
१५ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अन्जन विष्टले भारतको दोस्रो श्रेणीको लिग आई-लिगमा डेब्यु गरेका छन् ।
अन्जनले आइतबार मुम्बई केन्क्रेका लागि खेल्दै आई लिगमा डेब्यु गरे ।
तर उनको डेब्यु खेल सुखद रहेन । अन्जनले पूरा ९० मिनेट मैदानमा बिता एपनि केन्क्रे साविक विजेता गोकुलम केरलासँग १-० ले पराजित भयो ।
गोकुलमका लागि सर्जियो मेन्डीले २१औं मिनेटमा गोल गरे । गोकुलमका राहुल राजु ५५औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि १० खेलाडीमा सिमित भएको थियो । तर केन्क्रेले त्यसको फाइदा उठाउन सकेन ।
गोकुलमसँग पराजित भएपछि रेलिगेसन जोनमा रहेको केन्क्रेलाई दबाब बढेको छ । १४ खेल खेल्दा जम्मा ३ खेल जितेको केन्क्रे १३ अंकसहित ११औं स्थानमा छ ।
मनाङ मर्स्याङ्दी क्लब छाडेर ए डिभिजनको नवप्रवेशी चर्च ब्वाइज युनाइटेडमा आबद्ध भएका अन्जन क्लबको सहमतिमा आई लिग खेल्न गएका हुन् ।
यस सिजनको आई लिग सकिएपछि अन्जन शहीद स्मारक ए डिभिजन लिग खेल्न नेपाल फर्कनेछन् ।
जारी आई लिग आगामी मार्च २ मा सकिनेछ । नेपालमा ए डिभिजन लिग मार्च ३ अर्थात फागुन १९ गतेदेखि सुरु हुनेछ ।
सन् २०१४ फिलिपिन्स विरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यु गरेका अन्जनले नेपालको राष्ट्रिय ५२ खेलमा ११ गोल गरेका छन् ।
नेपाली राष्ट्रिय टिमका गोलकिपर किरण कुमार लिम्बु पनि आई लिगमा राउण्डग्लास पञ्जावबाट खेलिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4