+
+

टेलिकमको सेवामा दिनभर समस्या, दोहोरिंदैछ पटक-पटक

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ माघ ३ गते २२:२०

३ माघ, काठमाडौं । मंगलबार मध्यान्ह १२ बजेदेखि नेपाल टेलिकमको मोबाइल र ल्यान्डलाइन सेवा देशभर अवरुद्ध भयो । तर, करिब डेढ घण्टा सेवा ठप्प हुँदा टेलिकमले न तुरुन्तै कुनै माध्यमबाट ग्राहकलाई सूचित गर्‍यो, न त असुविधाको लागि क्षमायाचना माग्यो ।

अहिलेसम्म पनि सयमै फोन नलाग्ने, डाटा इन्टरनेट नचल्ने समस्या करिब १० घण्टादेखि कायमै छ । मन्त्रिपरिषद विस्तारको तयारी हुँदै गर्दा सुरु भएको फोन नलाग्ने सुरु भएको समस्या नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा मन्त्रालयमा पदबहाली गर्दासम्म पनि समस्या समाधान भइसकेको थिएन ।

अतिआवश्यकीय सेवा लगातार करिब डेढ घण्टा र आंशिक रुपमा पटक-पटक अवरुद्ध हुँदा देशभर अन्योलको अवस्था छ । पटक-पटक एसएमएस पनि नजाने र इन्टरनेट डेटा पनि नचल्ने भएकाले धेरैले सास्ती भोगिरहेका छन् ।

मोबाइलमा निर्भरता बढ्दै गएको समयमा एक्कासी सेवा किन रोकियो भन्नेबारे पनि टेलिकमले ठोस जानकारी गराएको छैन । तर, अपरान्ह ४ बजेपछि फेसबुक पेजमा सेवा अवरुद्ध भएको जारी दिएर क्षमायाचना गरेको छ । ‘हाल सबै सेवा सुचारु भइसकेको र कुनै ग्राहकको मोबाइल सेवामा समस्या भएमा आफ्नो मोबाइल सेटको पावर अन/अफ गर्नुहुन वा फ्लाइट मुड अन/अफ गर्नहुन अनुरोध छ ।’

टेलिकमका प्रवक्ता शोभन अधिकारीको दाबी पत्याउने हो भने टेलिफोन सेवाको सेवाको प्रणाली करिब १५ मिनेट मात्रै अवरुद्ध भएको हो । ‘बन्द सेवा सुरु भएपछि एकसाथ फोनहरु धेरै संख्यामा भए, प्रणालीमा चाप परेपछि फोन नलाग्ने समस्या रहिरह्यो,’ उनी भन्छन्,’अवरुद्ध नै भएको त धेरैबेर हैन ।’

यसअघि २२ मंसिरमा पनि एनसेलको सेवा एक्कसी प्रभावित भएको थियो । सेवमा समस्या आएपछि आजियाटा लिमिटेडले सडक विस्तारका क्रममा बुटवल-बर्दघाट र दमौली-आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएको जानकारी तुरुन्तै गराएको थियो ।

नेपाल टेलिकमले समयमै यसको जानकारी उपभोक्तालाई गराएन । यसैपनि यसरी सेवा अवरुद्ध हुने समस्या निजी सेवा प्रदायककोभन्दा टेलिकमको बढी छ ।

फोरजी र भोल्टे सेवाका लागि २० अर्बभन्दा बढी लगानी गरेको टेलिकमको सेवा किन बारम्बार समस्याग्रत हुन्छ भन्नेबारे कम्पनीको सधाराण जवाफ हुन्छ, ‘प्राविधिक कारण ।’ यस्तो प्राविधिक समस्या पटक-पटक किन दोहोरिन्छ भन्ने जवाफ टेलिकमसँग छैन ।

१४ असोज २०७० त काठमाडौं उपत्यकामा चार घण्टा टेलिफोन अवरुद्ध भएको थियो । त्यसबेला टेलिकमको छानबिन गरेर निचोड निकालेको थियो,’सुन्धारा कार्यालयको अप्टिकल फाइबर (ट्रान्समिसन लिंक) मुसाले काटेछ ।’

पटक-पटक ठाउँ-ठाउँमा समस्या आएपछि १४ वैशाख २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिकमका अधिकारीहरुलाई सिंहदरबारमा बोलाएर ‘मुसा प्रवृत्तिले सेवा अवरुद्ध हुन नहुने’ भन्दै सचेत गराएका थिए । अपरेटरहरुले नै तार काटिदिएकोप्रति संकेत गर्दै उनले भनेका थिए, ‘मुसा वा मुसा प्रवृत्ति भएकाहरुले सेवा अवरुद्ध गर्ने क्रमको अन्त्य हुनुपर्छ र जनताले स्तरीय सेवा पाउनुपर्छ ।’

तर, समस्या रोकिएन । फेरि ९ असार २०७८ मा पनि झण्डै २ घण्टा यसैगरी टेलिकमको प्रिपेड र पोस्टपेड मोइबाइल सेवा अवरुद्ध भएको थियो । त्यसपछि पनि थोरै-थोरै समय पटकपटक टेलिकमको मोबाइल सेवा अवरुद्ध हुँदै आएको छ ।

अहिले पनि पनि खास क्षेत्र, खास नेटवर्क र खास अवस्थामा पटक-पटक टेलिफोन सेवा अवरुद्ध हुने समस्या कायम छ । तर, यस्तो समस्या आउँदा टेलिकमले तुरुन्तै समस्याबारे सामान्य जानकारी गराउने गरेको छैन ।

विभिन्न कारणले फोन सम्पर्क टुट्दा अर्को कम्पनीको सिम नभएका ग्राहक टेलिफोन सम्पर्कविहीन हुने गरेका छन् । मोबाइलमाथि निर्भरता बढेकाले एक्कासी सञ्चार सम्पर्क विच्छेद हुँदा जनताको जीवनयापन प्रक्रियामै प्रभाव पर्ने गरेको छ । सञ्चारमा आधारित उद्यम र सार्वजनिक सेवा प्रवाह बढी प्रभावित हुने गरेका छन् ।

मोबाइलमा निर्भरता बढेकाले एक्कासी सञ्चार सम्पर्क विच्छेद हुँदा जनताको जीवनयापनमै प्रभाव पर्ने गरेको छ । सञ्चारमा आधारित उद्यम र सार्वजनिक सेवा प्रवाह बढी प्रभावित हुने गरेका छन् ।

सेवा प्रदायकहरु सचेत र जिम्मेवार नहुँदा यस्तो समस्या आएको दूरसञ्चार प्राधिकरण्का अधिकारीहरु बताउँछन् । समयमै प्रविधि र उपकरणहरुलाई अद्यावधिक गर्ने, मर्मत ससमभारमा चासो दिने र प्रणालीलाई चुस्त राखिरहने पक्षमा सेवा प्रदायकहरुले पर्याप्त चासो नदिएको एक प्राधिकरणका एक अधिकारीले बताए ।

‘समस्या पर्दा ततकाल समाधान गर्ने तत्परता पनि देखिएन,’ उनी भन्छन् । सेवा प्रदायक कम्पनीहरुले अझै पनि ग्राहकको चापअनुसार नेटवर्क सुधार र विस्तार गरेका छैनन् ।

यसका कारण प्रयोगकर्ताले तोकिएको गुणस्तरमा सेवा पाउने नसकेको मात्रै हैन, समय-सयममा नेटवर्क नै हराउने समस्या समेत भोगिरहेका छन् । नियामकीय निकाय नेपाल दूरसञ्चार प्राधिकरण पनि सेवाप्रदायकहरुसँग नतमस्तक हुँदा समस्या झन्-झन् बढ्दो दरमा छ ।

प्राधिकरणले मोबाइल र डाटा इन्टरनेट सेवाको ‘ड्राइभ टेस्ट’ गर्दा आएको निराशाजनक नतिजाका आधारमा सेवा सुधार गर्न समेत स्पष्ट निर्देशन दिएको छैन । कल सफल नहुने, कल स्थापित हुन धेरै लाग्ने, डाटा इन्टरनेट पिंग हुन बढी समय लाग्ने, वेबपेज फाइल डाउनलोड र अपलोड हुने सफलताको दर पनि निकै कमजोर छ । तर, गुणस्तर कमजोर भएबापत सेवा प्रदायकहरुले कारबाही भोग्नु परेको छैन ।

प्याक खरिद गर्न खोज्दा एकैपटक नहुने र खरिद नै नगरेको सेवामा ब्यालेन्स कटौती गर्ने, स्वतः सेवा नवीकरण हुने जस्ता प्राविधिक प्रपञ्च गरेर सोझा ग्राहक ठग्ने काम सेवा प्रदायकहरुबाट हुँदै आएको छ ।

गुणस्तर कायम नभए सेवा प्रदायकलाई कारबाही गर्न कानून छ, तर दूरसञ्चार प्राधिकरण त्यसमा नरम छ ।

दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावलीले गुणस्तर कायम नगरेको कारणले मोबाइलमा कुरा गर्दागर्दै आफैं कल काटिने भए उक्त कुरा गरेको समयावधि बराबरको शुल्क वा फोनकल दर बराबरको रकम अनुमतिपत्र प्राप्त व्यक्तिले क्षतिपूर्तिको रुपमा ग्राहकलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।

यस्तो क्षतिपूर्ति सेवा प्रदायकले ग्राहकको मोबाइल र फोनमै उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने विनियमावलीमा उल्लेख छ । तर, न टेलिकम कम्पनीहरुले यसको कार्यान्वयन गरेका छन् न त नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणले यसमा अग्रसरता लिएको छ ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल टेलिकम कम्पनीहरु आफैं जिम्मेवार हुनुपर्ने बताउँछन् । ‘किन यस्तो समास्या आइरहेको भएको हो भन्नेबारे प्राधिकरणले पनि हेर्छ,’ उनी भन्छन्,’मंगलबार टेलिकमको नेटवर्कमा के समस्या भएको हो भन्नेबारे पक्कै प्राधिकरणको अनुगमन विभागबाट जानकारी मागिएको हुनुपर्छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?