+
+

एउटा कवि हराउँदा भेटिएको सुन्दर कविता कृति

गाउँघरमा परिवारसँग हुनु भनेको अभावबीचमा पनि धेरैथोक हुनु हो । दूरदेशमा कामको भारीले वर्षौं थिचिरहँदा कवि पलपल घरपरिवारको सामिप्य सम्झिरहन्छन् ।

फुर्पा तामाङ फुर्पा तामाङ
२०७९ पुष ३० गते १३:०५

म गत डेढ वर्षदेखि धनकुटामा छु, चन्द्र गुरुङ धरानमा बस्छन् । करिब एक दशकअघि सामाजिक सञ्जाल फेसबुकमा मित्र बनेका हाम्रो ‘फेस टु फेस’ भने गत कात्तिकमा भयो । भेटको अर्थपूर्ण कारक बन्यो, उनकै कविता कृति ‘जब एउटा मान्छे हराउँछ’ को दोस्रो संस्करण । साथमा थिए अर्का धराने युवाकवि सुदिप पाख्रिन । हामीले पुस्तक विमोचनको पारामा फोटो खिच्यौं ।

इन्डिगो इन्क पब्लिकेशनले निकालेको चिटिक्कको संग्रह जब एउटा मान्छे हराउँछ भित्र ५१ वटा कविता छन् । किताबको आकार (डिजाइन) छ । ‘बाको अनुहार’ बाट सुरु हुने कविताक्रम ‘आमा’मा पुगेर सकिन्छ । शीर्षक बनेको कविता संग्रहको ५० औं नम्बरमा छ । अन्तिम कवितापछिको मन्तव्यमा कविको बाल्यकालदेखि हालसम्मको विवरण छ । कवितापछि कविलाई पढ्दा चन्द्र कवि हुनकै लागि जन्मिएको भन्ने लाग्छ ।

मानिसको जुनी बडा गजब छ । मान्छे भएर जन्म लिएकैले कविता लेख्न सकियो । यसैकारण हुनुपर्छ मान्छेको जुनीलाई तामाङ पुर्खाहरूले ‘म्हिलि क्षेम्बो’ अर्थात् सर्वश्रेष्ठ जुनी भनेका ।

फेरि कविताहरूतर्फ लागौं । कवि चन्द्र गुरुङ कामको खोजीमा विदेश पुग्छन् । कविको हृदय भने आफ्नै देशको माटोमा रहन्छ । माटो जहाँको पनि माटै हो, तर कवि मनले यसलाई एकै मान्दैन ।

उनी लेख्छन्–

एउटा बिरुवा फुच्चे घामसित खेल्दै
चराचुरुङ्गीसित गीत गाउँदै…
समयको शिशिर याममा
आशाको अन्तिम पातलाई आँधीहुरीले चुँडाएर
पछारिदिन्छन् टाढा–टाढाको परदेशमा
जीवनबाटै उखेलिँदा पनि यी बिरुवाहरूले अँगालेका हुन्छन्
जरामा केही थुप्रो माटो… ।
(माटोको माया)

कवि चन्द्र देशसँगको अनवरत सामिप्यानुभूतिमा लेख्छन्–

छातीभित्र जोसिलो हावाको झोक्का पस्छ
आँसुको बर्सातमा पनि समय नयाँ उद्देश्य हिंड्छ
सुख्खाले खाएको डाँडामाथि इन्द्रेणी सजिन्छ
एक्लो पहाडलाई अंगालोमा बेर्न
दूरदेशबाट आइपुग्छ मायालु बादलको हूल ।
(गीत गाइरहन्छ जीवन)

‘देश’ शीर्षक कवितामा कवि पोखिन्छन्–

जाँदाजाँदै जुन माटोमा एउटा चुम्बन रोपेर गएको थियो
फर्किँदा त्यही माटोको स्पर्शको सुःख हो
नसा नसामा बग्ने अनुभूति हो
टाढिनु पर्दा मनमा उठ्ने पीडाको ज्वारभाटा हो
अंगालोमा बाँधिदाको आनन्द
र, हृदयको कुनाकुनामा चलमलाउने आत्मीय लहर हो ।

गाउँघरमा परिवारसँग हुनु भनेको अभावबीचमा पनि धेरैथोक हुनु हो । दूरदेशमा कामको भारीले वर्षौं थिचिरहँदा कवि पलपल घरपरिवारको सामिप्य सम्झिरहन्छन् ।

वैदेशिक रोजगारले लाखौं नेपाली परिवारका सदस्यलाई कोही कता कोही कता पारिदिएको छ । बुढा बाबुआमाको सहारा नबन्न सन्तान अभिशप्त छन् । युवा जोडीहरूसँगै बस्ने दिनहरू हराएका छन् । नेपालभर यस्तो दारुण माहोल छ । यो यथार्थले कविको मन नपोल्ने कुरै भएन ।

उनी लेख्छन्–
‘… खुसी छन् वृद्धाश्रममा मेरा बाआमा
छुट्टिएको छु दाजुभाइसित म
टिभी सिरिएल हेर्दै बस्छे मेरी श्रीमती
शान्ति छ चारैतिर घरमा
सोच्न सकिन्छ–
सब ठीकठाक छ… ।
(सब ठीकठाक छ)

परदेशमा पैसा फल्ने रुख छैन । शरीर स्वस्थ्य रह्यो भने काम गर्न सक्यो, नत्र ज्युँदै मर्ने अवस्था बन्छ । त्यही भएर परदेशीको मन पोलिरहकै हुन्छ । भत्भती पोलेको मनमा मलम लगाउने भनेको घरपरिवार र जीवन संगिनीको यादले हो ।

चन्द्र गुरुङ त कवि नै भए । उनी लेख्छन्–

परदेशमा
कहिलेकाहीं जीवन अप्ठ्यारोमा उभिदिन्छ
भिडियोमा बच्चाहरूको हाँसो
र मुस्कानले पोल्छ
चाडपर्व र भेटघाटहरूको रमाइलो झुल्किन्छ
आमाको चस्मा फुटेको कुरो आइपुग्छ
बाको दम बढेको खबरले दुखाउँछ ।
(परदेश–३)

त्यस्तै,
‟…अँजुलीमा थुप्रिएका सुखदुःखहरू गन्दै
पलपल फकाइरहन्छ जीवनलाई
जीवनको लयबारे सोच्दै
आफूभित्रका व्यथाहरू फतफताउँदै …
ऊ एक्लो छैन परदेशमा
साथमा छन्
याद
सम्झना र सपनाको लामो लस्कर !
(परदेश–४)

कविको लागि सिंगो संसार नै आफ्नो देश हो । यस मानेमा उनी संसार बाहिर छन् । स्वदेशमै इलम गर्न सम्भव नभएर वर्षौं घरपरिवार, साथीसंगी, इष्टमित्र र आफ्नो संस्कृतिबाट टाढिनु पर्दाको जिन्दगीबारे संग्रहको शीर्ष कवितामा चन्द्र लेख्छन्–

एउटा आँगन हराउँछ
त्यहीं टेक्दै आउने खुट्टाहरू हराउँछन्
ती खुट्टाका आहट पर्खिबसेको ढोका हराउँछ
आँखाहरू देखादेख हुने झ्याल हराउँछ
हराउँछ एउटा घर
हराउँछ एउटा परिवारको सुगन्ध
जब एउटा मान्छे हराउँछ ।

समिक्षेय संग्रहको अन्तिम कविता ‘आमा’मा कवि लेख्छन्–

जसरी सुदूर देशबाट म घर आइपुग्दा
उज्यालो बन्छ
मेरी आमाको अनुहार
वाह ! क्या मज्जा । क्या गजबको बिम्ब ! मिठास रचना !

चन्द्र गुरुङ यसैपनि सरस–सरल कविताको लागि सुपरिचित छन् । उनका कविताहरूले पाठकको मथिंगल खाँदैन । संग्रहका सबै कविता आ–आफ्ना अर्थको गहिराईसम्मै सरस–सरल छन् । पछिल्ला केही दशकयता लाखौं नेपाली परिवारले भोगिरहेका पीडालाई चन्द्रले काव्यिक वाणी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?