+
+
गण्डकीमा माओवादीका चलाख जुग्जाली :

गाउँपालिकामा हारे पनि प्रदेशमा मन्त्री

अमृत सुवेदी अमृत सुवेदी
२०७९ माघ १० गते १९:१३

१० माघ, पोखरा । नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनको भागबण्डामा म्याग्दीको एकमात्र प्रतिनिधिसभा सिट नेकपा (माओवादी केन्द्र) र प्रदेश सभाका दुवै क्षेत्र कांग्रेसले लिने सहमति भएको थियो । त्यसअनुसार, माओवादीले आफ्नो म्याग्दी जिल्ला इञ्चार्ज गोविन्द पौडेललाई उम्मेदवार बनाउने भयो ।

त्यो खेलमा आफ्नो पत्ता फाल्ने ताकमा बसेका माओवादीका अर्का जिल्ला नेता रेशम जुग्जाली ‘सविन’ले केन्द्रबाट तय भएको भन्दा फरक बाटोबाट अगाडि बढ्दा दुबै दलले जित्ने हिसाब सुनाए । म्याग्दी जिल्ला संयोजक रहेका उनी वैशाखको स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्षमा हारेर बसेका थिए ।

उनले संघमा कांग्रेस र प्रदेश सभाका २ क्षेत्रमा माओवादीबाट उठ्दा तिनवटै सिटमा जित सुनिश्चित हुने आफ्नो चुनावी गणितमा पौडेललाई पनि मनाए । अनि पौडेलको ठाउँमा कांग्रेसका खम्वीर गर्बुजा, म्याग्दी १ (क) मा आफू र २ (ख)मा हरिबहादुर भण्डारीको लागि टिकट मिलाए ।

नभन्दै, म्याग्दीमा जुग्जालीले भनेजस्तै भयो । प्रदेशका दुबै सिट माओवादीले जित्यो भने प्रतिनिधिसभामा २३ वर्षपछि कांग्रेसले जित्यो । म्याग्दीमा उनी दूरदृष्टि राख्ने चलाख नेताको रुपमा चर्चित भए । उनै जुग्जाली अहिले गण्डकी प्रदेशको मन्त्रीसमेत बन्न सफल भएका छन् ।

‘जुग्जाली युवा पनि हुन्, केही गर्न सक्ने खुबी पनि उनीसँग छ । उनी पार्टीबाट मन्त्री बन्दा माओवादीले भरोसा पनि गरेको छ,’ माओवादी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले भनिन्, ‘उनी माओवादीभित्र लोकप्रिय पनि थिए । भागबण्डा मिलाएर गठबन्धनका दुबै दललाई जिताएर उनी आफैं पनि सांसद बन्न पनि सफल थिए ।’

जुग्जालीलाई सोमबार नै मुख्यमन्त्री खगराज अधिकारीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको चाबी सुम्पिएका छन् ।

जुग्जाली माओवादीभित्र देव गुरुङ र वर्षमान पुन निकट छन् । उनी जनार्दन शर्माबाट पनि टाढा छैनन् । उनी २०७० सालमा मोहन वैद्य नेतृत्वमा देव गुरुङहरुसँगै माओवादीबाट अलग भएर निर्वाचन बहिष्कारमा लागेका थिए ।

२०७४ सालको स्थानीय तह चुनावमा मालिका गाउँपालिका–७, बिमको वडाध्यक्षमा स्वतन्त्र उमेद्वारी दिएका जुग्जाली प्यानलसहित विजयी भएका थिए । माओवादी छाडेका तर सशत्र संघर्षमा लडेकाहरुलाई स्थानीय तह चुनाव उठाउन उनले अभियान नै चलाएका थिए ।

५ वर्ष वडाध्यक्ष भएपछि गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धा गरेका जुग्जाली एमालेका वेदप्रसाद गुरुङसँग करिब हजार मतले पराजित भएका थिए । नेकपा विभाजनपछि उनी माओवादीमै सक्रिय भएका थिए । गाउँपालिकामा हार बेहोरेको ७ महिनामै चलाखीपूर्ण हिसाबले टिकट मिलाएर गण्डकी प्रदेशको सांसद बनेका उनी माओवादीका अन्य आकांक्षीलाई पछि पार्दै मन्त्री समेत बनेका छन् ।

कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन रहेको भए पनि मन्त्री बन्ने व्यक्तिको सूचीमा उनी सुरुदेखि नै चर्चामा थिए । माओवादीबाट गोरखाका सुशील सिम्खडा अन्तिमसम्म मन्त्री बन्ने कसरतमा थिइन् । माओवादीको चुनाव चिह्नबाट विजयी फणिन्द्र देवकोटा पनि मन्त्री बन्ने लाइनमा अन्तिमसम्म थिए । तर, बाजी जुग्जालीले मारे ।

जुग्जालीका सहकर्मीहरुका अनुसार, उनमा एउटा खासियत छ– कुनै कुरामा लागेपछि फत्ते नहुँदासम्म लागेको लाग्यै गर्ने । म्याग्दीमा उनी कडा अभिव्यक्तिका कारण पनि बढी चिनिन्छन् । जुग्जालीको दाजुभाइ २०५७ सालदेखि माओवादीको जनयुद्धमा लागेका थिए । त्यही क्रममा २०५८ मा उनले दाइ गुमाए ।

२०५६ मा अनेरास्ववियु क्रान्तिकारीको इकाइ अध्यक्षबाट राजनीतिमा तानिएका जुग्जाली ०५९ मा माओवादीको इलाका सेक्रेटरी, ०६० मा जिल्ला सदस्य, ०६२ मा जनमुक्ति सेनाको कम्पनी कमिसार बनेका थिए । उनलाई म्याग्दीमा चर्चित भने माओवादी शान्ति प्रक्रियामा आएपछि ०६३ सालमा वाईसीएल जिल्ला अध्यक्षको रुपमा गरेका गतिविधिले बनायो । कुनै पदमा बस्नै पर्ने स्वभावको भनेर पार्टीभित्र उनी आलोचित पनि छन् ।

म्याग्दीमा माओवादीलाई बलियो बनाएका जुग्जाली स्थानीयस्तरमा समस्या पर्दा समाधान गर्न तम्सिने नेता हुन् । जुझारुपन र सक्रियता भएका उनी अब गण्डकी प्रदेश सरकारमा कसरी प्रस्तुत होलान्, हेर्ने दिन सुरु भएको छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?