्यक्रममा बुधबार उनले विश्वासको मत दिने पार्टी सत्तारुढ हुने कहाँको व्यवस्था हो आफूले बुझ्न नसकेको टिप्पणी गरे । उनले २०५१ सालमा पनि नेकपा एमालेको सरकारलाई कांग्रेसले विश्वासको मत दिएर प्रतिपक्षमा बसेको स्मरण गरे ।

‘कसैकसैले चर्चा गर्ने गरेका छन् । विश्वासको मत दिएपछि सत्ताधारी पार्टी हुन पुग्दछ । यो कहाँको व्याख्या हो मैले बुझ्न सकिनँ । हाम्रो देशको सन्दर्भमा भन्ने हो भने २०५१ सालमा जतिखेर हाम्रो पार्टी सरकारमा थियो । त्यो सरकारको म आफैं उपप्रधानमन्त्री थिए । रक्षामन्त्री र परराष्ट्रमन्त्री थिए । र, अहिलेका एमालेका नेता आफैं गृहमन्त्री हुनुहुन्थ्यो । त्यो अल्पमतको सरकारलाई नेपाली कांग्रेसले के गरेको थियो भन्ने कुरालाई स्मरण गर्नु पर्दैन ?’

उनले अघि भने, ‘विश्वासको मत दिए पनि नेपाली काँग्रेस प्रतिपक्षमा नै बसेको थियो । हाम्रो विगतको अनुभव छैन ? अनि के यो नयाँ संविधानले त्यो व्याख्यालाई गलत हो भन्ने कुरा अगाडि सारेको छ ?’

अध्यक्ष नेपालले आफूहरुले प्रधानमन्त्री प्रचण्डलाई शंकाको लाभ दिएको बताए । उनले प्रधानमन्त्रीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले जस्तो ‘अहंकार’ प्रदर्शन नगर्न पनि आग्रह गरे ।

‘राजनीतिक वृत्तमा एउटा प्रवृत्ति देखिन्छ–मैले जे गरेँ, ठिक गरेँ । शिक्षा नलिने, नचेत्ने, त्रुटि भएको महसुस नगर्ने, अहंकार प्रदर्शन गर्ने, सबै कुराको ज्ञाता मै छु भन्ने ठान्ने, आफूलाई सुप्रिम र सुप्रिमो ठान्ने नेपाली राजनीतिमा पनि यो प्रवृत्ति देखिन्छ । यो प्रवृत्तिको सरकार वर्तमान प्रधानमन्त्री नभइदिनुहोला है । मेरो आग्रह छ । विनम्रतालाई अवलम्बन गर्नुहोला’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?