+
+

३ कारण, जसका लागि ओली रविलाई साथ दिइरहेका छन्

राजनीतिक ब्यूरो राजनीतिक ब्यूरो
२०७९ माघ १८ गते २१:०१

१८ माघ, काठमाडौं । रवि लामिछाने, जसको सिट संख्यालाई आधार बनाएर एमाले र माओवादी केन्द्रले नयाँ सत्ता गठजोडको गणित पुर्‍याएका थिए, तिनै रविको गुमेको मन्त्री पदका कारण यो गठबन्धन भाँडिने खतरातर्फ उन्मुख छ ।

हिजो मंगलबारका दुई परिदृश्य राम्रोसँग नियालियो भने हामी यो आकलनमा पुग्न सक्छौं । बालुवाटारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास पुगेर बालकोट मोडिंदै गर्दा रविलाई एमाले अध्यक्ष केपी ओलीको ठूलो आश थियो ।

सोही बमोजिम ओलीले १० पुसमा गठबन्धन बनाउँदाकै सहमति अनुरुप अबको गृहमन्त्री तोकिनुपर्ने धारणा राखेका थिए । त्यसको अर्थ भर्खरै नागरिकता प्रकरणमा गल्ती गरेका रवि या भागबन्डा क्रममा गृह मन्त्रालय पाएको उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अब मन्त्री तोकिनुपर्ने भन्ने लाग्छ ।

तर एकैछिनपछिको अर्को दृश्यमा प्रधानमन्त्री प्रचण्ड फरक भावमा देखिए । प्रधानमन्त्री प्रचण्डले रविको नागरिकता साथै राहदानीबारे समेतमा प्रश्नहरु उठिरहेको हुँदा आफूले केही समय विचार गर्ने वक्तव्य दिएका थिए । सँगै उनले ‘गठबन्धन जोगाउने’ दबाव रहेको पनि खुलासा गर्न पुगे । प्रचण्ड सरकारका एक मन्त्री भन्छन्, ‘प्रधानमन्त्रीले रविजीलाई फेरि मौका दिने सम्भावना म देख्दिनँ ।’

हामीले सोध्यौं, ‘नागरिकता र राहदानी प्रकरण जोडिने मन्त्रालयमा फेरि रवि जाँदा स्वार्थ बाझिने भएकाले प्रधानमन्त्री सुशासनका पक्षमा सतर्क हुनुभएको हो ?’

ती मन्त्रीले फरक जवाफ दिए, ‘सुशासन, स्वार्थको द्वन्द्व केही होइन । यसको कारण तपाईंले केही सातामा छर्लंग बुझ्नुहुन्छ ।’

केही सातामा रास्ट्रपति चुनाव हुँदैछ, जहाँ ओली एमाले उम्मेदवार उठाउन चाहन्छन्।

ती मन्त्रीका अनुसार रवि प्रचण्डको सरकारी निवासबाट तिक्त भावसहित बाहिरिएका थिए । अब यसअगाडिको राजनीतिक खेल कसरी खेल्ने, रविलाई लगभग हेक्का छैन । त्यसैले उनी अर्को शक्ति केन्द्रतर्फ सोझिएका छन् ।

पछिल्ला दिनमा प्रधानमन्त्री र ओलीबीच मतान्तर बढ्दै गर्दा रविका लागि बालकोट दाहिना हुन पुगेको छ । रविकै कारण चितवनबाट गोरखा गई चुनाव लड्नु परेका प्रचण्ड अनुकूल छैनन् ।

कच्चा खेलाडी होइनन् ओली । उनलाई प्रचण्ड र रविका बीचमा खेलेर उत्रो फाइदा छैन । ओलीको नजर तीन कुरामा छ, जसले उनलाई राष्ट्रिय राजनीतिको केन्द्रमा सम्पूर्ण रुपले स्थापित गर्छ ।

एक – राष्ट्रपति चुनावसम्म गठबन्धन नखजमजियोस् । एमाले उम्मेदवारले जित्न सकुन् ।

प्रदेश चुनावमा भाग नलिएको रास्वपासँग राष्ट्रपति चुनावका लागि प्रतिनिधिसभा सदस्यको मात्र १५८० मतभार छ । ओली र प्रचण्डबीच १० पुसको सहमति अनुसार राष्ट्रपति र सभामुख एमालेले पाउनुपर्ने हुन्छ । तर एकातिर विगतमा शक्ति अभ्यासको केन्द्र बनेको राष्ट्रपति पद समेत एमालेलाई दिंदा आफू कमजोर बनिने बुझाइमा प्रचण्ड छन् । अर्कातिर संवैधानिक परिषदमा ओली निकटका मानिसहरु हाबी बन्दा प्रचण्ड थप कमजोर हुन सक्छन् ।

एमाले उपमहासचिव विष्णु रिमाल भन्छन्, ‘रविजीलाई गृहमन्त्री बनाउने/नबनाउने निर्णय त प्रधानमन्त्रीकै हो, तर हाम्रो धारणा चाहिं सत्ता गठबन्धन बनाउने बेला जुन सहमति भएको छ, त्यसै बमोजिम जानु उपयुक्त होला भन्ने लाग्छ ।’

अहिले राष्ट्रिय सहमतिको नारा घन्किंदै गर्दा अन्तर्यमा एमालेको विकल्प खोज्ने तयारी भइरहेको छ । त्यसैले ओली महत्वपूर्ण घटक रास्वपालाई आफूबाट टाढा पुर्‍याउन चाहँदैनन् । रवि गृहमन्त्री बनुन् या नबनुन्, ओली आफूले सख्त प्रयास गरेको सन्देश उनीकहाँ पुर्‍याउन चाहन्छन् ।

रास्वपाभित्र भने राष्ट्रपति चुनावकै कारण ओली–प्रचण्डबीच दरार आउने भएकाले भोट नदिई बस्नुपर्ने मत उठ्न थालेको छ । पार्टीका एक नेताले अनलाइनखबरसँग भने, ‘उहाँहरुको झगडामा एउटा कित्तातिर लाग्नुभन्दा चुनावमा हामीले उठाएको बाचापत्र कार्यान्वयन गरौं भन्ने हाम्रो जोड हो ।’

उनले इंगित गरेको वाचापत्रमा १० वर्षसम्म कुनै पनि पार्टीमा नबसेको गैरदलीय राष्ट्रपतिको माग छ, जुन प्रकारको उम्मेदवार उठाउन कुनै दल तयार छैनन् । त्यही निहुँ देखाउँदै रास्वपामा भोट नदिई बस्नुपर्ने माग बढ्दो क्रममा छ ।

दुई– नयाँ दल र नेताको रहस्योद्घाटन ।

गिरिजाप्रसाद कोइराला ठान्थे– कम्युनिस्टहरुलाई ठेगान लगाउने एउटै उपाय छ, मन्त्री बनाइदिने । त्यसपछि उनीहरु भित्रको वास्तविक हाल बुझेर चर्का कुरा गर्न छाडिहाल्छन् । धेरथोर भ्रष्ट भए भने त्यसैले एक्स्पोज पनि भइहाल्छन् ।

कोइराला जुन परीक्षण एमाले, माओवादीका हकमा गर्न चाहन्थे, अहिले ओली त्यही परीक्षण वैकल्पिक, नयाँ आदि नाममा खुलेका दलहरुमा गर्न चाहन्छन् । नयाँ दलहरु पनि विधिको शासन पालनामा पुरानै ड्याङमा छन् भन्ने प्रमाणित गरिदिएपछि पुराना दललाई हाइसन्चो । त्यही कथ्यको बलमा अर्को चुनाव लड्न आफ्ना उम्मेदवारलाई सहज पर्ने उनको दाउ छ । एमालेका अर्का एक पदाधिकारीले भने, ‘रविजी सरकारमा नभए पनि रास्वपाका साथीहरु छँदै हुनुहुन्छ । पार्टीको पर्फर्मेन्स त भएकै छ नि । देखिरहनुभएको छ ।’

तीन – चितवन २ मा एमाले उम्मेदवार उठाउने ।

अघिल्लो चुनावमा रविले भारी अन्तरले चुनाव जित्दैगर्दा चितवन २ मा पाँच वर्षअघि जितेका एमाले उम्मेदवार कृष्णभक्त पोखरेल तेस्रो बन्न पुगेका थिए । संसदमा तुलनात्मक रुपमा बढी काम गर्नेमध्येका पोखरेल हार्ने मुख्य कारणमध्ये एक थियो, रवि चितवन ३ या १ मा उठ्ने निर्णय त्यागेर चितवन २ मा आउने निर्णय ।

तर यही गठबन्धन कायम रहे अब रास्वपाले उम्मेदवार उठाउँदा एमाले र माओवादीसँग पनि परामर्श गर्नुपर्छ । चुनाव रास्वपाले जितेको भए पनि नागरिकता र राहदानी प्रकरणका कारण रवि स्वयंलाई फेरि उम्मेदवारी दिन सहज हुने छैन । त्यसैले केन्द्रमा भएको ‘गठबन्धनको स्पिरिट’ अनुसार त्यो सिट एमालेले पाउन सक्छ ।

यस्तो अवस्थामा ओलीले कृष्णभक्त पोखरेलको साटो महासचिव शंकर पोखरेललाई चितवन पठाउन सक्ने अड्कलबाजी राजनीतिक वृत्तमा चलेको छ ।

एमालेका नेताहरु भने त्यस्तो सम्भावना नकार्छन् । ‘निर्वाचन आयोगले उपचुनावको तिथि तोक्नै बाँकी छ । अहिले यो भविष्णवाणी गर्नु हतारो हुन्छ’, एमालेका एक पदाधिकारीले भने ।

रास्वपाका चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले आजै पार्टी छाडेको घोषणा गरेका छन् । रास्वपाभित्रको आन्तरिक खिचातानी, अनि एमाले लगायत पुरानै दलहरुसँगको यसको सामीप्य समेतलाई कारण देखाउँदै उनले दल छाडेको घोषणा गरेका हुन् । चितवनमा उनी समेत रास्वपाका प्रत्यासी मानिन्थे। उनको बहिर्गमनबारे रास्वपाले यसबारे आधिकारिक रुपमा मुख खोलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?