+
+
ब्लग :

अब यस्तो कहिल्यै नहोस्

राज्यले यी कुरामाथिको सम्बोधन गर्नु भनेको प्रेमप्रसादको माग मात्र सम्बोधन गर्नु होइन, बरु अरू प्रेमप्रसादहरूको आत्मदाह रोक्नु पनि हो । आम नागरिकका समस्या समाधान गर्नु हो । प्रेमप्रसाद त यतिबेला आमनागरिकका निमित्त पात्र जस्ता मात्र भएका छन् ।

डा. टीकाराम पोखरेल डा. टीकाराम पोखरेल
२०७९ माघ १९ गते १३:४४

एक दर्दनाक दृश्य
देशको संघीय राजधानी काठमाडौंको मुटुमा अवस्थित जनप्रतिनिधि जमघट भएर नागरिकका समस्या समाधान गर्ने नागरिकको सर्र्वोच्च संस्था व्यवस्थापिका संसद अगाडि बीच बाटोमा मान्छे बल्दै गरेको दृश्य यो आलेख तयार पार्नु अगाडि धेरैले भिडियोमा हेरिसकेका छन् । उक्त दर्दनाक दृश्यले सायदै कोही भावुक बनेन होला । २०७९ माघ ११ गते यो देशको एक जना युवाले बीच सडकमै यसैगरी फिल्मी शैलीमा आत्मदाह गरे । प्रत्यक्ष भिडियोमा नदेखेको भए बीच सडकमा मानिसहरूको बीचमा कसैले आत्मदाह गरेको भन्ने कहानी संभवतः धेरैले पत्याउने पनि थिएनन् होला ।

मानव सभ्यतालाई नै लज्जित पार्ने गरी बानेश्वरको बीच सडकमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको उक्त कार्यप्रति म सहानुभूति राखौं वा घृणाभाव ? आफैं रनभुल्लमा छु । हुन त भाव आफूले योजना बनाएर व्यक्त गरिन्न, स्वस्फूर्त प्रस्फुटन हुन्छ भनिन्छ । तर प्रेमप्रसादको आत्मदाहको दृश्यले भने मेरो मनमथिंगल नै छियाछिया बनायो र भावशून्य अवस्थामा छु म ।

उनीप्रति सहानुभूति राखौं, के उनले आत्मदाह गर्नु आगाडि सामाजिक सञ्जालमा पोष्ट गरेको लामो फेहरिस्तमा लेखिएका विवरण र त्यसमा उल्लेख भएका सबै घटना र पात्र सत्य हुन् ? सत्य होइन रहेछ भने ती उनले उल्लेख गरेका नामहरू तिनीहरूको अन्तरात्माले हामीमाथि प्रश्न गर्दैन र ?

के त्यसो भए प्रेमप्रसादको कर्मप्रति घृणाभाव राखौं ? ओहो, आत्मदाह ! मान्छेले त्यत्तिकै कसरी गर्छ आत्मदाह ? के आत्मदाह गर्नु चानचुने कुरा छ ? जिन्दगीमा कुनै ठूलो चोट नपरी मान्छेले आफ्नो शरीरको आहुति कसरी दिन सक्छ ? यस्तो मान्छेमाथि घृणा गरे उनको आत्माले मलाई कति सराप्ला ?

त्यसोभए घटनाप्रति निरपेक्ष बनौं त भन्यो नयाँबानेश्वरको बीच सडकमा प्रेमप्रसादले आत्मदाह गरेको त्यो दर्दनाक दृश्यले मन उथलपुथल पार्छ । त्यही उथलपुथल र छटपटीकै कारण म यति लेख्न बाध्य छु ।

प्रेमप्रसादले उब्जाएका प्रश्न
मान्छेले सबैभन्दा बढी माया कसैलाई गर्छ भने त्यो आफूलाई गर्छ, आफ्नो शरीरलाई गर्छ । मान्छेले आफूलाई माया गरेपछि मात्र बाँकी रहेको चानचुने माया मात्र श्रीमती, छोराछोरी, बाबुआमा, साथीभाइलाई गर्छ । त्यसोभए आफूले सबैभन्दा बढी माया गर्ने आफू र आफ्नो शरीरप्रति नै प्रेमप्रसाद त्यति कठोर किन बने होलान् ? प्रश्न बहुत जटिल छ । प्रश्न यो मात्र होइन, उनको आत्मदाहसँग जोडिएर उब्जेका धेरै प्रश्न छन् ।

  • आत्मदाह गर्नुअगाडि प्रेमप्रसादले त्यति लामो स्टाटस किन लेखे ?
  • के प्रेमप्रसादले आत्मदाह गर्नु अगाडि आफ्नो फेसबुक स्टाटसमा लेखेका विवरण सबै सत्य हुन् ?
  • उनले फेसबुकमा उल्लेख गरेका व्यक्तिहरू उनले दाबा गरे झैं दोषी हुन् ?
  • अरूप्रति मात्र होइन आफ्नै परिवारका सदस्य र नातेदारप्रति समेत प्रेमप्रसादले किन वितृष्णा पोखे ?
  • अधिकांश मानिस आत्महत्या गर्दा कसैले नदेख्ने गरी गर्छन्, तर प्रेमप्रसादले किन सार्वजनिक स्थल रोजे ?
  • सामान्यतया आत्महत्या गर्ने मान्छे त आफू मरेपछि जेसुकै होस् भनेर मरेको देखिन्छ, तर उनले राज्यलाई लामा–लामा सुझाव किन दिए ?
  • अनि राज्यप्रति, राज्यका निकाय प्रति र केही माथिल्लो ओहोदाका व्यक्तिप्रति प्रेमप्रसादले किन आक्रोश पोखे ?
  • किन उनका लागि एक होइन, दुई होइन, हरेक खुड्किला असफल सावित भए ?
  • के उनी असफल हुनुमा अरूको मात्र दोष हो, जसलाई उनले आरोपित गरे, उनको आफ्नो दोष छैन ?
  • उनको आत्मदाह कुनै निराशाजन्य जीवनको परिणाम मात्रै हो कि कुनै विद्रोह, क्रान्ति वा राज्यप्रतिको वितृष्णाको अभिव्यक्ति पनि हो ?

यस्ता बग्रेल्ती प्रश्न आत्मदाहसँगै ज्वलन्त बनेर आएका छन्, तर यी प्रश्नको उत्तर मसँग छैन । सायद अरू कोहीसँग पनि यसको सही उत्तर छैन होला । हुन त हनुमानका अनुमान भने झैं अनुमानका उत्तरचाहिं धेरैसँग होलान्, तर आधार र कारणसहितको उत्तर यतिबेला चाहिं कोहीसँग पनि छैन । जसरी मसँग छैन । अनुमानका तर्क र बहस त जोसँग पनि छन् जसरी म पनि गरिरहेछु ।

के आत्मदाह समाधान हो ?
आत्मदाह गर्नु आफैंमा ठीक होइन । संसारमा आत्महत्याले कुनै पनि समस्याको समाधान निकालेको छैन । आत्मदाहले समाधान दियो भने त आफ्नो समस्याको समाधान खोज्न अरू पनि मान्छेले आत्मदाह गर्ने भए । यो कुनै विकल्प होइन ।

कसैले विकल्प मानेको छ भने उसको बुझाइमा कमजोरी छ भन्ने मेरो बुझाइ हो । हुन सक्छ म र मेरो जस्तै आत्महत्या विकल्प होइन भन्नेको बुझाइमा पनि पो कमजोरी छ कि ? त्यो पनि कालान्तरमा बहस हुँदै जाला । जेहोस् आत्मदाह गर्नु राम्रो हुँदै होइन । तर यतिबेला चाहिं बहस अब राम्रो नराम्रोको पनि होइन, राम्रो नराम्रोलाई एकछिन बिर्सौं र अब के गर्ने त्यसको खोजी गरौं ।

प्रेमप्रसादले फेसबुकमा लेखेका कुरा सबै सत्य हुन् वा होइनन् त्यसको यकिन गर्ने क्षमता पनि मसँग छैन । कुनै प्रभावकारी, इच्छाशक्ति भएको र आधिकारिक अनुसन्धान गर्ने निकाय छ भने त्यसले गर्ला । तर यतिबेला चाहिं उनले सामाजिक सञ्जालमा नाम लिएका व्यक्ति, पात्र, परिवेश मिलुन् वा नमिलुन्, उनले राज्यप्रति उठाएका प्रश्न भने जायज छन् । प्रश्न जायज छन् भने त्यसको उचित सम्बोधन हुनुपर्छ ।

राज्यमाथि गम्भीर प्रश्न
उनले मूलतः देशको वर्तमान चित्र र चरित्रलाई उतारेका छन् । सुशासनको अभाव, ठगी, कालोबजारी, अपारदर्शिता, ठूला व्यापारीको साना व्यापारीमाथिको दबदबा, अव्यवस्था, कमजोर राज्य संयन्त्र र सरकारको नागरिकप्रतिको उदासीनता नै उनले उठाएका प्रश्न छन् ।

यी प्रश्न यसअगाडि पनि नउठेका होइनन्, तर राज्यको ध्यान गएन । यो आवाज राज्यका कानमा सुनिएन, आँखामा देखिएन र मनमस्तिष्कमा घुस्न कसैले आत्मदाह नै गर्नुप¥यो । यो चाहिं कानुनी राज्यका लागि लज्जास्पद विषय हो । थाहा छैन, आत्मदाहबाट यतिबेला खुलेका राज्यका आँखा, कान र दिमाग कुन बेला बन्द हुने हुन् ।

राज्यले यी कुरामाथिको सम्बोधन गर्नु भनेको प्रेमप्रसादको माग मात्र सम्बोधन गर्नु होइन, बरु अरू प्रेमप्रसादहरूको आत्मदाह रोक्नु पनि हो । आम नागरिकका समस्या समाधान गर्नु हो । प्रेमप्रसाद त यतिबेला आमनागरिकका निमित्त पात्र जस्ता मात्र भएका छन् । त्यसैले अब प्रेमप्रसादलाई प्रश्न गर्न छोडेर राज्यमाथि प्रश्न गर्नु आवश्यक छः

  • के राज्य अब प्रेमप्रसादले उठाएका यस्ता बेथितिको सम्बोधन नगरी आँखा बन्द गरेर बस्न सक्छ ?
  • के राज्य अब बेथितिबाट पीडितको चीत्कार नसुनी कान थुनेर बस्न सक्छ ?
  • कि राज्य एउटा नागरिक दनदनी सडकमा बल्दा पनि विवेकहीन, चेतनाविहीन र भावहीन भई शून्यतामा बस्न सक्छ ?

सक्दैन भने राज्यले प्रेमप्रसादले उठाएका विषयमा छानबिन गरोस्, उचित कुराहरूको सम्बोधन गरोस् । छानबिनका नाममा आत्मदाहको घटनालाई छायाँमा पार्ने मात्र काम नगरोस् । उनले नगर्नुपर्ने आत्मदाह गरेर जीवन उत्सर्ग त गरिसके । अब उनले उठाएका विषयमाथिको उचित सम्बोधन नै उनीप्रति न्याय हुनेछ ।

अब यस्तो कहिल्यै नहोस्
प्रेमप्रसादको आत्मदाह राज्यको नजरमा नपरेको होइन । मन्त्रिपरिषदले समेत उनले उठाएका विषय सम्बोधन गर्ने भनेर निर्णय गरेको छ । तर भन्नु र गर्नु फरक कुरा हो । राज्यका निकायहरूले प्रेमप्रसादले उठाएका विषयमा आँखा चिम्लिए, कान थुने र दिमाग शून्य भएर बसे भने राज्यले अझै ठूलो मूल्य चुकाउनुपर्छ । अरू यस्ता अप्रिय घटनाको साक्षी बन्नुपर्छ । त्यसैले प्रश्न अब प्रेमप्रसादले आत्महत्या गरेर ठीक कि बेठिक भन्ने बहस नगरौं । प्रश्न उनले आरोपित गरेका सबै मान्छे दोषी हुन् वा होइनन् त्यतातर्फ पनि नजाऊँ । त्यो कुराको निक्र्योल आधिकारिक निकायले नै गर्ला । हाम्रो बलबुता यस्ता घटना रोक्नमा लगाऔं ।

र अन्त्यमा, प्रेमप्रसादले मरेर समाजसँग हारे कि जिते, यो बहस पनि यतिबेला निरर्थक छ । आशा गरौं, विश्वास गरौं, कामना गरौं, बहस गरौं कि यस्ता गम्भीर विषय राज्यले समयमै सम्बोधन गरोस् । कामना गरौं, प्रेमप्रसादको जस्तो आत्मदाह अब कहिल्यै देख्नु नपरोस्, भविष्यमा अब यस्तो कहिल्यै नहोस् ।

लेखक राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?