+
+

भड्कियो जनमत पार्टी, प्रचण्डलाई दिएको समर्थनबारे विचार गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १७:३२

३ माघ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय जनमत पार्टीले पाउने पूर्वसहमति कार्यान्वयन नभएको भन्दै शपथ ग्रहणमा गएनन् अब्दुल खान ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उद्योग मन्त्रालयबारे कुरा टुंगिए पनि आफूहरुलाई जानकारी नै नगराई उनी पछि हटेको आरोप जनमत पार्टीले लगाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यति बेला सर्वदलीय बैठक बसिरहेको छ । असन्तुष्ट जनमत पार्टीका अध्यक्ष सीके राउत त्यसमा सामेल छैनन् ।

जनमत पार्टीका नेताहरुले काठमाडौंमा मात्रै नभई मधेश प्रदेशमा समेत आफूहरुसँगको सहमतिबाट सत्ता नेतृत्वकर्ता एमाले र माओवादी केन्द्र पछि हट्ने सन्देह मिलेको अनलाइनखबरसँग बताएका छन् ।

जनमत पार्टीका उपाध्यक्ष दीपक साहले भने, ‘उद्योगधन्दा खोल्ने र रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य छ । चुनाव पनि हामीले यसै भनेर जितेका हौं । तर अहिले पूर्वसहमतिबाट प्रधानमन्त्री किन पछि हट्नुभयो, थाहा भएन ।’

सरकारलाई दिएको समर्थनबारे पार्टीले विचार गर्ने उनले चेतावनी दिए । यद्यपि प्रचण्डले यसअगावै विश्वासको मत लिइसकेका छन् । प्रतिनिधिसभामा जनमत पार्टीका ६ सांसद छन् भने मधेश प्रदेशमा १३ सिट छ ।

मधेश प्रदेशमा जसपा र जनमत पार्टीले आधा आधा कार्यकाल चलाउने सहमति भए पनि एमाले र माओवादी केन्द्र त्यसभन्दा पछि हट्न सक्ने आशंका जनमत पार्टीले गरेको छ । ‘उहाँहरु एकपछि अर्को एकलौटी निर्णय गरिराख्नुभएको छ, हामीसँग कुनै छलफल नै गरिराख्नुभएको छैन’ जनमतका अर्का एक नेताले भने, ‘हामीलाई यही रवैया प्रदेशमा पनि देखाउने हो कि भन्ने आशंका छ ।’

प्रचण्डले खानेपानी मन्त्रीमा खानको नाम राखेर राष्ट्रपति कार्यालयमा शपथ ग्रहणको सूची पठाएका थिए । तर जनमतले उक्त पद अस्वीकार गरेको हो । प्रधानमन्त्रीले अहिलेको ‘त्रुटि’ सच्याउन चाहेमा आफ्नो असन्तुष्टि र आगामी रणनीतिबारे पुनर्विचार गर्न सकिने जनमत पार्टीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?