१३ कात्तिक,बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१६ बैठौलियामा माइक्रोबसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
बुटवलबाट सूर्यपुरातर्फ जाँदै गरेको लु १ ख ४७४९ नम्बरको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिंदा साइकलमा सवार बुटवल–१६ की पार्वती चौधरीकी छोरी दुई वर्षिया कृति चौधरीको मृत्यु भएको हो ।
माइक्रोबसको ठक्करबाट गम्भीर घाइते चौधरीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएकोमा
चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि आक्रोशित स्थानीयवासीले उक्त माइक्रोबसमा तोडफोड र आगजनी गरेका छन् ।
इलाका प्रहरी कार्यालय मुर्गियाबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले जानकारी दिए ।
ठक्कर दिने माइक्रोबस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4