 
																			२० माघ, काठमाडौं । नेपाल उद्योग परिसंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग हवाई भाडा कम गरी पर्यटनलाई प्रतिस्पर्धी बनाउन माग गरेको छ ।
शुक्रबार मन्त्रालयमा परिसंघले भेट्दै पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रुपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा सुझाव दिएको छ ।
परिसंघका उपाध्यक्ष राजबहादुर शाहले परिसंघले नेपालको पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर समिति गठन गरेको जानकारी गराए । उनले नेपालको हवाई भाडा महङ्गो हुँदा नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भए पनि अपेक्षाकृत विदेशी पर्यटक आउन नसकिरहेको बताए । उनले हवाई भाडा घटाउन आवश्यक पहल गर्न, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन, यूरोपियन यूनियनले नेपाललाई राखेको सुुरक्षा सूचीबाट हटाउन आवश्यक पहल गर्न समेत माग गरे ।
परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपाल उद्योग परिसंघले सरकारसँग मिलेर अर्थतन्त्रको विकास र बिस्तारमा काम गर्दै आईरहेको बताए । परिसंघ पर्यटन समिति सभापति पम्फा धमलाले पर्यटन उद्योगलाई अन्य उद्योग सरह पाउने सुविधा दिन आग्रह गरिन् । अन्तर्राष्ट्रिय गन्तव्यमा प्रभावकारी एवं देखिने गरी नेपालको प्रबद्र्धन अभियान संचालन गरिनुपर्ने उनको भनाइ छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल रुपमा संचालनका लागि हवाई रुटको अभावमा चुनौती देखा परेको सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
नेपालमा भारतीय पर्यटकले ल्याउन पाउने नगदको सीमा हटाउन आवश्यक पहल गर्न, नेपाललाई फिल्मिङ गन्तव्यका रुपमा विकास एवं प्रबद्र्धन गर्न, नेपाल विवाहका लागि उत्कृष्ट गन्तव्य हुन सक्ने भएकाले विवाहका लागि गरगहना ल्याउन पाउने र लैजान पाउने व्यवस्थामा सहजिकरण गरिदिन पनि मन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
परिसंघको सुझाव ग्रहण गर्दै मन्त्री किरातीले नीतिगत सुधारका विषयमा निजी क्षेत्रबाट स्पष्ट सुझावको अपेक्षा गरिएको बताए । उनले यूरोपियन यूनियनको सुरक्षा सूचीबाट हटाउने सन्दर्भमा पहल सुरु गरिसकेको जानकारी थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4