+
+

स्ववियु चुनावको तयारीमा जुटे विद्यार्थी संगठन

नुनुता राई नुनुता राई
२०७९ माघ ३ गते ६:४३

३ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव घोषणा गरेपछि विद्यार्थी संगठनहरुको गतिविधि बढेको छ ।

राजनीतिक दल निकट विद्यार्थी संगठनहरुको केन्द्रीय समितिदेखि क्याम्पस इकाइ समितिहरुमा समेत स्ववियु चुनाव केन्द्रित गतिविधि देखिन थालेको छ ।

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले घोषणपत्र तयारी र प्रचार-प्रसार समिति बनाइसकेको छ । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाका अनुसार, घोषणापत्र तयारी समितिको संयोजकमा पुजन गन्धर्व र प्रचार-प्रसार समितिको संयोजकमा डा. सन्तोष उपाध्याय चयन भएका छन् ।

नेकपा एमाले निकट अनेरास्ववियुले पनि मातहतका विभाग र कमिटीहरुलाई स्ववियु निर्वाचनको लागि तयारी जुट्न निर्देशन दिइसकेको छ । विद्यार्थीको एजेण्डामा आधारित भएर अगाडि बढ्न निर्देशन दिएको अनेरास्ववियका महासचिव समिक बडाल बताउँछन् ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले चुनाव केन्द्रित जिम्मेवारी बाँडफाँड नै गरिसकेको छ । केन्द्रीय अध्यक्ष पञ्चा सिंहका अनुसार, आंगिक क्याम्पसहरुमा पदाधिकारी नै पठाउने नीति लिइएको छ । ‘हाम्रो आन्तरिक तयार तीव्र रुपमा भइरहेको छ । स्ववियु निर्वाचन केन्दि्रत घोषणापत्र तयारी समिति, प्रचारप्रसार समिति लगायतको टिमहरु निर्माण गरिरहेका छौं । केही दिनमा घोषणा गर्छौं’, सिंह भन्छिन् ।

विद्यार्थी संगठनहरुमा मात्रै नभएर क्याम्पसहरुमा पनि स्ववियु चुनावको गतिविधि बढेको छ । शंकरदेव क्याम्पसका अनेरास्ववियु इकाई सह-सचिव बालकृष्ण खड्का, स्ववियु चुनावको मिति घोषणाले विद्यार्थीहरुको गतिविधिख बढेको बताउँछन् । उनी भन्छन्, ‘स्ववियु निर्वाचनमा कसरी जाने भन्ने आन्तरिक छलफल त छँदैछ, विद्यार्थीहरुको प्रतिक्रिया पनि बुझ्न थालिएको छ ।’

शंकरदेवकै नेविसंघका नेता नविन पौडेलले स्ववियु चुनावका विषयमा आन्तरिक छलफल सुरु भइसकेको बताए । शंकरदेव नजिकै रहेको आरआर क्याम्पसका स्ववियु सभापति टपेन्द्रजंग शाही क्याम्पसमा स्ववियु चुनावको चहलपहल बढेको बताउँछन् । उनी भन्छन् ‘स्ववियु निर्वाचनको घोषणापछि सामान्य चहलपहल बढेको छ । विद्यार्थी संगठनहरु तयारीमा जुट्न थालेको देखिन्छ ।’

त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा स्ववियुले शैक्षिक गुणस्तर वृद्धि र विश्वविद्यालयको नीति निर्माणमा सहयोग गर्नुपर्ने बताउँछन् । तर, विद्यार्थी संगठनहरुमा देखिएको गलत प्रवृत्तिमा सुधार नआई स्ववियु चुनावले मात्रै त्यस्तो सम्भव नरहेको माथेकाको निष्कर्ष छ

अमृत साइन्स क्याम्पसका अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष प्रेमराज उपाध्याय स्ववियु निर्वाचन मिति घोषणा गरेपछि सामान्य विद्यार्थीमा पनि चासो बढ्न थालेको बताउँछन् ।
त्रिविले नै चुनावी तयारी अगाडि बढाएकाले विद्यार्थी संगठनहरुमा चहलपहल बढेपनि केही आशंका भने अझैपनि नेताहरुमा देखिन्छ । त्यसको कारण भने हरेक २ वर्षमा हुनुपर्ने स्ववियु चुनाव २०६५ देखि नियमित हुन नसक्नु हो ।

२०७३ सालमा २६ वटा आंगिक क्याम्पसमा चुनाव भए पनि अधिकांश क्याम्पसमा २०६५ सालदेखि चुनाव हुन सकेको छैन । विद्यार्थी संगठनहरुले नियमित स्ववियु चुनाव माग गर्दै आए पनि त्रिविले चुनाव गराउन सकेको छैन । यसवर्ष भने त्रिवि नेतृत्व आफैं सक्रिय भएर मिति घोषणा गरेको छ ।

‘यो वर्ष विगतमा जस्तो अन्तिम समयमा आएर चुनाव रोकिँदैन होला । त्रिवि आफैं सक्रिय भइरहेकाले विद्यार्थी संगठनहरु आन्तरिक रुपमा सक्रिय भइरहेका छन्’ पिपुल्स क्याम्पसका स्ववियु सभापति अदित बोहरा भन्छन् ।

स्ववियुको अर्थ र असर

त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा स्ववियुले शैक्षिक गुणस्तर वृद्धि र विश्वविद्यालयको नीति निर्माणमा सहयोग गर्नुपर्ने बताउँछन् । तर, विद्यार्थी संगठनहरुमा देखिएको गलत प्रवृत्तिमा सुधार नआई स्ववियु चुनावले मात्रै त्यस्तो सम्भव नरहेको माथेकाको निष्कर्ष छ ।

स्ववियु सभापतिहरु मध्येबाट दुई जना त्रिवि सभा सदस्य हुने व्यवस्था छ । त्यसैले विश्वविद्यालयको नीति निर्माणमा उनीहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले त्यसका लागि उपयुक्त नेतृत्व छान्नुपर्ने पूर्वउपकुलपति माथेमा बताउँछन् ।

आरआरका पूर्वस्ववियु सभापति राजकुमार राई भने विद्यार्थीको हक अधिकारको रक्षा र नेतृत्व विकासका लागि पनि स्ववियुको महत्व रहेको बताउँछन् । ‘अहिले राजनीतिक पार्टीहरुको नेतृत्व तहमा स्वतन्त्र विद्यार्थी संगठनबाट स्थापित व्यक्तिहरु हुनुले पनि स्ववियु निर्वाचन नेतृत्व विकासमा कति महत्वपूर्ण छ भन्ने पुष्टि हुन्छ’, राई भन्छन् ।

त्रिविले ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु चुनावको घोषणा गरेको छ । त्यो चुनावका लागि तयारीमा त्रिवि पनि लागिसकेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारी बताउँछन् । उनका अनुसार, केन्द्रीय अनुगमन समिति बनाउने र तालिका प्रकाशनको तयारी गरेको छ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?