+
+

एक महिनापछि लिग टू शृंखला, प्रशिक्षकको टुंगो लाग्नै बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते २०:०१
गत महिना नामिबिया भ्रमण गरेको नेपाल टिम । फाइल तस्वीर

१ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपाल, नामिविया र स्कटल्याण्डसम्मिलित नेपालमै हुने त्रिकोणात्मक शृंखलाको मिति सार्वजनिक गरेको छ ।

नयाँ शृंखलाका लागि एक महिनाको समय बाँकी रहँदा राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक पद झण्डै डेढ महिनादेखि खाली छ ।

सन् २०१९ देखि लिग टू शृंखला सुरु भएको हो । एकदिवशीय मान्यता पाएका एशोसिएट देशबीचको यो शृंखलामा हरेक टिमले ९ त्रिकोणात्मक शृंखलामा ३६ खेल खेल्नेछन् । नेपालले अहिलेसम्म खेलेका २४ खेलमा ८ जित र १४ हारको नतिजामार्फत १८ अंक जोडेको छ । सात टिमबीचको लिग टूमा नेपाल छैटौं स्थानमा छ ।

नेपालले अर्को वर्ष भारतमा हुन लागेको एकदिवशीय विश्वकपको ग्लोवल क्वालिफायरमा स्थान बनाउनका लागि शीर्ष तीनभित्र पर्नुपर्छ । जुन लगभग असम्भवजस्तो हुन थालेको छ । नेपालले सन् २०१८ मा चार वर्षका लागि पाएको एकदिवशीय मान्यता जोगाइराख्न पनि शीर्ष पाँचभित्र पर्नुपर्छ । यसअघिका प्रशिक्षक मनोज प्रभाकरले एकदिवशीय मान्यता जोगाउने गरी टिम तयारी गरिएको बताएका थिए । उनको नेतृत्वमा नेपालले लिग टू अन्तर्गत एउटा शृंखला खेलेको थियो । चारमध्ये नेपालले ३ खेल हारेको थियो ।

३२ खेल खेलेको स्कटल्याण्ड ४६ अंकसहित लिग टूको शीर्ष स्थानमा छ । लिग टूका सबै खेल पूरा गरेको ओमानको ४४ अंक छ । ३० खेल खेलेको नामिविया ३७ अंकसहित तेस्रो स्थानमा छ । पूरै ३६ खेलबाट ३५ अंकसहित अमेरिका चौथो र २६ खेलबाट २७ अंकसहित यूएई पाँचौं स्थानमा छन् । शीर्ष तीनभित्र पर्नका लागि नेपालले बाँकी १२ खेल जितेरमात्र पुग्दैन नामिविया र युएईले खेल्ने खेलहरुको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

लिग टूमा नेपालको प्रदर्शन ओरालो क्रममा छ । लगातार प्रशिक्षक परिवर्तन, कप्तान परिवर्तन, क्रिकेट टिमभित्रको विवाद र पछिल्लो समय सन्दीप लामिछानेको फौजदारी अभियोग प्रकरणबाट नेपाल क्रिकेट नकारात्मक दिशामा देखिन्छ ।

लिग टू शृंखला सुरु भएदेखि नेपालमा चारजना प्रशिक्षक परिवर्तन भएका छन् । नेपालले घरेलु प्रशिक्षक जगत टमाटाको कार्यकालमा एकदिवशीय मान्यता पाएको थियो । लिग टूका लागि भारतीय प्रशिक्षक उमेश पटवालले सुरुवाती प्रशिक्षण दिएका थिए । त्यसपछि श्रीलंकालाई एकदिवशीय विश्वकपको उपाधि दिलाउने प्रशिक्षक डेभ ह्वाटमोर नेपालको प्रमुख प्रशिक्षक बनेर आए । करिव एक वर्ष नेपालमा विताएर राजीनामा दिएका उनीपछि नेपालकै पूर्व प्रशिक्षक पुवुदु दासानायकेले जिम्मा लिए ।

पुवुदुको आगमन समयमा नेपाल क्रिकेट टिमभित्रै विवाद र खेलाडी–क्रिकेट संघ द्वन्द्वमा फसेको थियो । उनी ६ महिनामै राजीनामा दिएर गए । गत साउनमा भारतीय पूर्व क्रिकेट मनोज प्रभाकरले प्रशिक्षकको जिम्मेवारी लिए पनि चार महिनामै नेपाल क्रिकेटसँगको सम्बन्ध तोडे ।

क्यानले गत साता प्रशिक्षकका लागि सार्वजनिक सूचना जारी गरेको थियो । एक साताको समय दिएर जारी गरिएको सूचनाको अवधि आइतबार सकिएको छ । क्यानका अनुसार करिब दुई दर्जन आवेदन परेका छन् ।

क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले आवेदन आएका सूचीलाई सर्टलिष्ट गर्ने काम भइरहेको जानकारी दिए । उनी आईसीसी प्रतिनिधिसमेत समावेश गरिएको प्रशिक्षक पदपूर्ति समितिका संयोजकसमेत हुन् । पाँच सदस्यीय यो समितिले एक साताभित्र नयाँ प्रशिक्षकसँग सम्झौता गर्ने मल्लले जानकारी दिएका छन् ।

‘हामीले दिएको एक साताको समय आज सकिएको छ । आजै सर्टलिष्ट गरेर दुई दिनभित्र अन्तर्वार्ता सम्पन्न गर्नेछौं । बढीमा एक सातासम्म हामीले नयाँ प्रशिक्षकको नाम क्यानलाई सिफारिस गर्नेछौं,’ मल्लले अनलाइनखबरसँग भनेका छन् ।

सचिव मल्लले प्रशिक्षकको नियुक्तिअगाडि नै खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनेबारे क्यानमा निर्णय भइनसकेको बताए । उनले नयाँ प्रशिक्षकले नै बन्द प्रशिक्षण सुरुवात गर्नेतर्फ इंगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?