+
+

असुरक्षित पोखरा रंगशाला : ज्यान जान्छ, दिनदहाडै चोरी हुन्छ

विकास रोकामगर विकास रोकामगर
२०७९ माघ १० गते ८:३५

१० माघ, पोखरा । काठमाडौंबाट आएको यती एअरलाइन्सको विमान दुर्घटना भएकै दिन पोखरा रंगशालामै एकजनाको ज्यान जाने गरी अर्को ‘दुर्घटना’ भएको थियो ।

तर, उक्त घटना विमान दुर्घटनाका कारण छायाँमा पर्‍यो ।

विमान दुर्घटना भएकै दिन दिउँसो रंगशाला क्षेत्रमा घाँस काट्न गएका बेला ५९ वर्षीय पूर्णकाजी गुरुङको पनि सेती खोंचमै खसेर मृत्यु भएको थियो । स्रोतका अनुसार गुरुङको रंगशालाको पर्खाल नाघेर सेती डिलमा घाँस काट्दै गर्दा करिब २ सय मिटर तल खोंचमा खसेर मृत्यु भएको थियो ।

स्रोतका अनुसार समयमै उद्धार भएको भए गुरुङको ज्यान बचाउन सम्भव हुन्थ्यो । तर, खेलकुद समितिले ढिलो गरी जानकारी पाउँदा उनको मृत्यु भइसकेको थियो । ‘जानकारी आएपछि म आफैं घटनास्थल पुगेको थिएँ । २ सय मिटर जति तल खसेका रैछन् । जानकारी भएको भए छिटो उद्धार गर्न सक्ने सम्भावना थियो,’ राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरुङ स्वीकार्छन् ।

मान्छेको ज्यानै जाँदा पनि समयमै थाहा पाउन नसक्नुले रंगशालाको सुरक्षा व्यवस्था र व्यवस्थापन छर्लङ हुन्छ ।

पोखरा रंगशालाको व्यवस्थापन तथा सुरक्षामा ध्यान नदिँदा अहिले त्यहाँ भएका अधिकांश शौचालयका धारा चोरी भएका छन् । यसको श्रृंखला २२ औं संस्करणको आहारारा पोखरा गोल्डकपदेखि सुरु भएको थियो । आहारारा पोखरा गोल्डकप खेलका दौरान रंगशालास्थित फुटबल स्टेडियमका शौचालयबाट ११ वटा धाराका टुटी चोरी भएको थियो ।

रंगशाला व्यवस्थापनको जिम्मा खेलकुद परिषद्लाई नै हुन्छ । परिषद्ले खटाएका कर्मचारीले नै मुख्य द्वारसहित अन्य ढोका खोल्ने जिम्मा लिएका हुन्छन् । तर, खेलका दौरान सम्पूर्ण जिम्मेवारी भने आयोजकले नै व्यहोर्नुपर्छ ।

‘आहारारा गोल्डकपको समयमा ११ वटा धाराको टुटी चोरी भएछ । पछि आयोजक सहाराले नै त्यसको खर्च व्यहोर्‍यो,’ सहारा क्लबका प्रतिनिधि सुदर्शन रञ्जितले भने, ‘हराएका टुटी फेरि जडान गर्दा २३ हजार रुपैयाँ जति खर्च लाग्यो ।’

अहिले रंगशालास्थित भलिबल कोर्टमा तेस्रो टाइगर कप सञ्चालन भइरहेको छ । कोर्ट नजिकै रहेका महिला तथा पुरुष दुवै शौचालयबाट पनि २ दर्जन बढी धाराका टुटी गायब छन् । जसका कारण त्यहाँ पुगेका दर्शक तथा आयोजकसमेतले सास्ती खेप्नु परिरहेको छ ।

प्रदेश खेलकुद परिषद्ले त्यहाँ शौचालय बनाइदिएको थियो । त्यहाँ रहेको महिला तथा पुरुष दुवै शौचालयका धाराका टुटी चोरी भइसकेका छन् । रंगशाला व्यवस्थापन पक्षले त्यहाँबाट कहिले धाराका टुटी हराएको भन्ने भेउ नै पाउन सकेको छैन । ‘मैले पनि हिजो (आइतबार)मात्रै चोरी भएको थाहा पाएको हुँ, कहिले चोरी भएको थाहा भएन,’ जिल्ला खेलकुद परिषद्का अध्यक्ष तोरण बानियाँ भन्छन् ।

रंगशालामा भएका अधिकांश बत्तीसमेत रातको समयमा बल्दैनन् । बिजुली बत्तीमै मासिक डेढलाख रुपैयाँभन्दा बढी तिरिरहेको परिषद्ले बिग्रिएका केही बत्तीसमेत मर्मत गर्न सकेको छैन, सीसीटीभी क्यामेरा त टाढाको कुरा ।

‘हामीसँग भएको थ्रीफेज बत्ती हो । त्यो बाले पनि पैसा तिर्नुपर्ने, नबाले पनि तिर्नुपर्ने भएको छ,’ राखेप बोर्ड सदस्य राजेश गुरुङ भन्छन्, ‘अब यहाँ भएका खेलकुद संस्थाहरु मिलेर रातभरि उज्यालो गराउने व्यवस्था मिलाउँदैछौं ।’

चौकीदारको कमी छ, थप्दै छौं : राखेप बोर्ड सदस्य राजेश गुरुङ

राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरुङले पोखरा रंगशालामा अत्याधिक चोरी र तोडफोडका घटना बढ्दै गएको स्वीकारे । उनले यसमा रंगशाला व्यवस्थापन पक्षकोमात्रै नभई इभेन्ट आयोजक, खेलाडी र खेलप्रेमी सबैमा चेतनाको कमी रहेको सुनाए ।

‘१३ औं सागपछि कुन दुखले रंगशाला बनायौं । यो बचाउनुपर्छ भन्ने सबैको दायित्व हो, जिम्मेवारी हो । त्यो बुझिदिएनन्,’ गुरुङले अनलाइनखबरसँग भने, ‘रंगशालामा १७–१८ वटा शौचालय छ । सबैमा केही न केही हराएको छ, कहीं तोडफोड भएको छ ।’

शौचालयको बेसिन, जहाँको धारो चोरी भइसकेको छ । तस्वीर : सुदर्शन रञ्जित/अनलाइनखबर

बोर्ड सदस्य गुरुङका अनुसार रंगशाला हेरचाह गर्न चौकीदारको कमी छ । अहिले रंगशाला व्यवस्थापनका लागि ३ जना कर्मचारी खटिएका छन् । तर, कार्यव्यस्तता अनुसार सबै ठाउँमा हेर्न नभ्याउने भएकाले थप कर्मचारी माग गरिएको उनले जानकारी दिए ।

‘अहिले बिहान ५ बजेदेखि २ बजेसम्म एउटाले त्यसपछि साँझसम्म एउटा र पछि अर्कोले हेर्ने सिफ्ट बनाएका छौं । तर, सबैले सबैतिर हेर्न भ्याउँदैनन्,’ गुरुङले भने, ‘अहिले सदस्य सचिवसँग थप २ जना चौकीदार थप्न माग गरेको छु । छलफल चलिरहेको छ ।’

तत्कालका लागि रंगशालाको सुरक्षाका लागि लाहुरे भर्तीको तयारी कक्षा चलाउने कम्पनीहरुसँग सल्लाह गरिरहेको गुरुङले जानकारी दिए । त्यसबाहेक रंगशाला प्रवेशमा पनि समय तालिकाको नियम बनाउन लागेको उनले सुनाए ।

‘अब जाडोमा ५ र गर्मीमा ७ बजेपछि रंगशाला गेट बन्द हुन्छ । मान्छे आउजाउ गरे पनि सवारी साधन पूर्ण रुपमा बन्द गर्ने भनेका छौं,’ गुरुङले भने, ‘यो सबै रंगशालाको संरचना जोगाउनलाई नै हो । त्यस्तो केही भइहाल्यो भने नजिकै प्रहरी चौकी छ, हामी सहकार्य गर्छौं ।’

रंगशालामा लुकिछिपी घाँस काट्न आउँदा विभिन्न समयमा दुर्घटना भइरहेको भन्दै गुरुङले व्यवस्थापनलाई जानकारी दिएर मात्रै घाँस काट्न जान आग्रह गरे । ‘हाम्रो यहाँ सफा गर्नैपर्छ । त्यसका लागि यहाँको हाकिमसँग अनुमति लिएर जाने हो । गेटमाथि चढेर, तारजाली नाघेर आउन होइन,’ उनले भने ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?