+
+

निजी जग्गामा डोजर चलाएको भन्दै नगरसभादेखि सडकसम्म बिरोध

अमृत चिमरिया अमृत चिमरिया
२०७९ माघ ६ गते २०:१६
कार्यक्रममा बोल्दै समुन सायमी

६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी जग्गामा डोजर चलाएको भन्दै स्थानीय आन्दोलित भएका छन् । २८ पुसमा महानगरले ३१ नम्बर वडाको शंखमुलस्थित साहेल महर्जनको निजी जग्गामा डोजर चलाएको भन्दै शुक्रबार राष्ट्रिय सभागृह अगाडि स्थानीयले प्रदर्शन गरेका हुन् ।

महानगरको कदम विरुद्ध ३१ नम्बर वडाको नेवाः दयःदबु, सडक विस्तार पीडित संघर्ष समितिका संयोजक सुमन सायमी सहित स्थानीयले मेयर बालेन साह (बालेन्द्र ) विरुद्ध नाराबाजी गरेका हुन् ।

महानगरले वडा कार्यालयको अनुरोधमा ८ मिटर सडक विस्तार गरेको भन्दै महर्जनको जग्गामा रहेको पर्खाल भत्काएको थियो ।

२८ गते नै सडक विस्तार पीडित संघर्ष समितिका संयोजक सुमन सायमी डोजर रोक्न पुगेपनि नगर प्रहरी प्रमुख राजु पाण्डेले महानगरको निर्णय भन्दै डोजर चलाएको बताउँछन् ।

‘महानगरको निर्णय लिएर आउनुस, विना निर्णय निजी सम्पत्तिमा हस्तक्षेप गर्न पाउँदैन भन्दा उल्टै म माथि नै प्रहरी लगाइयो, सायमी भन्छन् ।

शुक्रबार भएको विरोध प्रदर्शनमा सायमीले भने, ‘महानगर गुण्डागर्दीमा शैलीमा प्रस्तुत भएर डोजर लिएर आउँदा स्थानीय त्रसित छन्, निजी सम्पत्तिमा डोजर चलाउने अधिकार कसैलाई पनि छैन ।’ उनले महानगरको अरु समस्या हल गर्न नसकेपछि डोजर आतंक गर्नु बालेनको लोकप्रिय हुने चाल मात्रै रहेको आरोप लगाए ।

नगर सभामा ‘वाद प्रतिवाद’

महानगरले निजी क्षेत्रमा डोजर लगाएको विषयले सडकमा मात्रै विरोध भएन । शुक्रबार भएको नगरसभाको बैठकमा समितिमा वादविवाद नै भयो ।

नगरसभा सुरु हुने वित्तिकै शंखमुलमा भएको घटनाबारे स्थानीयले जनप्रतिनिधिलाई दिएको पत्र पढेर केही जनप्रतिनिधिले सुनाए । उनीहरुले महानगरले यस विषयमा प्रष्ट्याउनु पर्ने माग गरे ।

त्यसपछि २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जनले शंखमुलमा महानगरको कारण दुर्घटना भएको बताए । ‘यो शहरमा धनी हुनु, जग्गा धेरै हुनु पाप हो ? त्यो जग्गा, फिल्डमा म नै थिएँ । विना सूचना अरुको जग्गा लिन पाइन्छ ?,’ महर्जनले प्रश्न गरे, ‘सार्वजनिक प्रयोजन भएता पनि मुआब्जा त दिनुपर्छ नि ।’

महर्जन त्यतिमै उनी रोकिएन । उनले झोक्किंदै भने, ‘हाम्रो महानगरले नागरिकमा सम्मान गरेको देखिएन, प्रहरी लगाएर डोजर लगाउने कुरा कति न्यायोचित ? निजी जग्गामा नसोधी किन डोजर चलाइयो ?

चिनीकाजी महर्जन

नगरप्रहरी प्रति आक्रोशित हुँदै उनले बर्दी लगाएर आतंक सिर्जना गर्दा नेतृत्वकै बदनाम भएको बताए । ‘मेयरको हिजो जति लोकप्रियता थियो तर आज डोजरले नागरिक आतंक भएको छ, यसले नेतृत्व बदनाम हुँदै छन् ।’ वडाध्यक्ष महर्जनले कुन आधार, विधि प्रक्रियामा टेकेर त्यो काम गरेको स्पष्ट नभएको बताए । उनले प्रश्न गरे, ‘हाम्रो दायित्व हो कि होइन, व्यक्तिको निजी जग्गामा डोजर चलाउँदै जाने हो भने हामी कहाँ पुग्छौं ?, त्यो विषयमा छानबिन होस् ।’

विधिसम्मत गरेका हौं : अधिकारी

केही जनप्रतिनिधि र वडाध्यक्ष महर्जनले प्रश्न गरेपछि मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई जवाफ दिन भने ।

जवाफमा अधिकारीले शंखमुल गणेशमार्गदेखि क्षितिज मार्ग जाने ठाउँमा अनाधिकृत रुपमा संरचना निर्माण र त्यसले कालोपत्रे गर्न पनि असहज भएको भन्दै स्थानीयवासीले नै कारबाहीका लागि महानगरमा निवेदन आएकोले कारबाही गरिएको बताए । उनले भने, ‘३१ नम्बरका वडाध्यक्षको हस्ताक्षर सहित महानगरमा निवदेन प्राप्त भयो, स्वीकृत नभएका हरेक संरचना ९० दिनभित्र हटाउने सार्वजनिक सूचना पहिले पनि दिइसकेको हो । सोही अनुसार कारबाही गरिएको हो ।’

उनले वडा कार्यालयबाट निवदेन आएको र नापी अधिकृतले नापजाँच गरेर एकातिरको भागमा १३ फिट छोडिएको तर अर्का तर्फको भागमा नछोडिएको भन्ने सहितको प्राविधिक सहितको प्रतिवेदन आएको बताए ।

३१ नम्बर वडाकै इन्जिनियर सञ्जय कुमार साहले पनि पुस १८ गते उक्त स्थानको प्राविधिक प्रतिवेदन दिएको र स्थानीय २५ जनाले प्रस्तावित बाटो खोली पाउँ निवदेन दिएको अधिकारीले बताए । जग्गाधनीले समेत उपत्यका विकास प्राधिकरणलाई सोधिएको प्रश्नमा ४ मिटर छोड्नुपर्ने जवाफ दिइसकेको अवस्थामा महानगरले टिप्पणी उठाएर नगर प्रमुख स्तरीय निर्णयबाट डोजर चलेको प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिएका थिए ।

उनले अब सम्बन्धित वडाध्यक्ष सहित छलफल गर्ने बताएका थिए । त्यसपछि प्रतिप्रश्न चिनकाजीले ३१ नम्बर वडाध्यक्षलाई जवाफ दिनुपर्ने बताएका थिए ।

सरोज ढकाल

जवाफमा ३१ नम्बर वडाका वडाध्यक्ष सरोज ढकालले मानवीय संवेदना नभएको कुरामा दुःख व्यक्त गर्दै एकतर्फ ४ मिटर छोडेको तर अर्को तर्फ नछोडेको भएर विकास निर्माण कार्य गर्न नसकेकोले हटाएको स्पष्ट पारेका थिए ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?