+
+

कसरी हुर्काउने हंशराज फूल ?

कुमार कसजू कुमार कसजू
२०७९ माघ १२ गते १७:२९

हाइड्रेन्जिया अर्थात् हंशराज फूल विभिन्न रंगमा फुल्छ । यो फूलको एउटा अनौठो गुण हुन्छ, जसले माटोको अम्लीयपनबारे जनाउ दिन्छ । माटोको अम्लीयपन अनुसार हंशराज फूलले रंग बदल्ने गर्छ । त्यसैले यो थरीथरी रंगमा फुलेको देखिन्छ ।

माटोको अम्लीयपन उच्च भएको ठाउँमा यसको रंग गाढा हुन्छ भने अम्लीयपन कम भएको ठाउँमा फिका हुन्छ । यस फूल धेरै प्रजातिको भए पनि नेपालको स्थानीय जातमा चार रंगको फूल देखिन्छ । स्थानीय जातमा गाढा र फिका गुलाबी, सेतो र प्याजी रंगमा देख्न सकिन्छ । स्थानीय जातका हंशराज फूलो ठूलो र बढी फैलिने खालको हुन्छ । हाइब्रिड फूल भने सानो र कम फैलिने हुन्छ ।

स्थानीयसँगै आयातीत हाइब्रिड र कट गरिएका फूलहरु देख्न सकिन्छ । प्रायः बिरुवाहरु नेदरल्याण्ड्सबाट आयात हुन्छ ।

कसरी रोप्ने ?

यो फूलको बोटको जरा धेरै र कडा खालको हुन्छ । जसकारण प्रशस्त मात्रामा मल चाहिन्छ । मलमा कम्पोस्ट मल प्रयोग गर्न सकिन्छ । यो फूल चिस्यान माटो उपयुक्त हुने भएकाले वर्षायाममा रोप्न सकिन्छ ।

त्यस्तै फूललाई सप्रिन आवश्यक पर्ने फस्फोरसका लागि बोन मिल र नाइट्रोजनका लागि पिनाको प्रयोग गर्न सकिन्छ । माटोमा कम्पोस्ट मल बढी भएको र मलिलो माटो उचित हुन्छ । माटो र कम्पोस्ट मल बराबर मिसाएर मलिलो बनाउन सकिन्छ ।

रुखो माटोमा सप्रिन कठिन हुन्छ । सानो गमलामा फूल स्वस्थ हुन नसक्ने हुँदा १० इन्चमाथिको गमलामा रोप्नुपर्छ । यो गर्मीमा हुर्कन गाह्रो हुने भएकाले तराईमा कम र मध्ये पहाड  र पहाडी क्षेत्रमा राम्रोसँग हुर्किन्छ । उक्त फूल ८०० मिटर उचाईभन्दा माथि २ हजार १०० मिटरसम्म फुल्न सक्छ ।

यो फूललाई एकपटक पानी दिनुपर्छ । तर बर्खामा पानी परिरहने भएकाले पानी त्यति आवश्यक हुँदैन ।

कसरी सार्न सकिन्छ ?

यो बिरुवा अन्यत्र रोप्न बिरुवाकै जरा छुट्टाएर रोप्न सकिन्छ । अर्को तरिका भनेको वर्षाको मौसममा नरम हाँगा काटेर पनि सार्न सकिन्छ ।

यसको पुरानो बिरुवा गमलामा राम्रोसँग नफुल्ने भएकाले सकेसम्म नलगाएको उचित हुन्छ । नयाँ हाँगा वा नयाँ बिरुवा भने गमलामा रोप्दा पनि राम्रोसँग फुल्न सक्छ ।

कुन दिशा वा कस्तो ठाउँमा राख्नु उचित ?

यो फूल आउटडोर प्लान्ट भएको कारण घर वरपर वा छतमा रोप्न सकिन्छ । तर आधा घाम र आधा छाया पर्ने ठाउँ पारेर घरको उत्तरतर्फ घरको छाया र रुखको छाया पर्ने ठाउँमा यो फूल लगाउनु उचित हुन्छ ।

के कस्तो रोग लाग्छ ?

हंशराज फूललाई कीराहरुबाट जोगाउन जरुरी छ । फूलको बोटमा सबैभन्दा बढी देखिने रोग भनेको सेतो धुलो ढुसी हो । यो लागेपछि पातमा सेतो दाग जस्तो देखिन्छ । पातको सतह सेतो हुँदै गएपछि फुल्न सक्दैन ।

यस्तो अवस्थामा फंगिसाइड छर्कनुपर्छ । त्यसको लागि नेटिबोजस्ता औषधि बजारमा उपलब्ध छन् । दुई लिटर पानीमा एक ग्राम नेटिबो हालेर त्यसको घोल स्प्रे गर्न सकिन्छ ।

अर्को, भनेको बोट्राइटिस ब्लाइट भन्ने रोग पनि फूलमा देख्न सकिन्छ । यस्तो भएमा फंगीसाइड्स औषधि हाल्न सकिन्छ । साथै संक्रमित पातहरु निकाल्नुपर्छ । त्यस्तै, उक्त बोटमा लाइ कीरा र एक सिङ भएको मोटो र लामो कीरा अत्यधिक लाग्छ । त्यसलाई मार्न विषादीहरु पाइन्छ । सो विषादी एक लिटर पानीमा दुई एमल हाल्न सकिन्छ ।

कस्तो छ बजार भाउ ?

यो फूल स्थानीय बिरुवा, बाहिरबाट आयात हाइब्रिड बिरुवादेखि कट फ्लावरको रुपमा पनि बिक्री वितरण हुने गरेको छ । फूलको बोटको आकारप्रकार र गुणस्तर अनुसारको बजार मूल्य छन् । जसमा प्रतिबोटको १५० देखि एक हजार रुपैयाँसम्म यसको मूल्य पर्न जान्छ ।

(कसजू काठमाडौं नर्सरीका सञ्चालक हुन् । उनीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?