+
+

अख्तियारकै आयुक्त भ्रष्टाचार मुद्दामा दोषी ठहर

भ्रष्टाचारको अनुसन्धान गर्ने निकायमा बसेर घुस खाएको आरोपमा संवैधानिक पदाधिकारी दोषी ठहर भएको यो दुर्लभ घटना हो ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०७९ पुष २८ गते २१:१३

२८ पुस, काठमाडौं । ७८ लाख रुपैयाँ घुस लेनदेनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले पाठकलाई ३ वर्ष ३ महिना कैद र ३९ लाख जरिवाना तथा न्यौपानेलाई ३ वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो । पाठक सरकारी ओहोदामा रहेर भ्रष्ट्राचार गरेका कारण उनलाई थप ३ महिना कैद सजाय ठहर भएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।

नेपाल इन्जिनियरिङ कलेजविरुद्ध अख्तियारमा परेको उजुरीमाथि छानबिन रोक्न न्यौपानेबाट पाठकले ७८ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियारले १२ चैत २०७५ मा पाठक र न्यौपाने दुबै विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको थियो ।

पाठकले ७८ लाख रुपैयाँ घुस लिएको स्वीकार गरेको भिडियो प्रमाणका रुपमा अख्तियारले पेश गरेको थियो । तर विशेष अदालतले घुस लेनदेनमा नभई घुस लेनदेनको प्रयास मात्र भएको ठहर गरेको हो ।

‘आरोपितहरुबाट घुसबापतको रकम बरामद भएको थिएन, तर घुस खाने प्रपञ्चका लागि सारा काम सम्पन्न गरेको देखिएको ठहर भएको छ’ रायकिताब उधृत गर्दै स्रोतले भन्यो, ‘त्यही आधारमा घुस खाएको भनिएको ७८ लाख रुपैयाँको आधा अर्थात ३९ लाख रुपैयाँ जरिवाना हुने ठहर भएको हो ।’

भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ३ को (ज) मा ५० लाखदेखि १ करोड रुपैयाँसम्म घुस लेनदेन गरेमा ६ देखि ८ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । ऐनकै दफा २१ अनुसार घुस लेनदेनको उद्योग गर्नेलाई तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।

बिहीबारको फैसलाबाट अख्तियारका पदाधिकारीहरु असन्तुष्ट छन् । घुस लेनदेनको आरोपमा दोषी ठहर हुनुपर्नेमा घुस खाने उद्योगमात्रै गरेको व्याख्या गरेर कम सजाय गरेको अख्तियारका एक पदाधिकारीले बताए । फैसलाको पूर्णपाठ आएपछि सर्वोच्च अदालतमा पुनरावेदनमा जाने उनको भनाइ छ ।

के थियो घटना ?

नेपाल इञ्जिनियरिङ कलेजमा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । तर उक्त उजुरीमा छानबिन अघि नबढाउन भन्दै कलेजका अध्यक्ष न्यौपानेले एक इञ्जिनियरमार्फत तत्कालिन आयुक्त पाठकलाई पटक पटक गरी ७८ लाख रुपैयाँ बुझाएका थिए ।

रकम लिएको स्वीकारोक्तिसहितको भिडियो सार्वजनिक भएपछि पाठकले आयुक्तबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि उक्त घटनामा अनुसन्धान गरेर अख्तियारले पाठक र न्यौपानेविरुद्ध मुद्दा चलाएको हो ।

नेपालका संवैधानिक पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा चलेर प्रारम्भिक अदालतबाट दोषी ठहर भएको यो सम्भवतः पहिलो घटना हो । पाठकविरुद्धको भ्रष्टाचारको मुद्दा अख्तियारका तत्कालिन प्रमुख नविनकुमार घिमिरेले प्राथमिकता दिई अघि बढाएका थिए ।

सम्पत्ति विवादको उत्कर्ष

नेपालमा नमुना इञ्जिनियरिङ कलेज बनाउने भनी इञ्जिनियरहरुको एक समूहले गैरनाफामूलक संस्था खोली भक्तपुरको चाँगुनारायणमा नेपाल इञ्जिनियरिङ कलेज स्थापना गरेका थिए ।

पछि केही सञ्चालकहरुले त्यसलाई निजीकरण गर्ने प्रयास गरे, केही त्यसको विरोधमा लागे । निजीकरणको पक्षमा लम्बोदर न्यौपाने थिए भने दीपक भट्टराईलगायत त्यसको विरोधमा थिए ।

नेपाल इञ्जिनियरिङ कलेजमा त्यतिबेला करिव १० करोड रुपैयाँभन्दा बढी मौज्दात थियो । पछि सञ्चालक समितिले संस्था निजीकरण गर्ने र १० करोड रुपैयाँ रकम बाँड्ने निर्णय गर्‍यो । जस अनुसार ७ जना सञ्चालकको भागमा डेढ डेढ करोड रुपैयाँ पर्‍यो ।

लम्बोदर न्यौपाने

उक्त निर्णयविरुद्ध दीपक भट्टराई पक्षले जिल्ला प्रशासन कार्यालय भक्तपुर, संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको थियो ।

अनुसन्धान प्रभावित पार्न कलेजका अध्यक्ष न्यौपानेले अख्तियारका पदाधिकारीलाई प्रभावित पार्ने प्रयास थालेका थिए । छानबिन तामेलीमा राख्ने प्रलोभन देखाएर एउटा समूहसँग आयुक्त पाठकले घुस मागे । अख्तियारको अनुसन्धान अनुसार, एक करोड ६५ लाख रुपैयाँमा भएको मोलमोलाई किस्ताबन्दीमा टुंगियो ।

अख्तियारले साक्षीको रुपमा प्रस्तुत गरेका घुस रकम ओसारपसार गर्ने एक व्यक्तिका अनुसार, किस्ताबन्दीमा रकम दिने र फाइल तामेलीमा गएपछि सबै रकम उपलब्ध गराउने सहमति बनेको थियो ।

काम नगरेपछि अडियो सार्वजनिक

काठमाडौंको एक निजी कलेजका सञ्चालकमार्फत आयुक्त पाठकले घुसको डिल गरेका थिए । पाठकको सुझाव अनुसार ती कलेज सञ्चालकले पहिले राजनारायणका भाइ शुभनारायणलाई भेटे र १५ लाख रुपैयाँ बुझाए । हामीले घुस पुर्‍याउने व्यक्ति र पाठकको भिडियो रेकर्ड गर्ने खेलाडीको आग्रहमा उनीहरुको नाम गोप्य राखेका छौं ।

शुभनारायण त्यतिबेला पूर्वाञ्चल विश्वविद्यालयका डिन थिए । भाइमार्फत रकम बुझेका आयुक्त पाठकले नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालक विरुद्ध अख्तियारमा परेको उजुरी तामेलीमा राखिदिने बचन दिए । घुस पुर्‍याउने ती कलेज सञ्चालकको भनाइमा पाठकलाई दुई किस्तामा पैसा दिइयो । कमलपोखरीमा गाडी रोकेर मिठाइको बट्टामा रकम पुर्‍याइएको, अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

घटना हुँदा नविनकुमार घिमिरे अख्तियारका प्रमुख आयुक्त थिए । पाठकबारे अनेक गाईगुई सुनेका उनले निगरानी बढाएका थिए । फाइल पाठकको नियन्त्रणबाट फुत्किसकेको थियो । घुस बुझेर पनि पाठकले समयमा काम गर्न सकेनन् । काम नहुने भए रकम फिर्ता पाउनुपर्ने भनी कलेज सञ्चालकले ताकेता बढाए । पाठकले उल्टै थप रकम मागेर धम्क्याउन थाले ।

त्यसपछि ती कलेज सञ्चालकले आफ्नो साथी एक कराते खेलाडीलाई अख्तियारका आयुक्त पाठकको घरमा पठाए । १४ माघ २०७४ मा ती खेलाडी पहिलोपटक अख्तियारको नक्सालस्थित कार्यालयमै गए, पाठकको कार्यकक्षमै पुगेर रकम फिर्ता मागे । रकम फिर्ता नहुने निश्चित भएपछि उनले आफूले लुकाएको क्यामेराबाट भिडियो खिचेका थिए ।

पटक पटक खिचेको ६ घण्टा भन्दा लामो भिडियो खिचेका उनले अन्तिममा भिडियो सार्वजनिक गर्ने चेतावनी दिए र थप कुरा गरे । त्यसक्रममा पाठकले हात जोडेर माफी मागेका छन् । भिडियोमा पाठकले आफूले एक पटक ४० र अर्को पटक ३८ लाख, अनि भाई शुभनारायणले १५ लाख रुपैयाँ लिएको स्वीकार गरेका थिए ।

१ फागुन २०७५ मा घटना सार्वजनिक भएपछि पाठकले राजीनामा दिएका थिए । त्यसको डेढ महिनापछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा चलेको हो ।

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?