+
+

नेपालमा कलेजो प्रत्यारोपण : विकास भयो, गति लिन सकेन

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ माघ २२ गते २०:००
चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गर्दै चिकित्सकको टोली ।

२२ माघ, काठमाडौं । प्रा.डा. रमेशसिंह भण्डारीले एक दशक अगाडि नै सपना देखेका थिए-नेपालमा कलेजो प्रत्यारोपणलाई स्थापित गरेरै छोड्छु । सुरुको वर्ष चार-पाँच जना र त्यसपछि वार्षिक १०-१२ जना बिरामीमा कलेजो प्रत्यारोपण गर्ने । अनि जनशक्ति र पूर्वाधार विकास गर्दै नेपालमा कलेजो प्रत्यारोपण सेवालाई दिगो बनाउने । तर, उनको अपेक्षा अनुरूप कलेजो प्रत्यारोपण सेवा अगाडि बढ्न सकेको छैन ।

१९ वर्षीय छोराले कलेजो दान गरेपछि २०७९ पुस ३० गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कैलाली, टीकापुरका ५२ वर्षीय नन्दराज खनालमा प्रत्यारोपण भयो । चार वर्षमा भएको नवौं कलेजो प्रत्यारोपण हो यो । ६ वर्षको तयारीपछि शिक्षण अस्पतालमा पहिलो पटक २०७६ जेठ १८ मा कलेजो प्रत्यारोपण सफल भएको थियो ।

अंग प्रत्यारोपणमध्ये कलेजो प्रत्यारोपणलाई बढी जटिल मानिन्छ । नेपालमा वार्षिक २०० हाराहारी कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी रहेको अनुमान छ । प्रत्यारोपण सेवालाई दिगो बनाउन नसके नेपालमा पीडा बढ्ने कलेजो र ग्यास्ट्रो सर्जन प्रा.डा. भण्डारी बताउँछन् ।

आजभोलि उनी सोच्छन्- देशमा बल्लतल्ल सुरु भएको कलेजो प्रत्यारोपण सेवा बन्द त हुने होइन ! ‘पहिलो वर्ष ४-५ प्रत्यारोपण गर्न सक्छौं भन्ने थियो, पहिलो ६ महिनामा ४ जनामा प्रत्यारोपण गर्न सक्यौं’ उनी भन्छन्, ‘कोभिडपछि केही प्रत्यारोण भए पनि लक्ष्यअनुसार सेवा बढाउन सकिएन ।’

शिक्षणमै कलेजो प्रत्यारोपण हुन्छ भन्ने सन्देश बिरामीमाझ नपुग्नु, पुगे पनि नेपाली विशेषज्ञ टिमको क्षमतामा विश्वास स्थापित हुन नसक्नुलगायत कारण पनि सेवा विस्तारमा बाधक बनेको प्रा.डा. भण्डारी बताउँछन् ।

त्यसबाहेक कलेजो लिने-दिने व्यक्तिको रक्तसमूह, कलेजोको आकार, शरीरको बनावट, कानुनले निर्धारण गरेको पारिवारिक नाता नमिल्नुलगायत अवरोध पनि छँदैछ ।

‘अस्पतालमा आएका बिरामीहरू पनि कोही अंगदाता नभएर, कोही पैसाको अभावमा कलेजो प्रत्यारोपण गर्न सकिरहेका छैनन्’ प्रा.डा. भण्डारी भन्छन्, ‘यावत् कारणले प्रत्यारोपण गर्ने बिरामी नपाइएला भन्ने आकलन गरिएको थिएन ।’

सन् २००९ मा अष्ट्रेलियामा लिभर सर्जरी अध्ययन गर्दा उनलाई लागेको थियो- नेपालमा पनि कलेजो प्रत्यारोपण सम्भव छ । एकवर्षे अध्ययन सकेर फर्किएपछि उनी प्रत्यारोपण सेवाका लागि टिम तयारीमा लागे । टिम पनि तयार भयो, तर निराश बनाउने प्रश्न आउँथ्यो- टिकाउन सक्छौं ?

सहकर्मीहरूको यो प्रश्नलाई प्रा.डा. भण्डारीले चुनौतीको रूपमा लिए । अहिलेका सबैजसो कलेजो प्रत्यारोपण सफल हुँदा उनको आत्मविश्वास पनि बढ्यो । आत्मविश्वासलाई दिगो बनाउन पर्याप्त बिरामी नपाउँदा भने अन्योल पनि थपिएको छ ।

धनी परिवारका बिरामीहरू भारतलगायत देश गएर प्रत्यारोपण गराउँछन् । आर्थिक स्रोत नहुनेहरूले भने नेपालमै पाइने उपचार सेवा पनि उपयोग गर्न नसकेर मृत्युवरण गर्नुपर्ने अवस्था छ ।

‘महिनामा दुईजनासम्म बिरामीको कलेजो प्रत्यारोपण गर्ने जनशक्ति र प्रविधि हामीसँग छ, तर वार्षिक करिब ५० जना बिरामी भारत गएर प्रत्यारोपण गराइरहेका छन्’ प्रा.डा. भण्डारी भन्छन्, ‘उनीहरूलाई रोक्न सक्दा ठूलो रकम नेपालमै रहन्छ । तर, त्यसका लागि अहिलेको जनशक्ति, प्रविधि र पूर्वाधार अपुग हुन्छ ।’

निजी अस्पतालहरूले अहिले नै कलेजो प्रत्यारोपणमा आँट गर्ने सम्भावना उनले देखेका छैनन् । किनकि, यसमा लाग्ने २५ लाखदेखि ३५ लाख रुपैयाँसम्म खर्च बिरामीबाट लिएर मात्र पूर्ति हुन गाह्रो छ । अरू उपचारमा भएको नाफा यसमा खर्च गर्नुपर्ने हुन्छ । अस्पताल र चिकित्सक निःशुल्क भए पनि उपकरणमै ठूलो रकम खर्च हुन्छ ।

‘कलेजो प्रत्यारोपण सेवा थाल्नै गाह्रो हुन्छ । त्यसलाई जारी राख्न पनि सहज नहुने पूर्वानुमान गरिएकै विषय हो’ प्रा.डा. भण्डारी भन्छन्, ‘हामीलाई पहिलो प्रत्यारोपण नै सफल नहोला भन्ने डर थियो, अहिले सेवालाई दिगो बनाउन सकिन्न कि भन्ने अन्योल छ ।’

कलेजो प्रत्यारोपण सेवाका लागि सरकारले आर्थिक सहुलियत र मस्तिष्क मृत्युसम्बन्धी कानुन सहज बनाउनुपर्ने उनको भनाइ छ । मिर्गौला जस्तै कलेजो रोगमा पनि केही आर्थिक सहयोग भए प्रत्यारोपण गराउने बिरामीको संख्या बढ्ने उनी बताउँछन् ।

‘मस्तिष्क मृत्युसम्बन्धी कानुन सहज भए पनि मस्तिष्क मृत्यु भएकाहरूको कलेजो जिउँदा बिरामीमा प्रत्यारोपण गर्न सकिन्थ्यो’ प्रा.डा. भण्डारी भन्छन्, ‘त्यसबाट कलेजो प्रत्यारोपण गर्ने बिरामीको संख्या अवश्य पनि बढ्नेथियो ।’

उनका अनुसार, भारतमा कलेजो प्रत्यारोपण नेपालभन्दा करिब तीन गुणा बढी महँगो छ । अस्पतालमा हुने यो खर्चबाहेक बिरामी कुरुवालगायत अनेकन खर्च जोडिन्छ । ‘यहाँ हामीलाई कलेजो प्रत्यारोपण सेवा विस्तार गर्न सकस परिरहेको बेला बिरामीहरू ठूलो थैलीसहित भारत गइरहेका छन्’ उनी भन्छन्, ‘नेपालमा चाहिं कतिपय चिकित्सक नै टिचिङमा पनि कलेजो प्रत्यारोपण हुन्छ र भनेर सोध्ने अवस्था छ ।’

अवस्था प्रतिकूल नै भए पनि ठूलो सपना बोकेर थालेको यो सेवालाई विस्तार गरेरै छाड्नेमा छन्, प्रा.डा. भण्डारी । ‘हिजो चुनौती थियो आज पनि छ’ उनी भन्छन्, ‘नेपालमा मिर्गौला प्रत्यारोपण स्थापित भए जसरी नै कलेजो प्रत्यारोपणलाई पनि दिगो बनाउने हो । त्यसका लागि छुट्टै सेन्टर विकास गर्नुपर्छ ।’

६ वर्षमा २३ प्रत्यारोपण

नेपालमा कलेजो प्रत्यारोपण अझै पनि विदेशी विज्ञ चिकित्सकको सहयोगमा भइरहेको छ । जटिल शल्यक्रियामा कम जोखिम लिन चिकित्सक समूहमा विदेशी विज्ञ राख्नुपरेको प्रा.डा. भण्डारी बताउँछन् ।

‘शिक्षण अस्पतालमा हामीले हालसम्म नौ वटा सफल प्रत्यारोपण गरेका छौं’ उनी भन्छन्, ‘अझै पाँचवटा जति प्रत्यारोपणमा विदेशी विशेषज्ञ राख्ने सोच छ ।’

२०७३ सालयता नेपालमा २३ जनामा कलेजो प्रत्यारोपण भएको छ । यो सेवाका लागि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, शिक्षण अस्पताल महाराजगञ्ज र चितवन मेडिकल कलेज (सीएमसी)ले अनुमति पाएका छन् । भक्तपुरमा ८ र सीएमसीमा ६ जनामा कलेजो प्रत्यारोपण भएको छ ।

नेपालमा ६५ वर्षसम्मका मानिसले कानुनले तोकेको नाताभित्र स्वस्थ कलेजोको टुक्रा दान गर्न सक्छन् । कलेजो आफैं बढ्ने अंग भएकोले प्रत्यारोपण गरेको ६ महिनामा करिब ९० प्रतिशत विकसित हुन्छ । प्रत्यारोपण गरिएको बिरामीले पहिले जस्तै जीवन बिताउन सक्छन् ।

नेपालमा ६० प्रतिशत कलेजो रक्सी तथा हेपाटाइटिस बी र सीका कारण बिग्रेको पाइएको छ । धनी देशहरूमा भने हेपाटाइटिस सी र मधुमेहका कारण बोसो जमेर कलेजो बिग्रने गरेको छ ।

केही वर्षअघि शिक्षण अस्पतालमा वार्षिक ५-६ वटा कलेजोको अन्य शल्यक्रिया हुन्थे । कलेजो प्रत्यारोपण सेवा सुरु भएपछि वर्षमा २५-३० वटा शल्यक्रिया हुन थालेको छ । त्यही अनुसार, तालिम र जनशक्ति पनि थपिएको प्रा.डा. भण्डारी बताउँछन् । उनका अनुसार, कलेजोको टुक्रो काटेर प्रत्यारोपण गरिने हुनाले यसमा ‘मल्टी स्पेसल टिम’ चाहिन्छ ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?