+
+

महराको ब्रिफिङ : विप्लवले पार्टी एकता गर्न आनाकानी गरे

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते २१:१७

१३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ले माओवादीसँग पार्टी एकता गर्न अस्वीकार गरेका छन् ।

माओवादीले बनाएको वार्ता टोलीका संयोजक रहेका उपाध्यक्ष कृष्णबहादुर महराले यसबारे स्थायी समिति बैठकमा ‘ब्रिफिङ’ गरेका हुन् ।

बैठकमा पार्टी एकता सम्बन्धी प्रतिवेदन समेत पेश गर्दै महराले भनेका थिए, ‘विप्लवले नकारात्मक जवाफ दिनु भएन, हुन्छ पनि भन्नु भएन । धेरै कुरा गर्न आनाकानी गर्नुभयो ।’

२३ पुसमा माओवादी केन्द्रले महराको नेतृत्वको पाँच सदस्यीय कार्यलदल बनाएको थियो । कार्यदल संयोजकका हैसियतमा महरा विप्लवलाई भेट्न २९ पुसमा कपिलवस्तुको शिवगढीमै गएर भेटेका थिए ।

विप्लवले आफ्नो गृहनगर शिवगढीमै आफ्नो पार्टीको कार्यालय समेत बनाएका छन् । त्यही उनले ‘कम्युन’ सञ्चालन गरेका छन् ।

विप्लव कुनै बेला माओवादी सशस्त्र युद्धका बलियो सारथी रहेका थिए । तर, शान्ति प्रक्रियामा आएपछि विप्लव प्रचण्डसँग उतिसारो खुसी थिएनन् । पार्टी संसदीय भासमा डुबेको भन्दै २०६९ मा मोहन वैद्यले पार्टी फुटाएपछ उनी पनि वैद्यहरु सँगै गएका थिए ।

महराले अन्य पार्टीसँगको एकता वार्ताबारे समेत बैठकमा जानकारी गराएका थिए । उनले बाबुराम भट्टराईको नेपाल समाजवादी, एकीकृत समाजवादी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी केन्द्रसँग एकताका लागि छफल गरेका तर निष्कर्षमा पुग्न नसकिएको जानकारी गराएका थिए ।

त्यस्तै जनता समाजवादी पार्टीसँग कार्यगत मोर्चाका लागि छलफल भएको बताएका थिए। ‘केही पार्टीसँग छलफल सुरुवात भएको छ, अन्तिम निष्कर्षमा पुगिएको छैन,’ बैठकपछि महराले भने, ‘बाबुराम भट्टराईको पार्टी, एकीकृत समाजवादीसँगले बनाएको वार्ता टोलीसँग वार्ता गरेका छौं। व्यक्तिगत रुपमा अरु पार्टीसँग पनि छलफल चलिरहेको छ ।’

भट्टराई नेतृत्वको नेपाल समाजवादीसँग एकता नजिक पुगेको माओवादीले अन्य पार्टीसँग एकता सम्भव नभए मोर्चा बनाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?