+
+

ताप्लेजुङ-भद्रपुरमा उडान थप   

रासस रासस
२०७९ माघ ३ गते १३:४५

३ माघ, फुङ्लिङ । ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौं–ताप्लेजुङ–काठमाडौं र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो ।

सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले उडान गर्ने भएको छ । सुकेटार विमानस्थलबाट साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन उडान गर्ने तालिका रहे पनि सीता एयरले बुधबार भने दुई पटक उडान गर्ने कार्यालय प्रमुख सिरी खड्काले बताए । उनका अनुसार बुधबार ताप्लेजुङबाट झापाको भद्रपुर र काठमाडौंका लागि दुईपटक उडान हुनेछ ।

यस्तै हप्ताको चारपटक काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गरिरहेको निमगको जहाजले पनि सातामा एकपटक ताप्लेजुङ–विराटनगर उडान गर्ने तयारी गरिहेको ‘स्टेशन इन्चार्ज’ लोकेन्द्र हाङ्गाम लिम्बूले बताए ।

प्रदेश नं १ को राजधानीलाई लक्षित गरी कम्तीमा सातामा एक दिन ताप्लेजुङ–विराटनगर उडान गर्ने तालिका बनिरहेको उनले जानकारी दिए । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट समेत नेपाल वायु सेवा निमगको ट्वीनअटर जहाजले उडान भर्ने तालिकासँगै ताप्लेजुङ–विराटनगरको उडान तालिका पनि तय हुने उनको भनाइ छ ।

यस अघि सीता एयरले काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गर्दै आएकामा वर्षायामको सिजनमा भिजिबिलिटी कम भएका कारण उडान स्थगन भएको थियो । मौसम सफा हुने पर्यटकको चहलपहलसमेत वृद्धि हुने भएकाले उडानलाई निरन्तरता दिइएको बताइएको छ । सीता एयरले ताप्लेजुङबाट भद्रपुरका लागि पाँच हजार तीन सय ८५ रुपैयाँ र काठमाडौंसम्मका लागि नौ हजार दुई सय ८५ रुपैयाँ भाडादर निर्धारण गरिएको इन्चार्ज खड्काले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?