 
																			२४ माघ, काठमाडौं । नेपाल उद्योग परिसंघले पर्यटन संसदीय समिति गठन गर्न सभामुख देवराज घिमिरेसँग माग गरेको छ । सभामुख कार्यालय सिंहदरबारमा परिसंघको तर्फबाट बधाई तथा शुभकामना दिंदै नेपालको पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन संसदीय समिति गठन गर्न आग्रह गरेको हो । परिसंघले नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलका विषयमा पनि सभामुख घिमिरेको ध्यानाकर्षण गराएको बताएको छ ।
परिसंघ पर्यटन समिति सभापति पम्फा धमलाले पर्यटन वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत भएको र नेपालको पर्यटन अथाहा सम्भावना हुँदाहुँदै पनि देशले यसबाट अपेक्षाकृत रुपमा फाइदा लिन नसकेको बताइन् । सार्वजनिक तथा निजी क्षेत्रको समेत खर्बौको लगानी परिसकेको पर्यटन उद्योगबाट राज्यले अपेक्षाकृत रुपमा लाभ हासिल गर्न सक्नुपर्ने उनको भनाइ छ । त्यसका लागि नीतिगत तहमा गम्भीर समीक्षा, छलफल र दिशानिर्देश गर्न संसदीय पर्यटन समिति गठन गर्न उनले आग्रह गरिन् ।
परिसंघ समिति सदस्य छाया शर्माले विगतमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको क्षेत्राधिकारमा पर्यटन क्षेत्रलाई राखेता पनि पर्यटन उद्योगका विषयलाई उच्च प्राथमिकतामा राख्दै समग्र आर्थिक विकासमा पर्यटन उद्योगको महत्वलाई अझ स्थापित गर्न, पर्यटन पूर्वाधार वैज्ञानिक तथा पर्यटनमैत्री बनाउन, पर्यटनसँग सम्बन्धित नीतिगत विषयमा गम्भीर छलफल, परामर्श, निर्देशित गर्दै यसबाट अपेक्षाकृत लाभ राज्यले प्राप्त गर्न संघीय संसद्मा पर्यटन संसदीय समिति गठन गर्न आवश्यक रहेको महसुस निजी क्षेत्रले गरेको बताइन् ।
परिसंघका महानिर्देशक दीपकराज जोशीले पर्यटन संसदीय समिति गठनका लागि पर्यटन उद्योगसँग सम्बन्धित सबै संघ संस्थाको ऐक्यबद्धता रहेको जानकारी दिए ।
सभामुख घिमिरेले मुलुकको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र पर्यटन भएको बताउँदै संसदीय पर्यटन समिति गठनका लागि निजी क्षेत्रको सुझाव स्वागत योग्य रहेको बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4