+
+

हिउँदे वर्षा नहुँदा डोटीका किसान चिन्तित

रासस रासस
२०७९ माघ ९ गते ११:२०

९ माघ, दिपायल। लामो समयसम्म हिउँदे वर्षा नभएपछि डोटीमा हिउँदेबाली (गहुँ, जौ, मुसुरो) लगायत नगदे बाली सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।

यसवर्ष खडेरीका कारण जिल्लामै गहुँ, जौ, मुसुरो, हिउँदे तरकारीको उत्पादनमा निकै कमी हुने देखिएको बडीकेदार गाउँपालिका–५ का किसान टङ्क रम्तेलले बताए ।

“बारीमा लगाइएको अन्नबाली नफल्ने भएपछि परिवार कसरी पाल्ने चिन्ताले सताउन थालेको छ। समयमा पानी नपरेपछि आधा जमिनमा उनले गहुँ छर्न पनि पाएन् । हिँउदे वर्षा नभएपछि छरेको गहुँ पनि बारीमा उम्रिएन ।

अब भोकमरी हुन्छ की भन्ने डरले सताउन थालेको छ। उनले भने, ‘खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश किसान उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका छन् ।

कृषिमा प्रविधिको प्रयोग बढ्दै जाँदा किसानाई सुविधा पुगे पनि सिँचाइ, मल, बीउ र कृषिका लागि जनशक्तिको भने अभाव देखिएको बडीकेदार-२ का अर्का किसान ललित बडैलाले बताए ।

कतिपय ठाउँमा सिँचाइका लागि पानी भए पनि भौतिक पूर्वाधार नहुँदा सिँचाइ गर्न समस्या भएको छ । हिउँदेबाली खडेरीले सुक्न थालेपछि किसानले सिँचाइको लागि स्थानीय सरकाले उपयुक्त व्यवस्था गर्न नसकेको गुनासो गरिरहेका छन् ।

डोटी खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नहुँदा र आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको ठाउँमा यसपाली हिउँदे वर्षात् नभएकाले किसानको आम्दानी घट्ने अवस्थाले किसानलाई चिन्तित बनाएको छ ।

डोटीमा २२ हजार दुई सय ७६ हेक्टर जमिन खेतीयोग्य रहेकामा हाल १४ हजार दुई सय ९८ हेक्टर जमिनमा गहुँखेती हुँदै आएको छ ।

गतवर्ष समयमै वर्षा भएका कारण २४ हजार तीन सय १४ मेट्रिकटन गहुँ उत्पादन भएको थियो । समयमै वर्षा भएका कारण गत वर्ष उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए ।

पर्याप्त सिँचाइ नहुँदा र हिउँदे वर्षा नहुँदा यसपटक हिउँदेबाली गहुँ, जौ र मसुरोको उत्पादनमा कमी आउने उनको भनाइ थियो।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?