+
+

‘पोखरा घर’ बनाउन पुरानो ट्राफिक भवनमा पोखरा महानगरले चलायो डोजर

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १२:३९

१७ माघ, पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित साविक अस्थायी ट्राफिक कार्यालयमा मंगलबार डोजर चलाएको छ । महानगरले उक्त ठाउँमा ‘पोखरा घर’ बनाउने योजनाका साथ भवन भत्काउन सुरु गरेको हो ।

‘पोखरा घर’ को भुइँतलामा सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय, तेस्रो तलामा ग्यालरी र त्यसमाथि घन्टाघर बनाउने महानगरको योजना छ । त्यसका लागि महानगरले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ पनि विनियोजन गरिसकेको छ । पोखरा घर २ रोपनी क्षेत्रफलमा बन्नेछ ।

महानगरले यसअघि नै पोखरा घरमा आर्ट ग्यालरी र पुस्तकालय सार्ने भन्दै भदौ २३ गते महेन्द्रपुलस्थित ग्यालरी र पुस्तकालय भत्काएको थियो । जनस्तरबाट चर्को विरोध भएपछि महानगरले पृथ्वीचोकमा बन्ने पोखरा घरमा सुविधासम्पन्न पुस्तकालय र आर्ट ग्यालरी बनाउने आश्वासन दिएको थियो ।

‘पोखरा घर’ बनाउने उक्त जग्गा पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा छ । तत्कालीन समयमा समितिले त्यहाँ बसपार्कका लागि टिकट घर बनाउने भन्दै जग्गा अधिग्रहण गरेको थियो । तर त्यहाँ लामो समयसम्म ट्राफिक कार्यालय रह्यो । करिब २ वर्ष अघिमात्र ट्राफिक कार्यालय नयाँ भवनमा सरेको छ ।

त्यसपछि महानगरले उक्त जग्गामा पोखरा घर बनाउने निर्णय गरेको हो । ट्राफिक कार्यालय सरेपनि त्यहाँ रहेको संरचना हटाउन महानगरपालिकाले डोजर चलाएको हो ।

‘पोखराजस्तो सहरमा पुस्तकालय र ग्यालरी पनि चाहिन्छ । यहाँ दुई वर्षभित्रै पोखरा चिनाउने पोखरा घर बनाउने योजनामा छौं,’ पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले भने, ‘यो पर्यटकका लागि पोखरा चिनाउने सूचना केन्द्र पनि हो । कहाँ केके छ भन्ने यहाँबाट जानकारी दिन सकिन्छ ।’

२ वर्षभित्र बनाइसक्ने योजनासहित अगाडि बढेको महानगरले त्यहाँ रहेको साविक अस्थायी ट्राफिक कार्यालय (गोलघर) भत्काउन कम्तीमा १५ दिन लाग्ने जानकारी दिएको छ । हाल पोखरा घरका लागि डीपीआर निर्माणको काम भइरहेको महानगरको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?