+

कहाँ पुग्यो क्रिकेट प्रशिक्षक मोन्टी देशाईको नियुक्ति प्रक्रिया ?

२०७९ माघ  १३ गते २०:३९ २०७९ माघ १३ गते २०:३९
कहाँ पुग्यो क्रिकेट प्रशिक्षक मोन्टी देशाईको नियुक्ति प्रक्रिया ?

१३ माघ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको महत्वपूर्ण शृंखला आउन लगभग दुई साताको समय बाँकी रहँदा नेपाल राष्ट्रिय क्रिकेट टिम प्रशिक्षकबिहीन छ ।

२९ मंसिरमा मनोज प्रभाकरले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए । नेपाल क्रिकेट संघ क्यानले उनको स्थानमा मोन्टी देशाईलाई नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि नेपाली क्रिकेटसँग जोडिएका देशाईलाई प्रमुख प्रशिक्षक बनाउने निर्णय गरेर राष्ट्रिय खेलकुद परिषद राखेपमा पठाएको छ ।

मंगलबार राखेप पुगेको त्यो फाइल अझै युवा तथा खेलकुद मन्त्रालय पठाइएको छैन । मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पुगेर निर्णय भएपछि बल्ल देशाईको नियुक्तिले औपचारिकता पाउनेछ । जबकी लिग टू अन्तरगतको स्कटल्याण्ड र नामिविया सम्मिलित त्रिकोणात्मक शृंखला २ फागुनमा त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सुरु हुनेछ ।

तीन वर्षे लिग टू शृंखलाको अन्तिम १२ खेल बाँकी रहेको अवस्थामा यही वर्ष भारतमा हुने एकदिवशीय विश्वकपका लागि ग्लोबल क्वालिफायरमा स्थान बनाउन र एकदिवशीय मान्यता कायम राख्न नेपालले अधिकांश खेल जित्नुपर्ने छ ।
तर (१३ माघ) शुक्रबारसम्म क्यानले राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्न सकेको छैन, मुख्य प्रशिक्षक पनि नियुक्त भइसकका छैनन् । ‘लिग टूको शृंखला नजिकिँदो रहँदा हामी पनि चिन्तित छौं । तर अबको निर्णय हाम्रो हातमा छैन,’ क्यान अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘राखेप र मन्त्रालयले छिटो काम गरिदिए हुन्थ्यो ।’

राखेपको संघ संस्था समन्वय शाखा प्रमुख चन्द्र राईका अनुसार प्रशिक्षक नियुक्तिको प्रारम्भिक सहमतिका लागि क्यानबाट आएको पत्र राखेपमा छ । केहि प्रक्रिया पूरा नभएका कारण मन्त्रालयमा पठाइएको छैन । खेलकुद मन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैंले लिएका छन् । मन्त्रालयले निर्णय गरेर मन्त्रिपरिषदमा लगेपछि मात्र नेपालको मुख्य प्रशिक्षक नियुक्ति हुनेछ ।

‘नेपाल खेलकुद विकास ऐन १७ असार २०७७ मा जारी भएको हो । ऐन जारी भएपछि पनि तीन जना विदेशीले नेपाली क्रिकेटको प्रमुख प्रशिक्षक भएर काम गरिसकेका छन् । तर उनीहरुको नियुक्तीमा क्यानले राखेप हुँदै मन्त्रिपरिषदको सिफारिस कहिल्यै मागेको थिएन । ‘आफू बलियो हुँदा क्यानलाई अहिलेसम्म सरकार चाहिएको थिएन । अहिले नेपाल टी–२० लिगको विवादले उनीहरु रक्षात्मक बनेका छन्,’ राखेपका एक अधिकृतले अनलाइनखबरसँग भने ।

खेलकुद ऐनको दफा ४४ (१)मा राष्ट्रिय खेल संघले विदेशी सरकार, अन्तर्राष्ट्रिय संस्था, विदेशी संस्था वा व्यक्तिसँग सम्झौता गर्दा राखेपमार्फत सरकारको स्वीकृति लिनुपर्ने उल्लेख छ । त्यस्तै राखेप कार्यकारी समितिको काम, कर्तव्य र अधिकारसम्बन्धी दफा १५ (ञ) मा खेलाडीको स्तरवृद्धिका लागि विदेशबाट प्रशिक्षक झिकाउँदा मन्त्रालयको पूर्व स्वीकृति लिनुपर्ने उल्लेख छ ।

सन् २०१८ मा एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपाल ७ वटा एशोसियट देशहरुबीचको तीन वर्ष लामो शृंखलामा समावेश भएको हो । कोरोना महामारीले प्रभावित यो तीन वर्षबीचमा नेपालले अहिलेसम्म २४ खेल खेलेको छ । तर, नतिजामा कमजोर छ । नेपालले २४ मध्ये ८ खेलमात्र जितेको छ । १८ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । शृंखलाका शीर्ष तीन टिमले एकदिवशीय विश्वकपका लागि ग्लोबल क्वालिफायर खेल्न पाउनेछन् । कम्तिमा शीर्ष पाँचमा रहँदा पनि एकदिवशीय मान्यता कायम राख्न सकिने विश्वास छ । यसबारे आईसीसीले आधिकारिक जानकारी दिएको छैन ।

ग्लोवल क्वालिफायरमा स्थान बनाउनका लागि नेपालले तीनवटा त्रिकोणात्मक शृंखलामा खेल्ने १२ मध्ये कम्तिमा ९ खेल जित्नुपर्नेछ । नेपालले स्कटल्याण्ड र नामिवियासँगको शृंखला पछि यूएई र पपुवा न्यूगिनी (पीएनजी)सँगको शृंखला पनि नेपालमै खेल्नेछ ।

नेपाल टिमका प्रशिक्षक मनोज प्रभाकरले नियुक्त भएको चार महिनामै गत २९ मंसिरमा राजीनामा दिएपछि प्रमुख प्रशिक्षक पद रिक्त छ । नयाँ प्रशिक्षक नियुक्तिका लागि क्यानको प्रशिक्षक छनोट समितिले २४ पुसमा एक साताको समय दिएर आवेदन आह्वान गरेको थियो । क्यान सचिव प्रशान्तविक्रम मल्लको नेतृत्वको पाँच सदस्यीय यो समितिमा आईसीसीका प्रतिनिधि पनि समावेश छन् ।

नेपाल टिमको प्रशिक्षक बन्न आवेदन दिएका २४ जनासँग ४ माघमा अन्तर्वार्तापछि पाँच जनालाई सर्टलिष्टमा राखिएको थियो । जसमा भारती प्रशिक्षक मोन्टी देशाई, नेपालकै पूर्व प्रशिक्षक अस्ट्रेलियाली डेभ ह्वाटमोर, श्रीलंकाका महान बलर धम्मिका प्रसाद, बंगलादेश क्रिकेट टिमका निवर्तमान प्रमुख प्रशिक्षक दक्षिण अफ्रिकी रसेल क्रेग डोमिंगो र न्युजिल्याण्ड टी–२० टिमका पूर्व प्रमुख प्रशिक्षक ग्लेन पोकनलले आवेदन दिएका थिए ।

क्यानले नेपाल टिमको नयाँ प्रशिक्षकबाट लामो योगदानको अपेक्षालाई आफ्नो बटमलाइन बनाएको थियो । पछिल्ला चारजना प्रशिक्षकमा कुनैले पनि आफ्नो सम्झौता अवधि पूरा नगरी बाहिरिएकोमा क्यान दिक्क भइसकेको थियो । नेपाली क्रिकेटलाई लामो समयदेखि बुझेको, ब्याटिङ सुधारका लागि प्रष्ट मार्गचित्र भएको र पारिश्रमिकमा पनि सहमति भएपछि मोन्टीको आगमन निश्चित भएको हो ।

नेपाल टिमका पछिल्ला चार प्रमुख प्रशिक्षक

२०७९ साउन २३ देखि २०७९ मंसिर २९ मनोज प्रभाकर
२०७८ मंसिर २५ देखि २०७९ साउन ४ पुवुदु दासानायके
२०७७ पुस २ देखि २०७८ भदौ ११ डेभ ह्वाटमोर
२०७६ जेठ १७ देखि २०७६ माघ २९ उमेश पटवाल

नेपाल क्रिकेट संघ मोन्टी देशाई

धेरै कमेन्ट गरिएका

लेखक
कुशल तिमल्सिना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय