+
+
Shares

प्रचण्ड र ओली निवासमा सुरक्षाकर्मीलाई ‘घरेलु कामदार’ बनाएको सूचनापछि गृहको एक्सन

ओलीले आफ्नो सुरक्षामा खटिएका तीन जनालाई सवारीचालककै रुपमा प्रयोग गरेका थिए भने प्रचण्डको सुरक्षामा खटिएकामध्ये करिब आठ जना छोरी गंगा दाहालको घरमा खटिएको सूचना गृहले पाएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २५ गते २१:०४

२५ असोज, काठमाडौं । सरकारले दुई दिनअघि पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहालको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू फिर्ता गर्‍यो । सरकारले तोकेको मापदण्ड विपरीत सुरक्षाकर्मीहरू राखेको भन्दै गृह प्रशासनले उनीहरूको सुरक्षाकर्मी फिर्ता गरेको हो ।

गृहमन्त्रालय सम्बद्ध स्रोतले भन्यो, ‘यसबीचमा अरु कैयौं पूर्वपदाधिकारीहरूले पनि मापदण्ड विपरीत सुरक्षाकर्मीहरू लगेको मौखिक उजुरी र गुनासो आएको छ । छानबिन गरी उनीहरूका सुरक्षाकर्मी समेत फिर्ता हुनेछन् ।’

किन फिर्ता भए ?

गृह मन्त्रालयसम्बद्ध स्रोतका अनुसार, भीआईपीहरू राखेका सुरक्षाकर्मीहरू सुरक्षाका लागि भन्दा पनि घरेलु कामदारका रुपमा प्रयोग हुनेगरेको गुनासो आएको थियो । ‘बुझ्दै जाने क्रममा उनीहरूलाई फिर्ता लगिएको हो,’ स्रोतले भन्यो ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मापदण्ड विपरीत २७ जना सुरक्षाकर्मीहरू लगेको भेटिएको थियो । नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका गरी तीन जनालाई सवारीचालककै रुपमा प्रयोग गरेको भेटिएको थियो ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको अवस्था पनि उस्तै उस्तै थियो । उनको सुरक्षामा खटिएकामध्ये करिब आठ जना सुरक्षाकर्मी छोरी गंगा दाहालको घरमा रहेको सूचना थियो ।

‘भीआईपीको सुरक्षाका लागि खटाइने भनेपनि ती सुरक्षाकर्मीहरूलाई घरेलु काममा लगाउने, भान्सामा उपयोग गर्ने र नीजि काममा समेत प्रयोग गरेर उनीहरूको मानमर्दन गरेको थाहा पाएपछि यस्तो निर्णय भएको हो,’ गृहसम्बद्ध स्रोतले भन्यो, ‘सुरक्षाका लागि राज्यले दिएका सुरक्षाकर्मीलाई सुरक्षाकै लागि प्रयोग भएसम्म आपत्ति थिएन । तर, मनोमानी दुरुपयोग भएपनि रोक्नुपर्छ भन्ने निर्णय भएको हो ।’

पूर्वप्रधानमन्त्रीहरूले १६ जना सुरक्षाकर्मीहरू पाउँथे । उनीहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट संयुक्त रुपमा खटिन्थे । ओली र प्रचण्ड बाहेक अरुले मापदण्ड विपरीत सुरक्षाकर्मीहरू नलिएको गृहमन्त्रालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयमा शुक्रबार राष्ट्रपति सहित प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको छलफल भएको थियो । एक नेताका अनुसार, औपचारिक छलफल सकिएपछिको कुराकानीमा एमाले महासचिव शंकर पोखरेलले सुरक्षा चुनौती भएका बेलामा पूर्वप्रधानमन्त्रीहरूको सुरक्षाकर्मी खोसेर पूर्वाग्रह देखाएको टिप्पणी गरेका थिए ।

जवाफमा सरकारी प्रतिनिधिहरूले पहिलेदेखि नै लागू भएको पूर्वभीआईपीको सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयन मात्रै गरेको भनी जवाफ दिएका थिए । उनीहरूले कुनै पनि नेता वा व्यत्तिलाई समेत सुरक्षा चुनौती भएमा स्थानीय प्रशासन वा गृहप्रशासनमा निवेदन दिन र त्यसका आधारमा वस्तुस्थिति हेरेर थप सुविधा दिने निर्णय हुनसक्ने भनी जवाफ दिएका थिए ।

सरकारको यो निर्णयपछि एमालेको युवा संघले स्वयंसेवक परिचालन गरेर अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा दिन थालेको जनाएको छ भने माओवादी अध्यक्ष पुष्पकमल दाहालका लागि पूर्वलडाकु र वाईसीएलका कार्यकर्ता खटिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?