+
+

आश गरिएका शाहीको निराशाजनक कार्यकाल

यज्ञ खत्री यज्ञ खत्री
२०७९ पुष २८ गते १०:०४

२८ पुस, सुर्खेत । कर्णाली प्रदेशको नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त हुँदा आम कर्णालीवासीको विश्वास थियो, ‘प्रदेशले विज्ञ र अनुभवी मुख्यमन्त्री पाएको छ, अब केही त फरकपन देखिन्छ ।’ किनकि हुम्लामा जन्मिएका शाहीले देशकै उत्कृष्ट भनेर चिनिने विद्यालय बुढानीलकण्ठबाट माध्यमिक शिक्षा पूरा गरे । अमेरीकामा पाइलट विषय पढे । केन्द्र सरकारको पर्यटनमन्त्री भइसकेका शाहीसँग सरकार सञ्चालनको राम्रो अनुभव भएको आम बुझाइ थियो ।

प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा रोस्टमबाट सरकारलाई ‘सत्ता सञ्चालन’को पाठ सिकाउँथे । त्यतिबेला धेरैलाई लाग्थ्यो । शाहीले एकपटक सरकारको नेतृत्व गर्ने अवसर पाए प्रदेशले केही त नयाँपन पाउँछ, केही त परिवर्तन आउँछ ।

कर्णालीको राजनीतिबारे जानकार जुम्लाका माधव चौलागाईं भन्छन्, ‘कर्णालीको दुःखलाई नजिकबाट नियालेको, प्रदेश विकासका लागि ६ ‘ब’ को अवधारणा तयार पारेको, प्रदेशका राम्रा, नराम्रा दुवै पक्षलाई बुझेको, एजुकेटेड मुख्यमन्त्रीबाट धेरै अपेक्षा थियो । तर १४ महिने कार्यकालमा एउटा पनि सम्झिनलायक काम भएन ।’

धेरै अपेक्षा गरिएको व्यक्तिले कुनै पनि परिणाम ननिकाल्दा आम नागरिकमा नैराश्यता देखिएको चौलागाईं बताउँछन् । ‘उहाँले अस्थिर सरकारलाई दोष दिएर पन्छिने ठाउँ छैन । केही न केही त गर्ने पर्ने थियो । त्यसो गर्न सक्नुभएन,’ उनी भन्छन् ।

राजनीतिक परिघटनाका एकै संसदमा पहिले प्रमुख प्रतिपक्षी र पछि सत्तारोहण गर्ने मौका पाएका उनले १४ महिने कार्यकाल एउटा सरकारी जागिरे जसरी नै बिताए । मुख्यमन्त्री कार्यालयदेखि ६०० मिटर अगाडि बन्दै गरेको प्रादेशिक रंगशालाको ३४ पटक स्थलगत अनुगमन गरेका शाहीले वर्षौंदेखि अलपत्र आयोजनाबारे सामान्य चासो समेत राखेनन् ।

मुख्यमन्त्री शाहीले मंगलबार आफ्नो ४३५ दिने कार्यकालको प्रगति सार्वजानिक गर्दै १७ किलोमिटर सडक कालोपत्रे गरिनुलाई आफ्नो प्रमुख उपलब्धि ठानेका छन् ।

देश संघीयतामा गइसकेपछि कर्णाली प्रदेशको नेतृत्व नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले गरे । तर, तत्कालीन नेकपाको आन्तरिक विवादका कारण बीचमै उनी बाहिरिनुपर्‍यो । त्यसपछि कर्णाली प्रदेशमा कांग्रेसबाट प्रत्यक्षतर्फ जितेका एकमात्र सांसद जीवनबहादुर शाही १६ कात्तिक २०७८ मा प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएका थिए । शाहीपछि कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् ।

शाहीले सुनाए १४ महिने उपलब्धि

जीवनबहादुर शाहीले आफ्नो चौध महिने कार्यकालमा गरेको कार्यप्रगतिबारे जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गरेका थिए । पाँच पृष्ठ लामो प्रगति प्रतिवेदन तयार पारेका शाहीले रंगशालामा ३४ पटक गरिएको अनुगमनदेखि प्रदेशका ५९० रिक्त पदमा विभिन्न तहका कर्मचारी नियुक्तिका लागि गरिएको सिफारिसलाई समेत प्रगतिमा उल्लेख गरेका थिए ।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले आफू नेतृत्वको सरकारले अघिल्लो सरकारले ल्याएका योजनालाई नै प्राथमिकतामा राखेर काम गरेको दाबी गरे । ‘हामीले ‘कर्णाली टाइम’ नामक अभियान नै चलाएर समयको कडा पालना गर्‍यौं, नागरिकलाई सुशासनको प्रत्याभूति दिलायौं,’ मुख्यमन्त्री शाहीले भने, ‘म आउनु अगाडि मुख्यमन्त्री र मन्त्रीका कार्यालयहरु व्यापारीले भरिन्थे । म आएर सबै हटाएँ ।’

मुख्यमन्त्री शाहीले आफूले सरकारको नेतृत्व गरेपछि प्रदेश सरकार सुशासनको बाटोमा अघि बढेको दाबी समेत गरे । अघिल्लो सरकारले सचिवहरुलाई कर्णालीमा बस्ने वातावरण सिर्जना नगरेको आरोप लगाउँदै उनले आफूले नेतृत्व गरेपछि प्रदेशमा सचिवहरु समेत लामो समयसम्म बस्न थालेको बताए ।

सत्ता पक्षकै नेताहरुले प्रदेश योजना आयोगलाई पूर्णता दिन नसकेको भन्दै उनको चर्को आलोचना भइरहँदा उनले आयोगमा सुहाउने उपयुक्त पात्र कर्णालीमा नभएकाले नियुक्त गर्न नसकिएको बताए । उनले राजनीतिले आफूलाई कोमामा पारेको भन्दै अब प्रतिपक्षको कुर्सीमा रहेर आवाज उठाउने बताए ।

शाहीका अनुसार आफ्नो कार्यकालमा कृषि व्यावसायिकरण र आधुनिकीकरणमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यले सञ्चालित ब्याज अनुदान कार्यक्रमबाट १ हजार २२७ जनाले कर्जा सुविधा प्राप्त भएका छन् भने ब्याजमा अनुदान बापत ३ करोड ९६ लाख रकम भुक्तानी गरिएको छ ।

३५० हेक्टर जग्गामा थप सिंचाइ सुविधा विस्तार भएको र ५९२ वटा साना सिंचाइ योजनाको निर्माण तथा मर्मतबाट करिब ३५० हेक्टर जग्गामा थप सिंचाइ सुविधा विस्तार भएको उनको भनाइ छ ।

मुख्यमन्त्री शाहीले आफ्नो कार्यकालमा १ अर्ब ५५ करोडको कृषि तथा पशुपन्छीजन्य वस्तु प्रदेश बाहिर निकासी भएको बताए ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?