+
+

एमालेले राष्ट्रपतिको उम्मेदवार खल्तीबाट निकाले स्वीकार्य हुन्न : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २१ गते १९:०९

२१ माघ, बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा बनाउने उम्मेदवार सरकारको आदेशपालक मात्र हुन सक्ने आशंका गरेका छन् ।

विगतमा संविधानले नचिनेपनि राष्ट्रपति कार्यकारी बन्न खोजेको देखिएको भन्दै फेरि एमालेकै उम्मेदवारलाई राष्ट्रपति चुने संवैधानिक अभ्यास ठूलो अप्ठेरो र दुर्घटनामा जाने उनले बताए ।

बाराको कलैयामा शनिबार नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेता थापाले भने, ‘हेर्दा सामान्य विषय लाग्छ । तर अहिले नेपाल कम्युनिष्ट पार्टीका नेताले खल्तीबाट निकाल्ने नामलाई बहुमतको आधारमा नेपालको राष्ट्रपति बनाउने हो भने दावाका साथ भन्न सकिन्छ । यो पाँचवर्षको संवैधानिक अभ्यास ठूलो अप्ठेरो र दुर्घटनामा जान्छ ।’

एमालेको नेताले खल्तीबाट नाम निकालेर आफूले कज्याउन सक्ने, आफ्नो आदेश मान्ने, आदेश पालक एउटा व्यक्तिलाई अघि सार्ने उनको दावी छ । त्यो व्यक्तिलाई अहिलेको सत्ता गठबन्धनको बहुमतले राष्ट्रपति बनाए अलग्गै शक्तिकेन्द्रको अभ्यास गर्ने उनको भनाइ छ ।

संविधानले नचिनेको अभ्यासतिर लिएर जाने प्रयासलाई रोक्नुपर्ने तर्क उनको छ । ‘राष्ट्रपति मार्फत नेकपा एमालेको नेताले आजको दिनमा देखिरहेका छौं, हेरिरहेका छौं’, उनले भने ‘संविधानले नचिनेको उच्चस्तरीय राजनीतिक संयन्त्र भनौं, एक्स्ट्रा कन्स्टिच्युसनल अभ्यास गर्ने जुन कुरा सुरु भएको छ । त्यो राष्ट्रपति मार्फतबाट गर्नुपर्छ, त्यसपछि एउटा समाचार बालुवाटारबाट निस्कन्छ, अर्को शितल निवासबाट निस्कन्छ ।’

आफूले प्रधानमन्त्रीलाई भेटेर संविधान र व्यवस्थाको स्थायित्वको लागि राष्ट्रपति निर्वाचनमा एमालेलाई सहयोग गर्न सुझाव दिएको पनि महामन्त्री थापाले बताए । ‘मैले प्रधानमन्त्रीलाई भेटेर भनेको छु, प्रधानमन्त्री ज्यू नेपालको संविधानले प्रधानमन्त्री चिन्छ, संवैधानिक राष्ट्रपति चिन्छ, कार्यकारी राष्ट्रपति चिन्दैन । तपाई कार्यकारी राष्ट्रपति बनाउने बाटोतिर जाँदै हुनुहुन्छ । संविधानलाई बल्ल बल्ल हामीले सम्हालेका छौं, त्यसले डुबाउने खेलतिर लैजान्छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेकोतर्फ संकेत गर्दै थापाले विधेयक वा अध्यादेशमाथि निर्णय गर्ने अधिकधार संसद र विधायकलाई मात्र हुने बताए ।

‘म सांसद हो, नागरिकताको विधेयकको सन्दर्भमा के ठिक छ के बेठिक छ भन्ने वा कुनैपनि अध्यादेशको पक्ष वा विपक्षमा उभिने अधिकार मलाई छ । जनताले मलाई त्यो जिम्मेवारी दिएर पठाएको हो’ थापाले भने, ‘तर संविधानले के भन्दैन, राष्ट्रपतिले राष्ट्रअध्यक्षको भूमिका निर्वाह गर्दै गर्दा जनप्रतिनिधि संस्थाले बनाएको कानुनको मेरिटमा बस्ने अधिकार राख्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?