+
+

भारतले लगायो मोदीमाथिको बीबीसी डकुमेन्ट्री प्रसारणमा रोक

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १२:५०
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

काठमाडौं । सन् २००२ को गुजरात दंगाको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वलाई लिएर प्रश्न गर्ने बीबीसीको डकुमेन्ट्री प्रसारणमा भारत सरकारले रोक लगाएको छ । साथै, उक्त डकुमेन्ट्रीको एउटा क्लिप पनि सामाजिक सञ्जालमा सेयर गर्न प्रतिबन्ध लगाइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त डकुमेन्ट्रीले गुजरात दंगामा मोदीको भूमिकाको आलोचना गर्छ । सूचना तथा प्रसारण मन्त्रालयका वरिष्ठ सल्लाहकार कञ्चन गुप्ताले ट्वीट गर्दै बीबीसी डकुमेन्ट्री ‘इण्डिया ः द मोदी क्वेसन’को पहिलो भागका युट्युब भिडियो र उक्त भिडियो लिंक गरिएका ५० भन्दा बढी ट्वीट हटाउन समेत निर्देशन दिएको जनाएका छन् ।

उनका अनुसार इन्टरनेटका ती साम्रगीलाई सन् २०२१ को आईटी नियमअन्तर्गत आपतकालीन शक्तिको प्रयोग गरेर ब्लक गर्न भनिएको थियो । युट्युब र ट्वीटरलाई पनि संयुक्त रुपमा यस्तो निर्देशन दिइएको छ । गत जनवरी १७ मा प्रसारित भएको दुई भागको शृंखलाको वृत्तचित्रको पहिलो एपिसोडले राजनीतिज्ञको रूपमा मोदीको प्रारम्भिक वर्ष र सत्ताधारी हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (बीजेपी)मार्फत उनको उदयलाई चित्रण गरेको थियो ।

मोदी भारतको पश्चिमी राज्य गुजरातको मुख्यमन्त्री हुँदा उक्त साम्प्रदायिक दंगा मच्चिएको थियो र एक हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए । मारिनेमा अधिकांश मुस्लिम थिए । हिन्दू तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा ५९ जनाको मृत्यु भएपछि हिंसा भड्किएको थियो ।

उक्त डकुमेन्ट्रीले पहिलो पटक बेलायत सरकारले सन् २००२ को उक्त दंगालाई लिएर गरेको रिपोर्टको पनि खुलासा गरेको छ । उक्त रिपोर्टले दंगामा ‘जातीय सफायाको सबै विशेषता’ समावेश रहेको डकुमेन्ट्रीले बताएको छ । दंगाको समयमा बेलायतका विदेश सचिव रहेका ज्याक स्ट्रले पनि डकुमेन्ट्रीमा अन्तर्वार्ता दिएका थिए र मोदीविरुद्ध लगाइएको आरोपले उनको प्रतिष्ठालाई कम गरेको बताए ।

उक्त वृत्तचित्र भारतमा हेर्न उपलब्ध छैन । यद्यपि, केही युटयुब र ट्वीटरमा व्यापक रुपमा सेयर गरिएको छ । दोस्रो एपिसोड जनवरी २४ मा प्रसारण हुनेछ ।

भारतीय विदेश मन्त्रालयले उक्त डकुमेन्ट्रीलाई प्रपोगाण्डा गर्ने माध्यम रहेको आरोप लगाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारतीयलाई अपमानित गर्ने किसिमले यस्तो किसिमको प्रपोगाण्डा ल्याइएको बताएका थिए । उनले उक्त डकुमेन्ट्रीलाई पूर्वाग्रह, वस्तुवादको अभाव र निरन्तर औपनिवेशिक मानसिकताको उपज रहेको आरोप लगाएका छन् ।

बेलायतको राज्य प्रसारक बीबीसीले मोदीमाथिको वृत्तचित्रलाई ‘मिहिन ढंगले अनुसन्धान’ गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?