+
+

चार वर्षमा पनि बनेन घुमाउने घाटको पुल

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते ११:१०

१६ माघ, चितवन । चितवनको भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेमा बनाउन लागिएको पक्की पुल चार वर्ष बितिसक्दा पनि बनिसकिएको छैन । ठेकेदारले समयमा नै काम नगर्दा पुलको जम्मा ३५ प्रतिशत मात्रै काम सकिएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्डको बीच भागबाट घुमाउनेबाट सिधै तनहुँको जिल्ला जोड्ने भन्दै निर्माण थालिएको पुल अहिलेसम्म फाउण्डेशनकै चरणमा छ ।

घुमाउनेमा पुल तरेर बुद्धसिंह मार्ग हुँदै तनहुँ सदरमुकाम दमौलीसहित पोखरा लगायतका क्षेत्रमा जान २५ किलोमिटर सडक छोटो पर्ने हुँदा यहाँ पुल बनाउन लागिएको हो । तनहुँको सदरमुकाम दमौलीदेखी घुमाउनेसम्म जम्मा ३२ किलोमिटर छ ।

अहिले पनि तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमित रुपमा साना बसहरु चल्ने गर्दछन् । सेती नदीको किनारै किनार बुद्धिसिंह मार्गको घुमाउनेघाट, सराङघाट, मासीघाट, सुँढे, बेलवास हुँदै दमौली पुग्न सकिन्छ ।

निर्माणको ठेक्का पाएको हेटौंडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीले विभिन्न बाहाना देखाउँदै पुल निर्माणको काम अलपत्र पार्दै आएको छ । सडक डिभिजन कार्यालय दमौलीका इन्जिनियर विकेश लागेले अप्ठ्यारो भूगोल र ठेकेदारको लापरवाहीका कारणले पुल निर्माणमा ठोस प्रगति हुन नसकेको बताए ।

पुल निर्माणका लागि चारपटकसम्म म्याद थप गरिसकिएको छ । अहिले २०८० असार मसान्तसम्म ठेक्काको म्याद थप गरिएको छ तर, काम सकिने छाँट भने नभएको इन्जिनियर लागेले बताए । सडक डिभिजन कार्यालयले सम्झौताअनुसार पनि काम नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने पटकपटक बताउँदै आएपछि खुरुखुरु म्याद थप गर्दै आएको छ ।

डिजाइन एण्ड विल्डका आधारमा ठेकेदार कम्पनीले नै तयार गरेको डिजाइन अनुसार पुल १ सय ५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत ८ करोड २६ लाख रूपैयाँ छ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने डिजाइनमा उल्लेख छ । म्याद थप भए पनि रकम भने थप नहुने इन्जिनियर लागे बताउँछन् ।

घुमाउनेमा पुल बनाउन २०७५ माघमा सम्झौता गरेर पुल निर्माणको काम अघि बढाइएको थियो । अहिलेसम्म पुलको दुईतर्फी पिलरको जग हाल्ने काम मात्र भएको छ ।

बारम्बार समय थप भए पनि पुलको कामले गति लिन नसकेपछि उपप्रधान तथा भौतिक पूर्वाधार यातायातमन्त्री नारायणकाजी श्रेष्ठले केही दिन अगाडि स्थलगत अवलोकन गरेका थिए । मन्त्रालयका सचिव र महानिर्देशकसहितको टोलीले पुलको अवलोकन गरी पुलको कामलाई तीव्रता दिन निर्देशन दिएको थियो ।

विभागका महानिर्देशक अर्जुनजंग थापाले चालु आर्थिक वर्षमा जसरी भए पनि काम सक्न ठेकेदारलाई भनिएको अनलाइनखबरसँग बताए ।

बुद्धसिंह मार्गको दमौलीबाट सुढेसम्मको १० किलोमिटर सडक कालोपत्रका लागि ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६१ मा ठेक्का सम्झौता भएको छ । मैनाचुली सफल जेभी काठमाडौंले ३३ महिना भित्र कालोपत्र गरीसक्ने गरी २०७९ भदौ २७ मा सम्झौता भएको छ । सडक पिच र पुलको काम एकैपटक सक्ने गरी काम भएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?