+
+
फिल्म र समाज :

सगरमाथा क्षेत्रलाई स्वर्गको रुपमा प्रस्तुत गरेको बलिउड फिल्म ‘उचाइ’

हिरा विश्वकर्मा हिरा विश्वकर्मा
२०७९ माघ ३ गते १२:५५

मैलै सानै उमेर छँदा राजश्री प्रोडक्सनको फिल्म दोस्ती हेरेको थिएँ, त्यतिबेला फिल्म हेर्ने सबै दर्शकहरु रोएको देख्थें र मलाई अचम्म लाग्थ्यो फिल्ममा त्यस्तो के छ र जसले दर्शकलार्यरुन बाध्य पारेको होस् ।

पछि बुझ्दै जाँदा जुन फिल्मले मान्छेको भावनामा गहिरो प्रभाव पार्छ र उसको जीवनसँग कुनै न कुनै रुपमा जोडिएको महसुस गर्छ त्यतिबेला उसले आफ्नो आँसु थामेर पनि थाम्न सक्दैन, राजश्री प्रोडक्सनको खूबी यस्तै फिल्महरु दर्शकका माझमा ल्याउने छ । उसको लगभग ७५ वर्षको इतिहासमा जम्मा ६० वटा जति फिल्म बनाएको छ ती फिल्महरु आम बलिउड मसला फिल्म भन्दा केही पृथक र दर्शकहरुलाई अलग स्वाद दिने प्रवृत्तिका छन् ।

उसले बनाउने फिल्महरुमा भारतीय परिवारमा भएका स–साना मूल्य मान्यता तथा त्यसको महत्व परिवारलाई जोड्नमा कति हुन्छ भन्ने देखाउने गरिन्छ । उसले निर्माण गर्ने फिल्मलाई फिल्मी भाषामा साफ सुथरा पनि भनिन्छ, यसको अर्थ हो हिंसा र मारधाडवाट धेरै टाढा । कतिसम्म भने प्रायजसो सबै फिल्ममा हिंसा, प्रेम, रोमान्स र बदला देखाइएको हुन्छ, जसलाई बलिउड मसला भनिन्छ तर यी सबै कुराबाट धेरै पर हुन्छ राजश्री प्रोडक्सनका फिल्महरु ।

यसका फिल्ममा भिलेनको पात्र हतपत्ती कोही हुँदैनन्, उसले मान्छ कोही खलनायक हुँदैनन् समय र परिस्थिति मान्छेका लागि खलनायक हुन्छन् । त्योसँग जुधेर अगाडि बढ्नु नै सफलता हो भन्ने सन्देश उसका प्रायः फिल्मले दिने गर्छन् । उही कथा भए पनि त्यसलाई फरक पृष्ठभूमि तथा परिवेशमा देखाउनु उसको अर्को विशेषता हो, त्यसको उदाहरणको रुपमा भोजपुरी जीवन शैलीको ग्रामीण परिवेशमा बनाइएको ‘नदियाके उसपार’ र ‘हम आपके हैं कौन’लाई लिन सकिन्छ । यी दुवै फिल्मको कथा एउटै छ, अर्थात् दाजु र भाउजूको पारिवारिक मूल्य र मान्यतालाई पछ्याउँदै भएको विवाहमा कुनै आकस्मिक दुर्घटनाका कारण भाउजूको मृत्यु हुन्छ । भाइको प्रेम भाउजूकी बहिनीसँग हुन्छ तर भाउजूको सन्तानको लालनपालन गर्नु पर्ने अवस्थाका कारण दिदीको श्रीमानसँग विवाह गर्नुपर्ने अवस्था आउँछ तर पछि उनीहरुको अगाध प्रेमसम्बन्ध परिवारका अन्य सदस्यले थाहा पाएपछि उनीहरु विवाह बन्धनमा बाँधिन्छन् । यहाँ भाइको दाजुप्रतिको समर्पण र त्याग तथा दाजुको समझदारीको पारिवारिक मूल्यमान्यतालाई स्थापित गरिएको छ ।

नेपाल पर्यटन बोर्डले यो फिल्मका निर्माता तथा निर्देशक सुरज वाडजात्यलाई सम्मान गर्ने भन्ने कतै समाचारमा पढेको थिएँ । त्यसलाई सुनिश्चित गर्न मैले पर्यटन बोर्डको वेबसाइट हेरें त्यो पनि खुलेन, फोन गरें कसैले उठाएन, इमेल पठाएँ त्यसको जवाफ आउँदैन भन्ने मलाई लाग्छ ।

यस्तै पृष्ठभूमि तर फरक कथामा गत नोभेम्बरमा सिनेमा हलमा रिलिज भएको फिल्म ‘उचाइ’ पनि छ, जुन हालै ओटीटी प्लेटफर्ममा पनि आएको छ । राजश्री प्रोडक्सनको यो ६० औं फिल्म हो । यो फिल्म हेरेपछि मलाई लाग्यो यसले लाखौं डलर खर्च गरेर नेपालको पर्यटकीय क्षेत्रको पवद्र्धन गर्नुपर्ने खर्चलाई सित्तैंमा गरिदिएको छ । त्यति मात्र नभई यसले हाम्रो सगरमाथा र त्यसको बेसक्याम्पलाई स्वर्गसँग तुलना गरिदिएको छ ।

हिरा विश्वकर्मा

राजश्री प्रोडक्सनका धेरै फिल्म ब्लकबस्टर भएका छन्, तर यो फिल्म त्यो श्रेणीमा नपरे पनि बक्स अफिसमा सफल फिल्मको रुपमा दर्ज भएको छ । उपलब्ध भएको सूचना अनुसार यसले संसारभरबाट ४८ करोड भारु कमाउन सफल भएको छ भने भारतमा मात्र यसले ४० करोडको व्यापार गरेको छ । विदेशमा कतिमा टिकट किनेर दर्शकहरुले हेरे त्यो एकिन गर्न सकिएन किनभने त्यो देशअनुसार फरक हुने गर्छ तर भारतमा हलमा गएर हेर्नेहरुले एउटा टिकटको भारु ३०० तिरेर हेर्ने जानकारी मैले भारतमा रहेका केही आफन्तबाट पाएँ । त्यसलाई आधार मानेर हेर्दा करिब १४ लाख भारतीयले यो फिल्म हलमा गएर हेरेको अनुमान लगाउन सकिन्छ, यसको टिजर हेर्ने करोडौं दर्शक छन् । अब त्यति दर्शकमाझ नेपालको पर्यटन बोर्डले आफ्ना प्रचार सामग्री पुर्‍याउनुपर्‍यो भने कति खर्च गर्नुपर्दो हो, यसबारेमा हाम्रा कर्मचारीहरुले नै सोचुन् ।

उचाई फिल्म आ–आफ्नो क्षेत्रमा सफलता हासिल गरिसकेका ६५ वर्ष उमेर पार गरेका चार जनाको मित्रताको कथा हो । यसका मुख्यपात्र अमित अर्थात् अमिताभ बच्चन सफल लेखक हुन्, अर्का पात्र ओम अर्थात् अनुपम खेर सफल पुस्तक व्यापारी, जावेद अर्थात् बोमन इरानी सफल गार्मेन्ट व्यवसायी हुन् भने कथालाई सूत्रमा ल्याउने मुख्यपात्र डेनी (डेनी डेन्जोङ्पा)को व्यवसाय प्रष्ट छैन । तर उनी नेपालकै सोलुखुम्बुका मान्छे हुन् जसको आफ्नो क्षेत्रप्रति अपार प्रेम छ, तर एउटी समाजले स्वीकार नगर्ने केटीको प्रेमका लागि देश छोडेको भन्ने देखाइएको छ । उनको केमियो भूमिका भएको हुँदा त्यति प्रष्ट छैन ।

यी चार जना मित्रहरुको सगरमाथा क्षेत्रको भ्रमण गर्ने योजना हुन्छ र त्यो भ्रमण जसरी पनि हुनुपर्छ भन्ने जोड डेनीले दिएका हुन्छन् । तर उनको अकस्मात हृदयघातका कारण मृत्यु हुन्छ र उनको अन्तिम इच्छा बाँकी रहेका तीन जना मित्रहरुले सगरमाथा बेसक्याम्पमा उनको अस्तु छरेर पूरा गरिदिनुपर्ने परिस्थिति आउँछ । उमेरले सबै ६५ माथिका भएको र सुविधासम्पन्न जीवनशैली अपनाएको भएकाले उचाइमा रहेको पहाड चढेर त्यहाँ पुग्ने कुरामा नोकझोंक हुन्छ । त्यस्तै सबैका आ–आफ्ना पारिवारिक झमेला तथा समस्याहरु पनि हुन्छन् जसले उनीहरुलाई सुख दिएको हुँदैन । त्यस्तैमा परिणिती चोपडाको अगुवाइमा उनीहरु सगरमाथा बेसक्याम्पमा हिंडेर लाग्छन् । यी तीन मित्रहरुसँग जोडिन्छिन् डेनीकी प्रेमिका सारिकाले । उनीसहित अन्य युवा ट्रेकरहरु समेत बेसक्याम्पको यात्रामा नाम्चेबजार हुँदै कालापत्थरसम्म पुग्छन् । नाम्चेबजारदेखि कालापत्थर पुग्न उनीहरुले जुन भौतिक, शारीरिक र उमेरका कारणले हुने कठिनाइ भोग्छन्, त्यो नै यो फिल्मको मुख्य भाग हो । त्यसमा अमितको सुरुको अल्जाइमर रोगबाट उब्जिएको समस्या र एउटा झोलुंगे पुल तर्दा भोगेको जीवनमरणको समस्या यो फिल्मको क्लाइम्याक्स हो ।

यी सबै कठिनाइ भोगेर पनि उनीहरु कालापत्थर पुग्छन् त्यहाँ पुगेपछि जुन स्वर्गीय आनन्द उनीहरुले अनुभव गर्छन् यो फिल्मको सबैभन्दा सुन्दर पक्ष हो । कालापत्थरलाई शेर्पा समुदायले पवित्रभूमि मान्ने गर्छन् । त्यही भूमिमा डेनीको अस्तु यी तीन मित्र र उनकी प्रेमिकाले विसर्जन गरेको दृश्य पनि अत्यन्त मार्मिक छ । फिल्म हेर्ने दर्शकहरुलाई पनि त्यो दृश्य हेर्दा साँच्चिकै स्वर्ग भएको जस्तो अनुभूति हुन्छ । सगरमाथालाई टाढाबाट देखे पनि नजिकबाट नियाल्ने अवसर पाइएको छैन, तर यो फिल्मले देखाएको दृश्य हेर्दा साँच्चिकै मन लोभिन्छ । उमेर र शारीरिक अस्वस्थता भएकालाई मात्र त्यो यात्रा कठिन छैन उमेर भएकैको पनि ज्यान जाने दृश्य एउटा ३७ वर्षको युवाको लास बोकेको दृश्यबाट देखाइएको छ । यी सबै जीवन र मरणको कठिनाइबाट गुज्रिएर कालापत्थर पुग्नु जीवनको ठूलो उपलब्धि र स्वर्गीय आनन्द हो भन्ने सन्देशले गर्दा यो फिल्मले सगरमाथा र यसको आसपासको क्षेत्रको वर्थ मिलियन डलरको प्रवद्र्धन गरेको छ भन्न सकिन्छ ।

नेपाल पर्यटन बोर्डले यो फिल्मका निर्माता तथा निर्देशक सुरज वाडजात्यलाई सम्मान गर्ने भन्ने कतै समाचारमा पढेको थिएँ । त्यसलाई सुनिश्चित गर्न मैले पर्यटन बोर्डको वेबसाइट हेरें त्यो पनि खुलेन, फोन गरें कसैले उठाएन, इमेल पठाएँ त्यसको जवाफ आउँदैन भन्ने मलाई लाग्छ । मेरो विचारमा सुरज वाडजात्य र उनको टिमलाई पर्यटन बोर्डले मात्र नभई नेपाल सरकारले कुनै विशिष्ट पदवीवाट सम्मान गरिनुपर्छ किनभने मैले नेपालमा दृश्यांकन गरी बनाइएका अन्य फिल्मले नेपालको सुन्दरतालाई यसरी पस्केको खास देखेको छैन ।

भारतले नेपालकी अनुराधा कोइरालालाई उच्च सम्मानमध्येको एक पद्मश्रीले सम्मान गरेको अवस्थामा निर्देशक वाडजात्यलाई पनि सम्मान गर्न कन्जुस्याइँ गर्नुहुँदैन ।

लेखकको बारेमा
हिरा विश्वकर्मा

लेखक विगत चार दशकदेखि सामाजिक विकास, दलित अधिकार तथा लघुवित्तको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?