
२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्तको सञ्चालक समितिलाई निलम्बन गर्दै आफैंले व्यवस्थापन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले यसअघि नै संस्थालाई समस्याग्रस्त घोषणा गरिसकेकोमा अब व्यवस्थाप नै राष्ट्र बैंकले लिएको हो ।
२३ माघदेखि संस्थाको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा लिई बैंकबाट नियुक्त अधिकारी (व्यवस्थापन समूह ) नियुक्त गरी सोही समूहमार्फत संस्थाको व्यवस्थापन सञ्चालन गर्ने राष्ट्र बैंक्ले एक सूचना जारी गर्दै बताएको छ ।
विभिन्न चरणमा गरिएका स्थलगत निरीक्षणका क्रममा सुपर लघुवित्त वित्तीय संस्थाको संस्थापक तथा सञ्चालकहरूले लामो समयदेखि कृत्रिम ऋणी खडा गर्दै ऋण प्रवाह गर्ने र सो ऋणको सावाँ तथा ब्याज चुक्ता गर्न पुनः थप कृत्रिम ऋणी खडा गर्दै ऋण प्रवाह गर्ने गरेको राष्ट्र बैंकले जनाएको छ ।
लघुवित्तका संस्थापक र सञ्चालकले गम्भीर प्रकृतिका अपराधजन्य कार्य गरेको पाइएकोले राष्ट्र बैंकले उल्लेख गरेको छ ।
‘संस्थाका जिम्मेवार पदाधिकारीहरुबाट भए गरेका कार्यहरूबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख को खण्ड (क), (ख), (घ), (च) तथा (ञ) मा भएका अवस्थाहरु संस्थामा विद्यमान रहेको देखिएको तथा निजहरूबाट संस्था सञ्चालन हुनसक्ने स्पष्ट आधार समेत नदेखिएको छ,’ नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै भनेको छ ।
साथै २०७९ असोजमा संस्थाको प्राथमिक पूँजीकोष ३४.३० प्रतिशत र पूँजीकोष ३२.६५ प्रतिशतले ऋणात्मक रहेको, संस्थाको बचतसमेत क्रमिक रुपमा घट्दै गइरहेको तथा आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासनसमेत कमजोर देखिएको राष्ट्र बैंकले जनाएको छ । उक्त वस्तुस्थितिका आधारमा संस्थालाई यथास्थितिमा राख्दा बचतकर्ता, सापटी प्रदान गर्ने संस्थाहरु तथा लगानीकर्ताको समेत हित प्रतिकूल हुने देखिएकोले नेपाल राष्ट्र बैंक ऐनको दफा ८६ (ग) को उपदफा १ को खण्ड (ण) मा भएको प्रावधान अनुसार संस्थाको विद्यमान सञ्चालक समितिलाई निलम्बन गरी उक्त संस्थाको व्यवस्थापन राष्ट्र बैंकले लिएको जनाएको छ ।
प्रतिक्रिया 4