+
+

कांग्रेसलाई प्रचण्डले दिएको स्पेस

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते २३:२६

१२ माघ, काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रस्ताव पार्टी स्थायी कमिटीमा राखेका छन् ।

बिहीबार पार्टी कार्यालय, पेरिसडाँडामा बसेको बैठकमा प्रचण्डले समसामयिक विषयमा ब्रिफिङ गर्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे नेताहरुको धारणा समेत मागेका छन् ।

नेपाली कांग्रेसले पनि विश्वासको मत दिएकाले कसरी जाने भनेर एमाले र अरु दलहरुसँग सम्वाद भइरहेको प्रचण्डले बताएका छन् । ‘कांग्रेस र एमालेको अडानहरु सबै बाहिर आएकै छन्’ एक स्थायी कमिटी सदस्य भन्छन्, ‘अध्यक्षले त्यही ब्रिफिङ गर्नुभयो, र हाम्रो प्रयत्न राष्ट्रिय सहमति खोज्नेतर्फ हुने बताउनुभयो ।’

यद्यपि गठबन्धनलाई तलमाथि गर्नेबारे आफ्नो कुनै सोच नभएको उनले बताएका छन् । विगतमा पार्टी एकता भएर पनि विघटन भएको पृष्ठभूमिमा यो सरकार बनेको भन्दै उनले यो गठबन्धन टिकाउने र अर्को चुनावसम्म लैजान प्रयत्न गर्ने बताए ।

तर कांग्रेसले विश्वासको मत दिएपछि आफ्नो सरकार राष्ट्रिय सहमतिको भएको भन्दै उनले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति गर्न पाए राजनीतिक स्थिरता कायम हुने धारणा राखे । ‘यो उहाँको सदीक्षा हो, तर यसो गर्यो भने राष्ट्रिय सहमति हुन्छ भनेर उहाँले ठोस रुपमा भन्नुभएको छैन’ एक नेताले सुनाए ।

आफूहरुले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्छ भन्दा कांग्रेस नेताहरु हौसिएको र सत्तारुढ एमाले नेताहरुमा संशय पैदा भएको माओवादी नेताहरु स्वीकार्छन् ।

१० पुसमा सरकार गठनका लागि राष्ट्रपति कार्यालयमा दाबी पेश गर्न जानुअघि एमाले र माओवादीका शीर्ष नेताहरुबीच राष्ट्रपति एमालेले लिने र प्रधानमन्त्री तथा सभामुखमा आलोपालो गर्ने सहमति भएको थियो । त्यसअनुसार ११ पुसमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भए भने ५ माघमा एमालेका देवराज घिमिरे सभामुख चुनिए । सत्ता गठबन्धनको भागबण्डाअनुसार नै उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर चुनिएकी छन् ।

गठबन्धनमा आवद्ध दलहरुले सातै वटा प्रदेशमा मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरु भागबण्डा गरेका छन् । ७ मध्ये चार प्रदेश सरकारको नेतृत्वले एमाले गर्दा माओवादी केन्द्रले २ प्रदेशको मुख्यमन्त्री लिएको छ ।

तर प्रधानमन्त्री पद छाड्न नमान्दा सबैतिर सत्ता गुमाएको कांग्रेसले २६ पुसमा विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति भन्न थालेका छन् । ‘राष्ट्रपति साझा पद हो, प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिएजस्तै राष्ट्रपति पनि साझा रुपमा चुन्नुपर्छ’ माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल भन्छन्, ‘संविधानको संरक्षणका लागि पनि साझा व्यक्ति आवश्यक छ ।’

माओवादीले राष्ट्रिय सहमति खोज्न प्रस्ताव  गर्दा कांग्रेस नेताहरु भने हौसिएका छन् । विश्वासको मत दिने क्रममा कांग्रेस नेताहरुले पनि प्रचण्डसँग सम्वाद बढ्ने र राष्ट्रपति निर्वाचनसम्म पुग्दा परिस्थिति अनुकूल हुनसक्ने दाबी गरेका थिए । बिहीबार अन्तिम समयमा पूर्वनिर्धारित पार्टी केन्द्रीय कार्य समिति बैठक अनिश्चितकालका लागि सभापति शेरबहादुर देउवाले स्थगित गर्नुलाई पनि राष्ट्रपति चुनावसँगै जोडेर हेरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले दिइरहेको अभिव्यक्ति र लिएका पहलकदमीलाई लिएर कांग्रेस नेतृत्वमा विश्वासको मतको बदला राष्ट्रपतिको चुनावमा सहयोग पाउने आशा बढेको अनुमान लगाउन सकिन्छ । ३ माघमा मा प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरुको बैठक बोलाउनु र त्यो बैठक कांग्रेस समेत सहभागी हुने परिस्थिति बन्नुलाई देउवाले अनुकूल अवस्था निर्माणका रुपमा बुझेको देखिन्छ ।

नेताहरुका अनुसार, कांग्रेस सकेसम्म एमाले समेतको सत्ता गठबन्धन भत्काउन चाहन्छ र चुनावअघि बनेको गठबन्धन फर्काएर केन्द्रदेखि प्रदेशसम्म सत्तामा आउन चाहन्छ । यदि प्रचण्ड गठबन्धन बदल्न तयार नभए राष्ट्रपतिमा आफ्नो दलको उम्मेदवारलाई सहयोग गरोस् भन्ने चाहन्छ । त्यो पनि नभए राष्ट्रपति एमालेले नपाउने अवस्था बनाउन सके सत्ताको खेल कुनै पनि बेला आफ्नो अनुकूल बन्न सक्ने कांग्रेस नेताहरुको बुझाइ छ ।

माओवादी नेताहरु भने प्रचण्डले भनेको राष्ट्रिय सहमति एमाले बाहेकको नभएको तर्क गर्छन् । ‘राष्ट्रिय सहमति बन्दै जान्छ भने प्रधानमन्त्रीले पहल लिनुलाई अस्वाभाविक रुपमा हेर्नु हुन्न’ स्थायी कमिटी सदस्य प्रह्लाद बुढाथोकी भन्छन्, ‘तर एमाले सहमत नभई राष्ट्रिय सहमति बन्दैन, त्यसमा तलमाथि हुने कुरै छैन ।’

कतिपयले एमाले र कांग्रेसले एकअर्कालाई स्वीकार नगर्ने अवस्थामा माओवादी केन्द्रले राष्ट्रपतिमा आफ्नो उम्मेदवार अघि सार्न खोजेको अनुमान गर्ने गरेका छन् ।

हाल नेपाल समाजवादी पार्टीको अध्यक्ष रहेका डा. बाबुराम भट्टराईको नाम पनि चर्चामा छ । कतिपयले भने प्रचण्डले गैरराजनीतिक व्यक्ति पनि अघि सार्नसक्ने दाबी गर्छन् । १० पुसमा कांग्रेस नेतृत्वको गठबन्धन भत्किनुअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच भएको वार्ताका क्रममा पनि राष्ट्रपतिमा गैरराजनीतिक व्यक्तिको चर्चा भएको दाबी गर्नेहरु छन् ।

यस्ता व्यक्तिमध्ये मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको नाम सबभन्दा अगाडि आउने गरेको छ । स्रोत भन्छ, ‘हिजो मन्त्रिपरिषद् अध्यक्ष बनाउने बेला पनि उनलाई प्रचण्डले नै अघि सारेका थिए । सबै दलले स्वीकार गरेपछि सरकारको नेतृत्व गरे । अहिले पनि त्यो अवस्था नआउला भन्न सकिन्न ।’

एमालेले भने राष्ट्रिय सहमति गरे पनि आफूले अघि सार्ने उम्मेदवारका नाममा हुनुपर्ने बताएको छ । एमाले नेताहरु विपक्षीलाई खेल्न ठाउँ नदिन समेत आग्रह गर्छन् । ‘सहमतिको आधारमा प्रधानमन्त्री बन्नुभएकाले अहिले उहाँले सत्ता गठबन्धनभित्र शंका आशंका पैदा हुने, विपक्षीहरुले खेल्न मौका पाउने र मुलुकको राजनीतिक भविष्यबारे अन्योल हुने कुनै पनि अभिव्यक्ति, क्रियाकलाप र निर्णय गर्न मिल्दैन,’ एमाले उपमहासचिव प्रदीप ज्ञवाली भन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?