+
+

पार्किङ बन्द गरेपछि सुनसान भयो दरबारमार्ग

अमृत चिमरिया अमृत चिमरिया
२०७९ माघ १५ गते २०:३२

१५ माघ, काठमाडौं । चितवनका दीपक ढकाल किनमेलका लागि प्राय दरवारमार्ग आउँछन् । गत आइतबार पजेरो चढेर आएका उनले सधैं जस्तै नियमित जुत्ता किन्दै आएको पसल अगाडि गाडी रोके । तत्काल ट्राफिक प्रहरी सिठ्ठी फुक्दै आयो, त्यसपछि दीपक गाडी नरोकी अगाडी बढे ।

दरवारमार्ग आसपास पार्किङको खोजीमा उनले एक चक्कर लगाए तर, पार्किङ भेटेनन् । शुक्रबार अनलाइनखबरसँग दीपकले भने ‘दरबारमार्गमा गाडी रोकेर सामान किन्न सक्ने वातवरण रहेनछ, यतिक्कै र्फकनुपर्‍यो ।’ पार्किङ हटाउँदा सर्वसाधारण समस्यामा परेको उनले बताए ।

काठमाडौं महानगरपालिकाले ट्राफिक प्रहरीसँग मिलेर १९ पुसदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ ।

दरबारमार्ग विकास बोर्डका अनुसार ५ लेनको सडकमा दुईतर्फी दुई/दुई लेन सडक छाडेर एकतर्फ एक लेनमा पार्किङ राखिँदै आएको थियो । तर पहिले पार्किङ खुला रहेकेा क्षेत्रमा बन्द गरिएपछि दरबारमार्ग क्षेत्रमा अहिले निजी गाडी, मोटरसाइकल लिएर किनमेल गर्न जानेहरुको समस्या दीपकको जस्तै छ ।

दरबारमार्ग वरपर पार्किङको अन्य विकल्प पनि नभएकाले गाडी वा मोटरसाइकल चढेर दरबारमार्ग जानेहरुले पार्किङमा ठूलो झमेला व्यहोर्नुपरेको छ । पार्किङ समस्याका कारण दरबारमार्ग क्षेत्रमा मानिसहरु कम आउन थालेका व्यापारीहरु बताउँछन् ।

दरबारमार्गमा फेन्सी पसल चलाउने आकृति पन्थका अनुसार अहिले पसलमा ग्राहक घटेको छ । आउनेहरुले पनि पार्किङ गर्न समस्या परेको सुनाउने गरेका छन् । ‘पहिले ३-४ जनासम्म कर्मचारी व्यस्त हुने पसलमा अहिले काम नै नपाएको स्थिति छ’ उनले भनिन् ।

ज्वेलरी पसल सञ्चालन गर्दै आएका सुयोग सुनारले दरबारमार्गबाट पसल नै सार्नुपर्ने स्थिति रहेको गुनासो गरे । ‘गत असारबाट विस्तार गरेको थिएँ, डिजाइनमा लाखौं खर्च गरियो तर अहिले मान्छे नै आउँदैनन्’ सुनारले भने ‘पार्किङ दिँदा पनि यहाँ जामको समस्या थिएन । महानगरले किन रोकेको थाहा छैन ।’

आन्दोलनको तयारी

दरबारमार्ग विकास बोर्डका पूर्वअध्यक्ष गोपाल कक्षपतिले पार्किङ तत्काल कायम नगरे काठमाडौं महानगरपालिकाविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । ‘बोर्डले विगत लामो समयदेखि दबारमार्ग क्षेत्रमा वडा कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा सडकको एक लाइनमा पार्किङ गर्दै आएको थियो, त्यहाँ एक लाइन पार्किङले ट्राफिक व्यवस्थापनमा कुनै समस्या थिएन’, कक्षपतिले भने ।

दरबार मार्गका पुराना व्यवसायी समेत रहेका कक्षपतिले व्यवस्थित रूपमा पार्किङ भइरहेको बेलामा महानगरपालिकाले एक्कासी बन्द गरेको बताए ।

‘दरबारमार्गको रौनकता र आगन्तुकहरुप्रति पर्ने असुविधा र व्यापारमा पर्ने प्रभावको विषयमा महानगरले सोच्दै सोचेको छैन, दरबारमार्ग भनेको काठमाडौंको मिटिङ प्वाइन्ट जस्तो हो । कसैले काठमाडौंमा छु भन्यो भने दरबार मार्गमा भेटौं भन्ने ठाउँ हो । अब कसरी भन्ने यहाँ पार्किङ नै छैन’ उनले भने ।

दरबार मार्ग विकास बोर्ड सहित स्थानीय व्यापारीहरुले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह-बालेन)सँग पटक पटक भेट्न खोज्दा पनि बेवास्ता गरेको बताएका छन् । ‘हामीले पार्किङ बन्द भएपछि महानगरमै गएर पटक पटक समय लिन खोज्यौं, उहाँको सचिवालयले मेयरको विदेश भ्रमणपछि भन्यो, त्यसपछि उहाँ (मेयर) इन्डोनिसियाबाट आएपछि भेट्नको लागि बेवास्ता गर्नुभयो’, कक्षपतिले भने ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?