+
+

चितवन मेडिकल कलेजमा बन्यो १०० बेडको क्यान्सर अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते ६:४४

२८ पुस, चितवन । चितवन मेडिकल कलेजभित्र १०० बेड क्षमताको क्यान्सर अस्पताल तयार भएको छ ।

‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’नाम दिइएको सो अस्पतालको माघ १२ गते औपचारिक उद्घाटन गरिने कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।

अस्पतालमा अहिले क्यान्सर रेडियसनलगायतका सेवा भने सञ्चालनमा आइसकेका छन् । रक्तक्यान्सर बाहेक सम्पूर्ण क्यान्सरको परीक्षण र उपचार सुरु गरिएको इन्स्टिच्यूटका रेडिएसन अंकोलोजिष्ट डा.सुवास ठाकुरले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा ब्राकी थेरापी, रेडिएसन, केमो थेरापी र शल्यक्रिया सेवा उपलब्ध छन् ।

इन्स्टिच्युटमा क्यान्सरका बहिरङ्ग सेवा, अन्तरंग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा रहेका छन् ।

दैनिक एक सय जनासम्मलाई रेडियसन (सेक्ने) सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको डा. ठाकुरले जानकारी दिए । सो मेसिनमा टडी काउच र हाइपर आर्क प्रविधि छ ।

डा.ठाकुरका अनुसार टाउको भित्रको ट्युमरलाई विना शल्यक्रिया उपचार गर्ने प्रविधि एसआरएस (स्टेरियो टेक्टिक रेडियो सर्जरी) पनि ल्याएको छ । यसबाट उपचार गर्दा शल्यक्रिया नगरी टाउकोभित्र जुन भागमा ट्यूमर छ त्यसलाई मात्रै सेकाएर नष्ट गरिने हुँदा बिरामीलाई सहज हुने डा. ठाकुरले बताए ।

यस्तै एसबीआरटी (स्टेरियो टेक्टिक बडी रेडिएसन थेरापी) सेवा पनि यहीँ उपकरणबाट दिन मिल्ने उनको भनाइ छ । यो उपचार उपकरणले शल्यक्रियाबनिा शरीरका अंगहरुमा रहेको क्यान्सरका ट्यूमरहरुलाई नष्ट गर्दछ ।

डा. ठाकुरका अनुसार फोक्सो, प्रोस्टेट, आन्द्राको क्यान्सरमा यो विधि उपयोगी मानिन्छ । यसैगरी शल्यक्रिया गर्न नमिल्ने चौथो स्टेजमा पुगेका क्यान्सर र हड्डीको क्यान्सरको उपचारमा पनि यो प्रविधि सहज र प्रभावकारी हुने डा. ठाकुरले बताए ।

ब्रेकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि इन्ष्िटच्युटमा ल्याइएको छ । पाठेघरको मुख र जिब्रोको क्यान्सरमा यो प्रविधिको उपचार बढी प्रयोग हुने गर्दछ ।

क्यान्सर पत्ता लागेको ३/४ दिन भित्र नै रेडियोथेरापी लगायतका उपचार तत्काल सुरु गरिने भएकोले क्यान्सरको उपचार र परीक्षणमा महिनौं लामो पालो कुर्न नपर्ने डा.ठाकुरले बताए ।

महिनौं पालो कुर्नुपर्दा क्यान्सर झनै फैलिन सक्ने र त्यसले उपचारमा नै समस्या खडा गर्नसक्ने भन्दैं डा. ठाकुरले दैनिक एक सय जनासम्मलाई रेडियोथेरापी दिन सक्ने क्षमता आफूहरूको रहेको बताए ।

क्यान्सर इन्स्टिच्यूटमा भारत, अमेरिका र चीनमा क्यान्सर उपचारमा काम गरेका अनुभवी विशेषज्ञ चिकित्सक रहेको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले बताए ।

रेडियसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, बाल क्यान्सरको उपचारसहित आवश्यक अत्याधुनिक उपकरण ल्याइसकिएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए ।

उनले चितवनबाट परीक्षणका लागि भारत लैजानुपर्ने नमूनाहरुको परीक्षणका लागि कलेज भित्र नै उच्च प्रविधिसहितको ए ग्रेडको ल्याव स्थापना गरिएकोले समय, रकमको खर्चका साथै हैरानी व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गरिएको बताए ।

‘हामीसँग क्यान्सरको उपचारमा प्रयोग भैरहेका पछिल्लो प्रविधिसहितका उपकरण छन्, त्यसले बिरामीको उपचारमा धेरै सहज हुनेछ,’ देवकोटाले भने, ‘क्यान्सरको उपचारका लागि चितवन हव बनाउने हाम्रो लक्ष्य हो । सरकारी क्यान्सर अस्पतालमा रेडिएसन सहितको उपचारका लागि महिनौं पालो कुर्नुपर्ने अवस्था छ, सबै मिलेर उपचारलाई सहज बनाउँछौं ।’

अस्पतालमा एमआरआई, सिटीस्क्यान, मेमोग्राम, स्पेक्टसिटी, बोन स्क्यानर, इण्डोस्कोपी, भिडियो एक्सरे, एक्सरे, ईसीजी, क्याथल्याब, ए ग्रेडको प्रयोगशाला, आईसीयू, एनआईसीयू, सीसीयू रहेका छन् ।

सरकारले तोकिएको शूल्कमा उपचार

सिएमसी क्यान्सर इष्ट्रिच्यूटमा सरकारले तोकेको शूल्कमा उपचार हुने प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकाटाले जानकारी दिए ।

‘सरकारले तोकेको विपन्न उपचार शुल्कमा नै हामीले बिरामीलाई सेवा दिन्छौं’ देवकोटाले भने, ‘नीजि भएर महंगो होला भन्ने हैन ।’

अस्पतालले सरकारले क्यान्सरको उपचारका लागि दिने एक लाख र बागमती प्रदेश सरकारले उपलब्ध गराउने ५० हजार बरावरको उपचार सुविधा पनि दिने देवकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?