+
+

गायक प्रमोद खरेलले पारिश्रमिक घाइतेको उपचारमा खर्च गर्ने

रासस रासस
२०७९ माघ १५ गते २०:०८

काठमाडौं । गायक प्रमोद खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेहरूका लागि खर्च गर्ने जानकारी दिएका छन्।

शनिबार राति भएको घटनाका बारेमा जानकारी दिनका लागि आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा फोन गरेर खरेलले उक्त जानकारी दिएका हुन् । रकमका विषयमा खरेलले नबताए पनि घटनाप्रति दुःख प्रकट गर्दै ‘कन्सर्ट’ का लागि तोकिएको आफ्नो पारिश्रमिक घाइतेहरूका उपचारमा खर्च गर्ने जानकारी दिए ।

गए राति खरेलको ‘कन्सर्ट’ हेर्न र हाउजी बिङ्गो खेल्न आएको भीड कार्यक्रम सुरु हुनुअघि अनियन्त्रित हुँदा घाइते भएका ३० जनाको धरान र विराटनगरमा उपचार भइरहेको छ । घाइतेहरूको उपचारका लागि हाल भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईको पहलमा भइरहेको र थप सबै उपचार रकम आयोजकले बेहोर्ने सङ्घका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।

घटनापछि आजदेखि राति हुने सबै कार्यक्रम स्थगित गरेर दिउँसो ५ बजेसम्म मात्र सञ्चालन गरिने महोत्सवको भोलि समापन गरिने राईले जानकारी दिनुभयो । उक्त महोत्सवमा हुने भनिएको गायिका मेलिना राईको प्रस्तुति पनि रोकिएको छ ।

यसैबीच, गायक खरेलले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उपचाररत् घाइतेलाई भेट्न उनी सोमबार बिहान अस्पताल जाने भएका छन् । अनलाइनखबरसँग कुरा गर्दै गायक खरेलले भने, ‘मलाई हेर्न भनेर माया गरेर आउनुहुने श्रोता–दर्शकलाई त्यस्तो परेर कार्यक्रम स्थगित हुँदाखेरि कलाकारलाई भावनात्मक रुपमा नमज्जा र दुःखद लाग्छ । प्राविधिक कुरा भोलि छानबिन होला तर फ्यानको नाताले मेरो कार्यक्रम हेर्न आउँदा भएको घटना हुँदा अत्यन्तै दुःखी छु ।’

अस्पताल पुगेर फ्यान र शुभचिन्तकलाई स्वास्थ्यलाभको कामना गर्ने प्रमोदले बताए ।

शनिबार राति ८ बजेतिर धनकुटा नगरपालिका-६ स्थित तल्लो टुँडिखेलमा कन्सर्ट आयोजना गरिएको थियो । माघ ६ गतेदेखि आयोजित एभोकाडो एवं पाँचौं धनकुटा महोत्सवमा प्रमोदले सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय गरिएको थियो । त्यस क्रममा भीडभाड भई गेटबाट भित्र प्रवेश गर्ने क्रममा एकापसमा ठेलमठेल हुँदा मानिस च्यापिएका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?