+
+

अन्तरजातीय र अन्तरधार्मिक विवाह : पीडामा महिला

कुनै एउटा जात वा धर्मकी महिलाले अर्को जात वा धर्मको पुरुषसँग विवाह गरेमा समाजमा ती महिलाले सास्ती भोग्नुपर्छ । आफन्तले भेदभावपूर्ण व्यवहार गर्छन् । कोठा, चोटा, भान्सा र पूजामा विभेद हुन्छ । तिथिश्राद्धमा बाहिर राखिन्छ ।

समीक्षा दाहाल समीक्षा दाहाल
२०७९ माघ २४ गते १२:३६

नेपाल बहुजातीय र बहुधार्मिक देश हो । यहाँ धेरै जात र धर्मका मानिसहरू एकै समाजमा बसेका छन् । त्यसैले एक जात र एक धर्मको केटा/केटीले अर्को जाति र धर्मको केटा/केटीसँग विवाह गर्नु सामान्य प्रक्रिया हो । दुई अलग जात र धर्मका केटा र केटीबीच गरिने मागी, भागी वा कानुनी विवाह अन्तरजातीय र अन्तरधार्मिक विवाह हो ।

यस्तो विवाहलाई नेपालको कानुनले मान्यता दिएको छ । जातीय वा धर्मका आधारमा कुनै एक जाति वा धर्म मान्नेले अर्को जाति र धर्ममाथि भेदभाव र थिचोमिचो गर्न पाउने छैन । कानुनी मान्यता पाएका कारणले अन्तरजातीय वा अन्तरधार्मिक विवाह दिनदिनै बढी रहेका छन् ।

यसले समाजमा जातिय मिश्रण देखिन थालेको छ । यसले अहिलेको समाजमा कस्तो प्रभाव पार्न सक्छ, यो बहसको विषय हो । यसमा सबैले आ-आफ्नो विचार राख्न सकिन्छ ।

मेरो विचारमा यसले समाजमा मिश्रति प्रभाव छोडेको छ । एक पक्षबाट हेर्दा सामाजिक भेदभावका घटना कम हुँदै गएका छन् । जातिय धार्मिक मिश्रणले कथित ठूलो जाति र धर्मले सानो जाति र धर्मलाई गर्ने भेदभाव घटाउन केही हदसम्म सहयोग पुर्‍याइरहेको छ ।

यसबाट सबै जाति र धर्मले आफ्नो अधिकार स्थापित गर्दै आएको पाइन्छ । सामाजिक रीतिरिवाज र चालचलनमा सबैको समान अधिकार स्थापना हुन पुगेको छ । रगत सबैको रातो भए जातको आधारमा भेदभाव किन भन्ने जस्ता मान्यताहरू स्थापित हुँदै गएका छन् ।

तर, अर्को पक्षबाट हेर्दा अन्तरजातीय र अन्तरधार्मिक विवाहले समाजमा विशेषतः महिलालाई पारिवारिक, सामाजिक र धार्मिक क्रियाकलाप पूरा गर्न कठिनाइ बढ्दै गएको देख्न सकिन्छ । कुनै जात वा धर्मको महिलाले अर्को जात वा धर्मको पुरुषसँग विवाह गरेमा कानुनी हिसाबले अप्ठ्यारो नपर्ला, तर व्यवहारिक हिसाबले उनलाई कदमकदममा समस्या आउनसक्छ ।

कुनै एउटा जात वा धर्मकी महिलाले अर्को जात वा धर्मको पुरुषसँग विवाह गरेमा समाजमा उनले सास्ती भोग्नुपर्छ । पहिला त उनको श्रीमानको परिवारले स्विकार्नै कठिन हुन्छ, स्वीकार गरिहाले पनि आफन्तले भेदभावपूर्ण व्यवहार गर्छन् । त्यसपछि कोठा, चोटा, भान्सा, पूजा र तिथि-श्राद्धमा विभेद गरिन्छ ।

हाम्रो गाउँमा एकजना क्षेत्रीकी छोरीले दमाईको छोरासँग प्रेम विवाह गरेकी थिइन् । त्यहाँ कतिसम्म हुन्थ्यो भने कसैको निधन र श्राद्ध जस्ता काममा पहिले उनलाई घरबाट निकालिन्थ्यो । अनि घर लिपेर चोख्याइन्थ्यो, श्राद्ध नसकुन्जेल उनले बाहिरै बस्नुपर्ने हुन्थ्यो ।

एक हिन्दु महिलाले क्रिस्चियन पुरुषसँग विवाह गरेकी थिइन् । उनको पनि अवस्था त्यस्तै थियो । उनी हिन्दु धर्मअनुसारको चाडपर्व मनाउन र त्यसमा रमाउन चाहन्थिन्, तर परिवारले स्वीकार गर्दैन थियो ।

जातीय मिश्रणका कारण हाम्रो समाजमा बढ्दै गएको अन्तरजातीय र अन्तरधार्मिक विवाह र त्यसबाट देखिंदै आएका समस्याको समाधान गर्न हामी सबैले आआफ्नो ठाउँबाट कदम चाल्नुपर्छ । त्यसका लागि सबैभन्दा पहिला यस्ता समस्याका बारेमा सार्वजनिक रूपमा छलफल चलाउनुपर्छ

दसैं, तिहारमा माइत जाने र टिका लगाउने भए फर्किएर नआउनु भन्ने धम्की सहनुपथ्र्यो । उनले छरछिमेकसँग गुनासो पोख्थिन् । उनी भन्थिन्, ‘मन मिलेर विवाह गरियो, यस्तो अˆठ्यारो आउँछ भन्ने सोचिएन । अहिले मन नलागी नलागी घरमा टिक्न धर्म परिवर्तन गर्नुपर्ने भयो ।’

सबैको आफ्नै धार्मिक मान्यता हुन्छ । हामी समाजमा कानुनीभन्दा धार्मिक, सांस्कृतिक मान्यताले बाँधिएका हुन्छौं । सबैले आ-आफ्नै धार्मिक गतिविधि स्वतन्त्र रूपमा मान्न पाउने अधिकार छ ।

समाजमा विभिन्न धर्म र संस्कारमा आकाश पातालको फरक पाइन्छ । नेवार र बाहुन दुई जातको धार्मिक संस्कारमा पाइने भिन्नता एउटा उदाहरण हो ।

नेवार जातिमा नाक छेड्नुलाई त्यति शुभ मानिन्न । यसको ठिक उल्टो बाहुन जातिमा नाक नछेडेकी महिलालाई अशुभ जस्तै मानिन्छ । यस्तो अवस्थामा बाहुनकी छोरीले नेवारसँग र नेवारकी छोरीले बाहुनसँग विवाह गरेमा दुवै परिवारमा केही असहजता देखिन आउँछ । त्यो पनि महिलालाई ।

त्यस्तै धार्मिक मान्यता पनि फरक छन् । क्रिस्चियन धर्ममा सेतो लुगा लगाउनु शुभ मानिन्छ र विवाहमा प्रायः बेहुला बेहुलीले सेता लुगा लगाउँछन् । ठिक उल्टो हिन्दु संस्कारमा दुःख परेका बेलामा सेतो लुगा लगाइन्छ । यहाँ पनि त्यस्तो परिवारमा घुलमिल हुन महिलालाई कठिन हुन्छ ।

अन्तरजातीय वा अन्तरधार्मिक विवाहको जाँतोमा पुरुषभन्दा बढी महिला पिल्सिन्छन् । पुरुषलाई यसले नगन्य मात्रामा प्रभाव पार्छ, चाहे उसले जतिवटी विवाह गरोस् । सानो जात वा फरक धर्मकी केटी विवाह गरेपनि उसलाई धेरै फरक पर्दैन । तर महिलाले आफ्नो घर छोडेर पुरुषको घर जानुपर्ने भएकोले त्यो घरको संस्कारसँग नमिल्दा विभेद सहनुपर्छ ।

एउटा उदाहरण, थारु संस्कृतिकी महिलाले लिम्बू संस्कृतिको पुरुषसँग विवाह गर्दा त्यसको प्रभाव महिलामा पर्छ । महिलाले त्यो घरमा गएर धार्मिक र सांस्कृतिक रीतिरिवाज संचालन गर्नुपर्छ । तर उत्तिकैमा पुरुषलाई खासै ठूलो समस्या पर्दैन ।

जातीय मिश्रणका कारण हाम्रो समाजमा बढ्दै गएको अन्तरजातीय र अन्तरधार्मिक विवाह र त्यसबाट देखिंदै आएका समस्याको समाधान गर्न हामी सबैले आआफ्नो ठाउँबाट कदम चाल्नुपर्छ । त्यसका लागि सबैभन्दा पहिला यस्ता समस्याका बारेमा सार्वजनिक रूपमा छलफल चलाउनुपर्छ ।

एक जाति वा धर्मबाट अर्को जाति वा धर्ममा विवाह गरेर आएकी महिलालाई सहज जीवनयापनका लागि सबैभन्दा पहिले समाजले सहज वातावरण सिर्जना गरिदिनुपर्छ । आफूले बुहारी भनेर घरमा भित्र्याइसकेपछि तिथि-श्राद्ध, पूजाआजा सबैमा बुहारीलाई सहभागी गराउनु पर्छ ।

फरक जात वा धर्म मान्ने केटासँग विवाह गर्दैमा आफ्नो धर्म त्याग्नुपर्छ भन्ने छैन । दुवैले आआफ्ना धर्ममा रमाउने अधिकार पाउनुपर्छ । सहज जीवनयापनका लागि जात र धर्मभन्दा पनि सोच मिल्नु आवश्यक हुन्छ ।

परिवारमा एकले अर्काको धर्म र संस्कृति, रीतिरिवाज, चालचलन, विचार, इच्छा र चाहनाको सम्मान गर्ने संस्कार विकास गर्नुपर्छ । यसो भयो भने समाजमा जातीय वा धार्मिक आड्मा हुने विभेद न्यूनीकरण हुँदै जान्छ ।

राष्ट्रले पनि जातीय धार्मिक मिश्रण भएर पनि सहज जीवनयापन गरिरहेका परिवारलाई उदाहरण बनाएर विभिन्न कार्यक्रमहरू ल्याउन सक्छ । उनीहरूलाई हतोत्साहित गर्ने होइन कि प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सक्छ ।

यसो भयो भने अन्तरजातीय र अन्तरधार्मिक विवाह गरेका महिलामा थपिँदै गएको मानसिक पीडा कम गर्न सकिन्छ । समाजले स्वीकार गर्दैन भन्दैमा प्रेमको बलि दिनुपर्छ भन्ने छैन । त्यसैले समाजमा सहज वातावरण निर्माण गर्ने उपायको खोजी गरिनुपर्छ । सम्भावित समस्या र त्यसबाट बच्ने उपायको खोजी गर्दै दुवैले हातमा हातमिलाउने हो भने अन्तरजातीय र अन्तरधार्मिक विवाह समाजमा सहज हुँदै जाने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?