+
+

श्रीलंकाको भ्रमण पूरा गरी परराष्ट्रमन्त्री  स्वदेश फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १५:३०

२२ माघ, काठमाडौं । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल श्रीलङ्काबाट आइतबार स्वदेश फर्किएकी छन् । श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी उनले भ्रमणसँगै विभिन्न उच्चस्तरीय भेटवार्ता समेत गरेकी थिइन् ।

स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री पौड्यालले श्रीलंका भ्रमणमा उच्चस्तरीय साइड लाइन भेटवार्ता पनि भएको जानकारी गराइन् ।

उनले त्यहाँका राष्ट्रपति रणिल विक्रमासिङ्घे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेटवार्ता गरी दुई देशबीचको आपसी हित र चासोका विविध विषयमा छलफल भएको जानकारी दिइन् ।

मन्त्री पौड्याललले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका  विषयमा सहकार्यका लागि आग्रह गरेको पनि जानकारी गराइन् ।

श्रीलंका भ्रमणकै क्रममा उनले भारतका विदेश राज्यमन्त्री, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् ।

ती सबै भेटमा आफूले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकहरुबीच आपसी छलफल, सहकार्य सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेलगायत विषयमा कुरा राखेको मन्त्री पौड्यालले बताइन् ।

दक्षिण एसियाली मुलुकहरु जलवायु परिवर्तनको जोखिममा रहेको सन्दर्भमा आगामी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा यस क्षेत्रको एउटै आवाज बनाउनका लागि अनौपचारिक नेटवर्क स्थापना गर्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिइन् ।

यसैगरी बङ्गलादेशसँग ऊर्जा व्यापार र माल्दिभ्ससँग त्यहाँ नेपाली चिकित्सक र नर्स पठाउने विषयमा कुराकानी भएको मन्त्री पौड्यालले पत्रकार सम्मेलनमा बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?