+
+

पृथ्वी शाहबाट यसरी ठगिए अमेरिकी नागरिक स्टेफन

सम्पत्ति शुद्धीकरणको आरोप लागेका अछामका पृथ्वीबहादुर शाहले आफूलाई ठगेर रकम कुम्ल्याएको भन्दै एक अमेरिकी नागरिकले न्यायको माग गर्दै कानुनी उपचार सुरु गरेका छन् ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०७९ पुष २७ गते २०:२१

२७ पुस, काठमाडौं । आफ्नो खाताबाट झुक्याएर झिकेको रकम नेपाल ल्याएको भन्दै एक अमेरिकी नागरिक न्यायका लागि सर्वोच्च अदालत पुगेका छन् । २२ पुसमा पक्राउ परेका पृथ्वीबहादुर शाहमाथि सम्पत्ति शुद्धीकरण र ठगी गरेको आरोपलाई अमेरिकी नागरिकको निवेदनले थप पुष्टि गरेको छ ।

अमेरिकाको नर्थ क्यालिफोर्नियामा बस्ने स्टेफन फार्मरले शाहमाथि आफ्नो खाताबाट झिकेको ३ लाख ५० हजार अमेरिकी डलर गैरकानुनी रुपमा नेपाल ल्याएको आरोप लगाएका छन् । घटनामा मुछिएका अछामका शाहले ल्याएको रकम विभिन्न बैंकमा रोक्का छ ।

‘नेपालका विभिन्न सरोकारवाला निकायले आफ्नो रकम फिर्ताका लागि पहल गर्नुपर्ने माग राखी उहाँका तर्फबाट हामीले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छौं’ फार्मरका कानुन व्यवसायी दक्षबहादुर क्षेत्रीले अनलाइनखबरसँग भने, ‘यसबारे अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा समेत उहाँका तर्फबाट जाहेरी दिंदैछौं ।’

यसरी ठगिए अमेरिकी नागरिक

नर्थ क्यालिफोर्नियामा बस्ने स्टेफेन फार्मरका बाबु जेम्स फार्मरले खारेज भइसकेको एक कम्पनीबाट ४८१ अमेरिकी डलर पाउनुपर्ने थियो । त्यो रकम फिर्ता गराइदिन्छु भनी जेम्स मोर्गान भन्ने व्यक्तिले स्टेफेनलाई सम्पर्क गरे । र, स्टेफेनको खातामा ४ लाख ८१ हजार अमेरिकी डलर आएको नोटिफिकेसन गयो । तर त्यो नोटिफिकेसन नक्कली भएको पछि मात्रै खुल्यो ।

४८१ अमेरिकी डलर आउनुपर्नेमा ४ लाख ८१ हजार डलर डिपोजिट भएको नोटिफिकेसन आएपछि उनले एजेन्टको काम गर्ने जेम्स मोर्गानलाई सम्पर्क गरे । जेम्स मोर्गानले झुक्किएर डिपोजिट भएको भन्दै त्योमध्ये ३ लाख ५० हजार डलर एजेन्टको निर्देशन अनुसार ६ जेठ २०७८ मा नेपालस्थित कुमारी बैंकको दरबारमार्गस्थित टाइम्स टुडे पिस होलिडे इन्भायरोमेन्ट प्रालिको खातामा जम्मा गरे ।

रकम भुक्तानी भएपछि बैंकले स्टेफेन फार्मरलाई सम्पर्क गर्‍यो । त्यसक्रममा कुराकानी हुँदा उनले आफ्नो खातामा ४ लाख ८१ हजार डलर जम्मा नभएको भेउ पाए र जेम्स मोर्गानले नक्कली नोटिफिकेसन पठाएर रकम डिपोजिट भएको भनी झुक्याएको थाहा पाए । लगत्तै उनले कारोबार रद्द गरिदिन अनुरोध गरे । तर त्यतिञ्जेल ढिला भइसकेको थियो ।

रकम भित्र्याउने पृथ्वीबहादुर शाहले पर्यटकहरुबाट संकलित रकम नेपाल भित्र्याएको दाबी गरिरहेका बेला अमेरिकी नागरिक स्टेफेन फार्मरले खाताबाट आफ्नो रकम झुक्याएर ‘ट्रान्सफर’ गरिएको र त्यो गैरकानुनी रुपमा नेपाल ल्याइएको भन्दै कानुनी उपचारका लागि नेपालका निकायहरुमा गुहारेका हुन् ।

उनी बैंकको नियमित सम्पर्कमा थिए र बैंकले आफूलाई रकम फिर्ता मगाउन मिल्ने जानकारी दिएको दाबी गरेका थिए । लगत्तै अमेरिकाको उक्त बैंकले कुमारी बैंकमा सन्देश पठाएर रकम भुक्तानी रोक्न खोजेको थियो । यो अवधिमा बैंकले रकम टाइम्स टुडे पिस होलिडे इन्भायरोमेन्ट प्रालिको नाममा रहेको खातामा जम्मा गरिसकेको थियो । र, राष्ट्र बैंकको आदेशले रोक्का थियो ।

ल्याउनासाथ रोकिएको रकम

अछामका पृथ्वीबहादुर शाह लगायतका समूह संलग्न भएका विभिन्न कम्पनीहरुमा अमेरिकाबाट ४० करोड रुपैयाँ नेपाल भित्र्याएको थियो । उनले रकम भित्र्याएर केही खाताबाट निकाले भने केही बाँकी थियो । त्यसलगत्तै वित्तीय शुद्धीकरणबारे अनुसन्धान गर्ने अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क(फिन्सेन)ले उक्त रकम भुक्तानी रोक्न नेपाललाई पत्राचार गर्‍यो । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई(एफआईयू)ले रकम रोक्का गरिदियो ।

पृथ्वीबहादुर शाह लगायत उनको समूहले कुनै कारोबारलाई अमेरिकामा नेपाल आउने पर्यटकबाट संकलित रकम नेपाल पठाइएको दाबी गरेका छन् भने कतै नेपालका लागि भित्र्याइएको व्यापारिक लगानी भनेका छन् । नेपाल भ्रमणमा आउने निश्चित गरेका अमेरिकी नागरिकहरुले यातायातदेखि नेपाल बसाइँका क्रममा हुने खर्च, स्वास्थ्य उपचार बीमा लगायतको रकम समेत उतै भुक्तानी गर्ने शाहको दाबी थियो । उनले त्यहाँको कम्पनीबाट उक्त रकम आफू र यहाँको कम्पनीको नाममा नेपाल भित्रिने गरेको दाबी गरेका थिए ।

राष्ट्र बैंकलगायतका निकायले बिनाकारण नेपाल भित्रिइसकेको आफ्नो कम्पनीको रकम रोक्का गरेको उनको दाबी थियो । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले विभिन्न बैंकमा पत्र पठाएर रकम रोक्का गरेपछि ११ चैत २०७८ मा पृथ्वीबहादुर शाहले अर्थमन्त्री जनार्दन शर्मालाई निवेदन लेख्दै रकम फुकुवाको पहल गरिदिन अनुरोध गरेका थिए ।

जवाफमा अर्थमन्त्री शर्माले सचिवलाई तोक लगाउँदै खाता रोक्काको कारण खुलाउन र स्पष्ट जानकारी माग्दै खाता फुकुवा गराउन निर्देशन दिएका थिए । सचिव मधु मरासिनीले ‘मन्त्रीको निर्देशन अनुसार गर्नु’ भनी राष्ट्र बैंकमा पत्राचार गरेका थिए ।

त्यही दबाव अस्वीकार गरेको र सूचना बाहिर चुहाएको आरोपमा अर्थमन्त्री शर्माले मन्त्रिपरिषदबाट छानबिन समिति गठनको निर्णय गराई गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेका थिए । अर्थमन्त्रीले फुकुवा गर्न दबाव दिएको त्यो रकम अमेरिकामा अपराध गरी नेपाल भित्र्याइएको खुलासा भएको हो ।

रकम भित्र्याउने पृथ्वीबहादुर शाहले पर्यटकहरुबाट संकलित रकम नेपाल भित्र्याएको दाबी गरिरहेका बेला अमेरिकी नागरिक स्टेफेन फार्मरले खाताबाट आफ्नो रकम झुक्याएर ‘ट्रान्सफर’ गरिएको र त्यो गैरकानूनी रुपमा नेपाल ल्याइएको भन्दै कानूनी उपचारका लागि नेपालका निकायहरुमा गुहारेका हुन् ।

‘टाइम्स टुडे पिस होलिडे इन्भायोरमेन्ट प्रालि तथा त्यस कम्पनीका शेयरधनीहरुले उक्त रकम अमेरिकाबाट नेपाल घुम्न आउने अमेरिकी पर्यटकहरुको सुविधाका लागि प्रयोग गर्न ‘मिसन होलिडे एलसीसी’ नामक एक अमेरिकी कम्पनीमार्फत नेपाल पठाएको भनी दाबी गरेको रहेछन्’ फार्मरले वारेसमार्फत सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदनमा भनेका छन्, ‘उक्त रकम मलाई अमेरिकामा ठगी गरी झुक्याएर उसले प्राप्त गरेको हो । मैले अमेरिकाको बैंकमार्फत उक्त रकम तत्काल फिर्ता मगाएको हुँदा विपक्षी (पृथ्वीबहादुर शाहलगायतको समूह) ले रकम पाउनुपर्ने होइन ।’

हालसम्म करिब ४० करोड रुपैयाँको कारोबार शंकास्पद भनिएपछि त्यसको परिणाम अझै बढ्ने देखिएको छ । पृथ्वीबहादुर शाह र उनका कम्पनी विरुद्ध फार्मर र अरु दुई अमेरिकी नागरिकले जाहेरी दिए पनि राष्ट्र बैंकले संकलन गरेको विवरणले उनका अन्य कारोबारलाई समेत शंकास्पद देखाउछ ।

उनीहरुले कतै अमेरिकामा नेपाल आउने पर्यटकबाट संकलित रकम नेपाल पठाइएको दाबी गरेका छन् भने कतै नेपालका लागि भित्र्याइएको व्यापारिक लगानी भनेका छन् । अधिकांश कारोबारमा अमेरिकाको फिनसेनले पत्राचारमार्फत ठगी, राजस्व छली लगायतका क्रियाकलापबाट आर्जित रकम नेपाल भित्र्याइएकाले रोक्का राख्न र फिर्ता गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । एउटा बैंकमा बचत भएको रकमवारे राष्ट्र बैंकले टिप्पणीमार्फत भनेको छ, ‘जम्मा भएको रकम ठगीसँग सम्बन्धित भएकाले सम्बन्धित देशबाट फिर्ताको माग भएको (देखिन्छ) ।’

राष्ट्र बैंक स्रोतका अनुसार यो कारोबारमा अछामका पृथ्वीबहादुर शाह, उनका भाइ विजयविक्रम शाह, उनीहरुको कम्पनीमा काम गर्ने भनी खुलाइएका लक्ष्मण रेग्मी लगायतको नाम छ । अधिकांश कारोबारमा अमेरिकाको फिनसेनले पत्राचारमार्फत ठगी, राजस्व छली लगायतका क्रियाकलापबाट आर्जित रकम भनेको छ ।

राष्ट्र बैंकले तयार पारेको विवरणपत्रमध्ये केहीमा ‘अति गोप्य अन्तर्राष्ट्रिय सूचना सञ्जालमार्फत प्राप्त जानकारीका आधारमा’ रकम रोक्का गरिएको उल्लेख गरेको छ भने केहीमा अमेरिकी निकाय फिनसेनको नाम छ । विवरणपत्रमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाका खातामा अस्वभाविक रुपमा विदेशबाट रकम पाएको र सारेको आधारमा इकाई(एफआईयू)ले विश्लेषण गर्दा एउटै समूहसँग आवद्ध केही व्यक्ति/संस्था यस्तो कारोबारमा संलग्न देखिदै आएकाले खाता रोक्का राख्न अनुरोध गरिएको हो ।’

राष्ट्र बैंकले आफ्नो रकम फिर्ताका लागि कुनै सहयोग नगरेको बरु उल्टै आफूलाई ठग्ने समूहले रकम पाउँ भनी अदालतमा मुद्दा हालेकाले आफूले समेत न्यायको याचना गरेको फार्मरको रिट निवेदनमा उल्लेख छ ।

‘मैले लामो समयदेखि आफ्नो सम्पत्तिको भोग गर्न, व्यावसायिक लाभ प्राप्त गर्न र सम्पत्तिको अन्य कारोबार गर्न सकेको छैन’ फार्मरले निवेदनमा भनेका छन्, ‘अन्तर्राष्ट्रिय बैंकिङ कानून र सिद्धान्त विपरीत मेरो रकम फिर्ता नपठाई कुनै कानूनी आधार र कारण विना नै रोक्का राख्ने कामले मेरो सम्पत्तिको हक हनन भएको छ । रोक्का राखिएको रकम तत्काल फिर्ता पठाई मेरो सम्पत्तिको हक सुनिश्चित गरी पाऊँ ।’

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?