+
+

यतीको दुर्घटना लगत्तै नेपालका सबै एटीआर जहाजको परीक्षण, भेटिएन त्रुटि

अच्युत पुरी अच्युत पुरी
२०७९ माघ २ गते १८:३९
फाइल तस्वीर

२ माघ, काठमाडौं । यती एयरलाइन्सको आइतबार भएको दुर्घटनालगत्तै नेपालमा उड्ने सबै एटीआर जहाजको विस्तृत प्राविधिक परीक्षण गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यसरी गरिएको परीक्षणबाट कुनै पनि वायुयानमा त्रुटि फेला नपरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको आइतबारको दुर्घटना लगत्तै प्राधिकरणका उडान सुरक्षा निरीक्षकहरुले नेपालमा सञ्चालित सबै एटीआर–४२ र एटीआर–७२ जहाजको विस्तृत प्राविधिक परीक्षण गरिएको छ ।

नेपालका सबै वायुसेवा कम्पनीबाट नियमित उडान योग्यताका लागि चाहिने दैनिक परीक्षण, उडानपूर्व गरिने परीक्षण, निश्चित अन्तरालमा गरिने परीक्षण जस्ता कामहरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड तथा सिफारिस र वायुयान निर्माता कम्पनीको मापदण्ड अनुसार हुने गरेको समेत निरौलाले जनाएका छन् । दुर्घटनालगत्तै बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सबै जहाजको परीक्षण गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

सामाजिक सञ्जालमा भाइरल फुटेज आइतबारको दुर्घटनाको होइन

आइतबार यती एयरलाइन्सको जहाज दुर्घटनाका बेला खिचिएको भन्दै भाइरल भइरहेको एक भिडियो उक्त दुर्घटनासँग सम्बन्धित नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता निरौलाले उक्त भिडियो अन्य कुनै जहाजको भएको बुझिएको बताए । ‘यस घटनालाई जोडेर भ्रम फैलाउने हिसाबले कसैले गलत सूचना सम्प्रेषण गरेको देखिन्छ’ उनले भने ।

प्राधिकरणले स्वतन्त्र र निष्पक्ष छानबिनको लागि नेपाल सरकारले जाँचबुझ समिति गठन गरिसकेको भन्दै विमान दुर्घटनासम्बन्धी घटनालाई जोडेर कुनैपनि व्यक्ति, संस्था, सम्बन्धित निकाय र पूर्व कर्मचारीलाई जथाभावी नबोल्न समेत भनेको छ ।

प्रवक्ता निरौलाले छानबिन समितिले यसको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर रिपोर्ट बाहिर ल्याउने भन्दै घटनाका विषयमा अड्कल अनुमान गर्नु वाञ्छनीय नहुने बताए । उनले कोही पनि व्यक्तिले आफ्नो अनुमानको भरमा विज्ञता दर्शाउनुपर्ने आवश्यकता नरहेको बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रकाशन गरेको प्रेस विज्ञप्ती र प्राधिकरणका बहालवाला आधिकारिक व्यक्तिबाट प्रशारित समाचार बाहेक अरुलाई विश्वास नगर्न र त्यस प्रकारका खण्डनहरुलाई विश्वास नगरी प्राधिकरणका सत्यतथ्य सूचनाहरु जानकारीमा राख्न प्रवक्ता निरौलाले आग्रह गरे ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?