+
+

कलाकार पदमप्रसाद पौडेलको निधन, कलाकार संघले झण्डा ओढाएर श्रद्धाञ्जली दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते १६:४९

काठमाडौं । पाका कलाकार पदमप्रसाद पौडेलको ९२ वर्षको उमेरमा मंगलबार निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार बुढानीलकण्ठ चपलीस्थित घरमा अपरान्ह साढे तीन बजे पौडेलको निधन भएको हो ।

पौडेल लामो समयदेखि दमको रोगबाट पीडित थिए । बेलुका ६ बजे पशुपति आर्यघाटमा पौडेलको पार्थिव शरीरमा कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली दिने र दाहसंस्कार गर्ने जनाइएको छ । अन्तिम संस्कारमा सबै कलाकारलाई उपस्थित हुन भनिएको अध्यक्ष खड्काले जानकारी दिए ।

पौडेल अभिनित पछिल्लो फिल्म ‘ऐना झ्यालको पुतली’ थियो, जुन यस वर्ष नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको थियो । फिल्मका निर्माताले पौडेलको निधनबाट आफूहरु स्तब्ध भएको जनाएका छन् । हालै रिलिज भएको फिल्म ‘नालापानी’मा उनले राजगुरुको भूमिकामा अभिनय गरेका थिए ।

रिसानी माफ, उपद्रो, आधा बाटोसहित ६८ वटा फिल्ममा अभिनय गरेका पौडेल चलचित्र कलाकार संघका आजीवन सदस्य समेत हुन् । टेलिफिल्म, म्युजिक भिडियो र विज्ञापनमा समेत उनले अभिनय गरेका छन् ।

को हुन् पदमप्रसाद ?

पाँच छोरा र दुई छोरीका बुबा उनी १४ जना नातिनातिनीका हजुरबुबासमेत थिए । उनकी श्रीमती देवकुमारी पौडेल पनि कलाकारितामा रुचि राख्छिन्, अभिनय गर्छिन् । संखुवासभाको चैनपुरमा बुबा प्रजापति पौडेल र आमा पवित्रा पौडेलको कोखबाट जन्मिएका उनी काठको पाटी र खरिढुंगामा लेख्दालेख्दै शिक्षकसम्म बन्न पुगे ।

सानैमा चतुर स्वभावका पौडेल भारतको सिलोङमा गएर पढेका थिए । ज्योतिषसमेत पढेका उनी बुबाको पदचाप भने पछ्याउन सकेनन् । बुबाको इच्छा जजमान बनोस् भन्ने थियो तर उनी भने कलाकारितातर्फ मन डुलाउँदै आएका थिए । वनारसबाट आईएसम्मको शिक्षा लिएपछि उनी नेपाल फर्किए र संखुवासभामा शिक्षण गर्न थाले । करिब ३० वर्षको शिक्षण पेसासँगै पत्रकारिता पनि गरेका थिए उनले । राससको संखुवासभा प्रतिनिधि भएर काम गरेका पौडेल प्रायः मञ्चमा देखा पर्थे ।

सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा क्याम्पस उद्घाटनका लागि संखुवासभा पुगेका थिए । त्यही बेला प्रमुख जिल्ला अधिकारीले संखुवासभाबाट रासस प्रतिनिधिका रुपमा पदम सरले मात्र काम गर्न सक्नुहुन्छ भनेपछि प्रधानमन्त्री थापाले रासस प्रतिनिधि बनाइदिएका थिए । २०३८ सालबाट पत्रकारिता गरेका उनले अरुण, तमोर तरेर गाउँगाउँको रिपोर्टिङ गरेका थिए ।

कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले पौडेलको निधनले सिंगो चलचित्र क्षेत्र स्तब्ध बनेको बताए । ‘उहाँ हाम्रो लागि प्रेरणाको स्रोत हुनुहुन्थ्यो,’ अध्यक्ष खड्काले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?