+
+

हवाई सेवालाई सुरक्षित बनाउन आयोगको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १९:५०

३ माघ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले हवाई दुर्घटनाबाट नागरिकले ज्यान गुमाउनु परिरहेको अवस्थाप्रति संवेदनशील बन्दै हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा निर्धारित मापदण्ड एवं सिफारिसको कार्यान्वयनमा जोड दिन आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन र हवाई दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई उपयुक्त राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न÷गराउन र सहजरूपमा बीमा रकम उपलब्ध गराउन आयोगले आग्रह गरेको छ ।

यही माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको चालकदलसहित ७२ जना सवार जहाज कास्कीको पोखरामा दुर्घटना हुँदा ७० जनाको मृत्यु भएको र दुई जनाको अवस्था अझै अज्ञात रहेको घटनाप्रति आयोग गहिरो दुःख व्यक्त गरेको छ ।

आयोगले यस सङ्कटको घडीमा शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गर्दै समवेदना प्रकट गरेको छ । हवाई दुर्घटनाका कारण व्यक्तिको जीवनको अधिकार गुम्न गएका घटनाहरूको आयोगले विभिन्न माध्यमबाट अनुगमन गर्दै आइरहेको छ ।

मानवीय क्षतिको दृष्टिकोणले उक्त दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै सबैभन्दा ठूलो रहेको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ मा हवाई उडानलाई नियमन गर्ने व्यवस्था छ ।

हवाई नीति, २०६३ ले उडान सुरक्षा एवं हवाई सुरक्षामा सुदृढीकरण गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा निर्धारण गरिएको मापदण्ड तथा सिफारिसको कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक कानूनी र संस्थागत व्यवस्था गर्ने उल्लेख गरेको छ ।

हवाई दुर्घटनाका सम्बन्धमा विभिन्न छानबिन समितिबाट प्राप्त सिफारिस कार्यान्वनलाई प्राथमिकता नदिएकोतर्फ दुर्घटना बढिरहेको देखिएको छ भने अर्कोतर्फ पुराना विमान खरिद र सञ्चालनमा प्रभावकारी नियमन हुन नसकेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?