
१० माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलका प्रमुख पूर्णप्रसाद चुडाललाई ८ लाख रुपैयाँसहित पक्राउ गरेको छ ।
८ लाख रुपैयाँलाई अख्तियारले ‘स्रोत नखुलेको नगद’ भनेको छ । घुस दिइएको एक लाख रकम भने फेला परेको छैन ।
चुडाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय, आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख प्रबन्धक हुन् ।
उनले टर्मिनलसम्म आवतजावत गर्न पास उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए । त्यही सूचनाको आधारमा अख्तियारले उनलाई पक्राउ गर्दा घुस र बाँकी अरु रकम बरामद भएको हो । बाँकी रकम उनको कार्यकक्षमा रहेको स्टिलको दराजबाट बरामद भएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार, उनको साथबाट विभिन्न ब्राण्डका ९ बोतल मदिरा बरामद भएको छ । उनले आफ्नो साथमा रहेको बाहेक अरु ४ वटा मोवाइल पनि कार्यालयमा लुकाएर राखेको अवस्थामा भेटिएको छ ।
उनले पास उपलब्ध गराइदिन प्रतिमहिना १० हजार रुपैंयाका दरले घुस मागेको अख्तियारको दावी छ । उनले १५ महिनाको पासका लागि डेढ लाख रुपैया घुस मागेका थिए ।
प्रतिक्रिया 4