+
+

साउनयता १७ अर्बको तरकारी आयात, स्वदेशी उत्पादनलाई छैन बजार

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ माघ २४ गते २१:४५

२४ माघ, काठमाडौं । अहिले नेपाली किसानहरु उत्पादित तरकारीले लागत मूल्य नपाएको भन्दै चिन्तित छन् । भारतबाट आएको तरकारीले स्थानीय तरकारीको मूल्य प्रभावित गरेको आरोप लगाउँदै चितवनका तरकारी किसान सडक आन्दोलनमा नै छन् ।

नेपाली उत्पादन महँगो हुँदा वा उत्पादनले नपुगेर अभाव हुँदा भारतसहित विभिन्न मुलुकबाट नेपालमा हरियो तरकारी र दलहन आयात हुन्छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा १७ अर्ब ४ करोड रुपैयाँको तरकारी तथा तरकारीजन्य उत्पादनहरु आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

यो तथ्यांक गत आर्थिक वर्ष २०७८/७९ को यस्तै अवधिको तुलनामा झण्डै साढे ५ अर्ब रुपैयाँले कम हो । गत वर्ष पहिलो ६ महिनामा २२ अर्ब ५१ करोड रुपैयाँको तरकारी आयात भएको थियो । यो वर्ष आयात घट्दा पनि किसानले जबारमा राम्रो मूल्य पाउन भने सकेका छैनन् ।

यो वर्ष नेपाली तरकारीको निर्यात पनि घटेको छ । गत साउनदेखि पुससम्म नेपालले ३६ करोड ८ लाख रुपैयाँको मात्रै तरकारी निर्यात गरेको छ । गत वर्ष यस्तै अवधिमा ५२ करोड १५ लाख रुपैयाँको तरकारी निर्यात भएको थियो । पुससम्म मात्रै नेपालले तरकारीमा १६ अर्ब ६२ करोडको व्यपार घाटा सहेको छ ।

उत्पादन पर्याप्त नहुँदा आलुमा पनि नेपालको निर्भरता उच्च छ । ६ महिनाको अवधिमा सबैभन्दा धेरै आलुको आयात भएको छ । पुससम्म करिब साढे ५ अर्बको काँचो र फ्रोजन गरी साढे २१ करोड केजी आलु आयात भएको छ । नेपालमा भारत र बंगलादेशदेखि इन्डोनेसियासम्मबाट आलु आयात हुने गरेको छ ।

प्याजमा पनि नेपाल परनिर्भर छ । ६ महिनाका बीचमा ३ अर्ब १५ करोड रुपैयाँ मूल्यको ८ करोड ६३ लाख केजी प्याज पनि भित्रिएको छ ।

यसैगरी विभिन्न दलहन पनि ठूलो परिमाणमा भित्रिएको छ । २ करोड २१ लाख किलो दाल भित्र्याउन नेपालले २ अर्ब ४४ करोड रुपैयाँ खर्चिएको छ । १ अर्ब ५५ करोड खर्चिएर १ करोड ८८ लाख किलो चना पनि आयात गरिएको छ ।

विभिन्न प्रकारका सिमीहरु आयात गर्न करिब १ करोड ९ लाख खर्च भएको छ । ७९ करोडको बकुल्लासहित त्यस्ता प्रजातिका ७७ लाख ७७ हजार किलो दलहनहरु भित्रिएका छन् । करिब ६० करोडको करिब ४४ लाख किलो काँचो र सुख्खा लसुन आयात भइसकेको छ ।

गोलभेंडा पनि उच्च आयात हुने तरकारीको सूचीमा छ । २ करोड १८ लाख किलो गोलभेंडा आयात गर्न ६ महिनामा नेपालबाट २७ करोड ८७ लाख रुपैयाँ बराबर विदेशी मुद्रा बाहिरिएको छ ।

६ करोड ६० लाख रुपैयाँको च्याउ, ४ करोड ८ लाखको भेडेखुर्सानी, २ करोड ८७ लाखको सखरखण्ड, १ करोड ५२ लाखको बोडी र १ करोड ३६ लाख रुपैयाँको फर्सी पनि आयात भएको छ । युरोपेली देश सर्बियाबाट समेत नेपालमा च्याउ आयात हुन्छ भने भेडेखुर्सानी ताइवानदेखि नेपालमा आउँछ ।

यी बाहेक ३ दर्जनभन्दा बढी प्रकारका तरकारी नेपालमा आयात हुने गरेका छन् । जसमा नेपालले दशौं करोड रकम खर्चिने गरेको छ । थाइल्याण्ड, तान्जानिया, लेबनान, मदागास्कर, क्यानडा, रोमानिया, टर्की, ब्रजिल, मोजाम्बिक, दक्षिण अफ्रिका, भेनेजोलिया, इथेयोपिया, मालावीसम्मका तरकारी नेपालमा आयात गरिन्छन् ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खुमप्रसाद घिमिरे भारतबाट आएको तरकारीको मारमा नेपाली तरकारी किसानहरु परेको स्वीकार्छन् । ‘भारतमा र नेपालमा एकसाथ एकैखालका तरकारी ठूलो परिमाणमा उत्पादन हुन्छ, नेपाली किसानको उत्पादन लागत बढी हुँदा भारतमा सरकारी अनुदानमा उत्पादित सस्तो लागतका तरकारीसँग उत्पादन गर्न कठीन हुन्छ,’ उनी भन्छन्, ‘भारतबाट ४–५ ट्रक तरकारी कालिमाटी आएपछि नेपालको तरकारी नै नबिक्ने अवस्था हुन्छ ।’

उनका अनुसार चितवनबाट काठमाडौं ल्याउँदा प्रतिकिलो ८ रुपैयाँ ढुवानी लागत रहेको भन्दै उनले अहिले काउली, मुला, बन्दा, गोलभेडा र गाजर किलोमा १०–१५ रुपैयाँ पनि नहुँदा किसानलाई प्रतिकेजी ५ रुपैयाँ दिनुपर्ने अवस्था आएको बताए ।

‘भारतबाट तरकारी ल्याउन रोकौं भनेर व्यवसायीहरुलाई भनेका छौं,’ उनले भने, ‘तर, नाकाबाट निर्वाध रुपमा भारतको तरकारी आउँछ, ५ प्रतिशत कृषि शुल्क लगाउँदा पनि आयात कम भएन ।’

कृषि विज्ञ मदन राई पृथ्वीनारायण साहको पालादेखि नै मौलाएको विज्ञान र प्रविधिमा भन्दा भगवान र सम्पन्नतामाथि विश्वास राख्ने प्रवृत्तिले देशलाई हरियो धनियासमेत आयात गर्ने अवस्थामा पुर्‍याएको बताउँछन् ।

‘माटोमा काम गर्नेहरु कमारा, कमाारी, हली, गोठाला, कमैया हुने अनि गाउँमा ३० करोडको जमिन बाँझै राखेर सहरमा आयातित तरकारी र फलफूल किनेर खाँदै किताब समात्नेहरु ठालु र सम्पन्न हुने सोच अत्त्य नभएसम्म यो समस्या समाधान हुँदैन,’ उनले भने, ‘माटोमा खेल्नेहरुको अवस्था बदल्ने सोच नीति निर्मातामा नआएसम्म यो नियति कायम रहन्छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?